site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा त्यस्तो कुन खनिज पदार्थ छ जसमा ट्रम्पको नजर लागेको छ ?

काठमाडौं । युक्रेन र अमेरिका खनिज सम्झौताका सर्तहरूमा सहमत भएका छन् । युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन् । अधिकारीले विस्तृत विवरण दिएनन् तर दुई देश सम्झौतालाई साकार पार्न महत्वपूर्ण संशोधन गर्ने सहमतिमा पुगेका छन् । 

मिडियाहरुका अनुसार अमेरिकाले युक्रेनको खनिज पदार्थको प्रयोगबाट ५०० अर्ब डलर कमाउने आफ्नो प्रारम्भिक सर्त त्यागेको छ । तर सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई सुरक्षाको कुनै ग्यारेन्टी दिएको छैन । जुन सम्झौताको लागि युक्रेनको मुख्य सर्त थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यस सम्झौतामा हस्ताक्षर गर्न यसै हप्ता वाशिंगटन आउन सक्ने बताएका छन् । यसअघि दुवै नेताले एकअर्काविरुद्ध कठोर शब्द प्रयोग गरेका थिए ।
विगतमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको खनिज सम्झौताको प्रस्तावलाई अस्वीकार गर्दै भनेका थिए, “म आफ्नो देश बेच्ने छैन ।”

Dabur Nepal
NIC Asia

युक्रेनमा दुर्लभ खनिज पदार्थको ठूलो भण्डार छ । यी खनिजहरू भएका केही क्षेत्रहरू हाल रूसको नियन्त्रणमा छन् ।

तर फेब्रुअरी १० मा फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, “मैले उनीहरूलाई भनेको छु कि हामी ५०० अर्ब डलर बराबरको दुर्लभ ‘अर्थ’ खनिज चाहन्छौं । उनीहरू लगभग यसमा सहमत भइसकेका छन् ।”

यो अन्तर्वार्ता पछि जेलेन्स्कीले भनेका थिए, “यो कुनै गम्भीर कुराकानी थिएन । म मेरो देश बेच्न सक्दिन ।”

के अब युद्ध रोकिन्छ ?

ट्रम्पको तर्क थियो– युक्रेनले अमेरिकालाई उसको ‘रेयर अर्थ’ (दुर्लभ पृथ्वी) खनिजहरू प्रयोग गर्न दिनुपर्छ किनभने जो बाइडेन प्रशासनले रूससँगको युद्धको समयमा युक्रेनलाई अर्बौं डलर सहायता प्रदान गरेको थियो ।

ट्रम्पका अनुसार अमेरिकाले अहिलेसम्म युक्रेनलाई ३०० देखि ५०० अर्ब डलरसम्मको सहायता प्रदान गरिसकेको छ । साथसाथै ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भन्दै युद्ध सुरु गरेकोमा रुसलाई होइन, युक्रेनलाई दोष दिएका थिए ।

यो खनिज सम्झौतालाई रुस विरुद्ध युक्रेनलाई निरन्तर अमेरिकी समर्थनको लागि एक महत्त्वपूर्ण शर्तको रूपमा हेरिएको छ । ट्रम्प प्रशासनको विश्वास छ कि यो सम्झौता युक्रेन र रुस बीच युद्धविरामको लागि पहिलो कदम हुनेछ ।

मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको खनिजमा अमेरिकी पहुँचमा आफू बाधक नबन्ने बताएका थिए । यसमा ती क्षेत्रको खनिज पनि समेटिएको जहाँ रूसले कब्जा गरेको छ ।

यद्यपि अमेरिकाले यो सम्झौताको बदलामा युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी दिएको छैन, तर यसपछि युद्धविरामको प्रयास तीव्र हुन सक्ने विश्वास गरिएको छ ।

ट्रम्पले युक्रेनको खनिजमाथि किन नजर लगाएका छन् ?

अहिले प्रश्न यो उठीरहेको छ– ट्रम्पले युक्रेनको खनिज पदार्थ प्राप्त गर्न किन यति धेरै जोड दिइरहेका छन् ? वास्तवमा ट्रम्पको नजर युक्रेनको दुर्लभ अर्थ खनिजमा छ जुन विद्युतीय कार, आधुनिक हतियार र सैन्य उपकरणहरू बनाउन प्रयोग गरिन्छ ।

चीनले हाल दुर्लभ अर्थ खनिजहरूको विश्वव्यापी आपूर्तिमा प्रभुत्व जमाएको छ । 

सम्भवतः चीनलाई रोक्नको लागि ट्रम्पले दुर्लभ अर्थ खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सा बढाउन खोजिरहेका छन् ।

विगत केही दशकहरूमा चीन दुर्लभ अर्थ खनिजहरूको खानी र प्रशोधनको हिसाबले सबैभन्दा ठूलो देश बनेको छ । यसले यी खनिजहरूको विश्वव्यापी उत्पादनको ६० देखि ७० प्रतिशत ओगटेको छ । प्रशोधन क्षमतामा पनि चीनको ९० प्रतिशत हिस्सा छ ।

दुर्लभ अर्थ खनिजका लागि चीनमाथि अमेरिकाको निर्भरता ट्रम्प प्रशासनको लागि चिन्ताको विषय हो । यसले आर्थिक र सैन्य मोर्चामा चीन विरुद्ध अमेरिकाको रणनीति कमजोर बनाउन सक्छ ।

युक्रेनमा कस्ता खनिजहरू छन् ?

युरोपेली संघले ‘महत्वपूर्ण कच्चा पदार्थ’ भनेर वर्णन गरेको ३० खनिजमध्ये २१ वटाको भण्डार युक्रेनसँग छ । युक्रेनमा रहेका यी खनिजहरूको भण्डार सम्पूर्ण विश्वमा रहेका दुर्लभ अर्थ खनिजहरूको भण्डारको पाँच प्रतिशत हो ।

युक्रेनको दुर्लभ अर्थ खनिजहरूको अधिकांश भण्डार क्रिस्टलीय शिल्डको दक्षिणी क्षेत्रमा अवस्थित छन् । यो क्षेत्र अजोभ सागरको दायरा भित्र पर्छ । यहाँका अधिकांश क्षेत्रहरू हाल रूसको कब्जामा छन् ।

हाल युक्रेनसँग १ करोड ९० लाख टन ग्रेफाइटको भण्डार छ । यो विद्युतीय सवारी साधन बनाउन प्रयोग गरिन्छ ।

युक्रेनमा विद्युतीय सवारी साधनका लागि प्रयोग हुने ब्याट्री बनाउन आवश्यक पर्ने लिथियमको भण्डार पनि छ । युरोपमा जति पनि लिथियमको भण्डार छ त्यसको एक तिहाई भाग युक्रेनसँग छ । 

रुसको आक्रमण अघि युक्रेनले विश्वको सात प्रतिशत टाइटेनियम उत्पादन गथ्र्यो । यसको प्रयोग हवाईजहाजदेखि पावर स्टेशन निर्माणसम्म हुनेगरेको छ ।

रुसले युक्रेनको दुर्लभ अर्थ खनिजहरूको केही भण्डार कब्जा गरेको छ । युक्रेनका आर्थिक मामिला मन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसले लगभग ३५० अर्ब डलर बराबरको खनिज स्रोतसाधनको नियन्त्रण लिएको छ ।

दुर्लभ अर्थ खनिजहरू के हुन् ?

‘रेयर अर्थ’ आधुनिक प्रविधि र उद्योगहरूमा प्रयोग हुने समान १७ रासायनिक तत्वहरूको सामूहिक नाम हो । तिनीहरू स्मार्टफोन, कम्प्युटर, चिकित्सा उपकरणहरू सहित धेरै चीजहरूको निर्माण र प्रविधिहरूमा प्रयोग गरिन्छ ।

‘रेयर अर्थ’का खनिजहरूमा स्क्यान्डियम, यट्रियम, ल्यान्थानम, सेरियम, प्रसेडोनियम, नियोडिमियम, प्रोमेथियम, सामारियम, युरोपियम, ग्याडोलिनियम, टर्बियम, डिस्प्रोसियम, होल्मियम, एर्बियम, थुलियम र लुटेटियम समावेश छन् ।

यी खनिजहरूलाई ‘दुर्लभ’ भनिन्छ किनभने तिनीहरूको शुद्ध रूप फेला पार्न लगभग दुर्लभ छ । यद्यपि, विश्वभर यसको केही भण्डारहरू छन् ।

थोरियम र युरेनियम जस्ता रेडियोधर्मी तत्वहरूसँगै दुर्लभ अर्थका खनिजहरू पाइन्छन् । तर तिनीहरूलाई यसबाट अलग गर्न, धेरै विषाक्त रसायनहरू आवश्यक पर्दछ । त्यसैले तिनीहरूको प्रशोधन धेरै गाह्रो र महँगो हुन्छ ।

(बीबीसी हिन्दीबाट भावानुवाद)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro