
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् । जापानको टोकियोमा भोलि बुधबारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
मन्त्री डा. राणाले ज्येष्ठ नागरिकमा हुने सामाजिक एकान्तपनसम्बन्धी सो सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।
एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल)द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताको सहभागिता रहनेछ ।
राणाले ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायत संघसंस्थामार्फत यस क्षेत्रमा काम गरेकी थिइन् । मन्त्री राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको उनको सचिवालयले जनाएको छ ।
जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्किनेछिन् ।