site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनको प्रस्ताव अनुमोदित, विश्वप्रकाशको तामेलीमा !

काठमाडौं । ०८० फागुन ७–१० सम्म ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव राखे– आगामी चुनावमा गठबन्धन नगर्ने, पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्ने । 

उनको प्रस्तावमा भनिएको थियो, "आगामी सबै तहको निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने, बहुमतसहित लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने ।"

उनको प्रस्तावमा स्वाभाविकरूपमा पार्टीभित्रै समर्थन र विरोध भयो । विशेषगरी, पार्टीको संस्थापन पक्षले उनको प्रस्तावमा विमति जनायो, सस्थापन इतर पक्षका केहीले समर्थन गरे । महासमितिले निर्णय गर्न सकेन, पछि केन्द्रीय समितिको निर्णयबाट टुंगो लगाउने गरी थाती राखियो ।

त्यतिबेला नेपाली कांग्रेस माओवादीसँगको गठबन्धनमा सरकारमा थियो । त्यसकारण पनि संस्थापन पक्षका नेताहरू गठबन्धनको विषयमा अहिले नै बोल्न नहुने पक्षमा थिए । गठबन्धनको सरकारमा सहभागी भएका बेला अहिले नै गठबन्धन गर्न नहुने निर्णय गर्दा सत्ता संकटमा पर्न सक्ने संस्थापन पक्षको बुझाइ थियो ।

हुन पनि महामन्त्री थापाले गठबन्धन नगर्ने प्रस्ताव गरेको केही समयपछि फागुन २१ गते कांग्रेससँगको सहकार्य तोडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एमालेसँग सत्ता साझेदारी गर्ने निर्णयमा पुगेका थिए । तर, माओवादी–एमालेको सत्ता सहकार्य लामो समय टिक्न सकेन । गएको असार १७ गते राति एमालेले माओवादीको साथ छोड्यो, कांग्रेससँग मिलेर नयाँ सरकार बनायो ।

सत्ता समीकरण फेरिएपछि गएको साउन २३ गते बस्ने गरी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाए । बैठकमा महासमिति बैठकबाट पारित हुन नसकेका विषयहरू नै प्रमुख एजेन्डा थिए । कांग्रेसमा विशेषगरी महामन्त्री थापाको चुनावी तालमेलको प्रस्ताव, १५औँ महाधिवेशनको कार्यतालिका, अर्का महामन्त्री विश्व प्रकाश शर्माले समसायमित प्रस्तावमा राखेको 'एक्जिट पोलिसी'लगायतका विषय पेचिला बनेका थिए ।

यिनै विषयलाई टुंगोमा पुर्‍याउन केन्द्रीय समितिको बैठक बोलाए पनि सहजै सहमति जुटुन सकेन । त्यसैकारण बैठक स्थगित गरेर नेताहरू सहमतिमा जुटे । महामन्त्री थापा अडानबाट पछि नहटेपछि सभापति देउवाले महामन्त्री, उपसभापतिसहित पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरे । त्यही छलफलबाट नेताहरूले भाषा मिलाएर महासमितिमा राखिएका प्रस्ताव केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरे ।

आइतबार सम्पन्न भएको केन्द्रीय समितिको बैठकले महामन्त्री थापाको प्रस्तावलाई लगभग हुबहु पारित गरेको छ । बैठक सम्पन्न भएपछि कांग्रेसले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, "हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुन:स्थापित गर्नेछौँ ।"

यस्तै, ०८२ भित्र महाधिवेशन सम्पन्न गर्ने थापाको प्रस्तावलाई विधानले तोकेको मितिमै महाधिवेश सम्पन्न गर्ने भनेर निर्णय गरिएको छ ।

तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीको प्रस्ताव पारित हुन सकेन । उनको प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित भएकाले यस विषयलाई संविधान संशोधनकै क्रममा निर्णय गर्ने गरी तामेलीमा राखिएको छ ।

शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा धेरै बन्न नपाइने गरी १, २, ३, ४ पोलिसी प्रस्ताव गरेका थिए ।

"राज्यका विभिन्न तहको जिम्मेवारीमा रहने राजनैतिक पदाधिकारीको पदावधि सम्बन्धमा पार्टीगतमात्र नभएर संवैधानिक विषयसमेत रहेको तथ्य दृष्टिगत गरी संविधान संशोधनको समयमा पार्टीभित्र आवश्यक निर्णय गर्ने," केन्द्रीय समितिको बैठकबाट शर्माको प्रस्तावबारे भनिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro