
काठमाडौं । प्रहरीले हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ । तर, उनी अझै पक्राउ परेका छैनन् । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो ।
प्रसाईं नेपाल छाडेर भारत पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीले प्रसाईंजत्तिकै अराजक गतिविधिमा संलग्न अर्का आरोपित धादिङका सन्तोष सिलवाल उर्फ ‘सन्तोष राजावादी’लाई पनि पक्राउ गर्न सकेको छैन ।
उनी पनि चैत १५ देखि फरार छन् । हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सन्तोष अराजक गतिविधिमा संलग्न हुँदै आएका थिए ।
उनले यसअघि नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अनामनगरमा एउटा कार्यक्रममा बोलिरहँदा अराजक गतिविधि गरेका थिए । त्यो बेला उनी पक्राउ परेर पछि छुटे ।
चैत १५ मा आयोजित प्रदर्शनमा समेत उनी अराजक गतिविधि गर्नेको अग्रपंक्तिमा थिए । कोटेश्वरबाट प्रदर्शनको नेतृत्व गर्दै सुरुमा बानेश्वरतर्फको निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने उनै हुन् ।
प्रसाईंजस्तै उनको पनि खोजी तीव्र पारिएको छ । उनले आफ्नो छातीमा पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोको ट्याटु कोरेका छन् ।