site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनार्दन–प्रचण्ड सवालजवाफ : नेतृत्व फेरिँदैन, पार्टी पनि फुट्दैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को साताव्यापी स्थायी कमिटी बैठकले पार्टी विभाजनको अवस्थामा नरहेको र नेतृत्व पनि अहिले परिवर्तन नहुने निष्कर्ष निकालेको छ । बिहीबार सकिएको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'ले पुष्पकमल दाहाल 'प्रचण्ड'माथि गम्भीर प्रश्न उठाउँदै नेतृत्व परिवर्तन अहिलेको आवश्यकता रहेको लिखित धारणा प्रस्तुत गरेका थिए । उनले प्रचण्डलाई नेतृत्व छाडेर पार्टीका तेस्रो पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न भनेका थिए ।

तर, प्रचण्डले बिहीबार सबै प्रश्नको जवाफ दिँदै अहिले नेतृत्व फेर्ने कुरा ठिक नभएको बताए । राम्रो काम गरेर सरकारबाट बाहिरिनासाथ नेतृत्व फेर्ने कुरा गर्नु उचित नभएको उनले बैठकमा जिकिर गरे ।

“मलाई नेतृत्वमा बसिरहने मन त होइन । अहिले नेतृत्वमाथि प्रश्न उठाउनुको औचित्य छैन । सरकारले राम्रै काम गरेर निस्किएको बेला नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उचित हुँदैन । असफल भएर आएको एउटा कुरा हो । त्यस्तो बेलामा त नेतृत्वको सम्मान पो गर्ने हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

उनले पार्टी विभाजन नै हुने हो कि भनेजसरी बाहिर चर्चा भइरहेकाले त्यसबारे प्रस्ट्याउन नेताहरूलाई निर्देशन पनि दिएका छन् । 

“माओवादी पार्टी विभाजन हुने हो कि भन्ने जसरी बाहिर चर्चा भइरहेको छ । पार्टीका नेताहरूले नै यथार्थ कुरा बाहिर लैजानुस्,” बैठकमा प्रचण्डले भनेका छन् ।

स्थायी कमिटी बैठकमा शर्माले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । उनले प्रचण्डमाथि विभिन्न प्रश्न उठाएका थिए । उनको प्रस्तावले तरंग नै पैदा गरेको थियो । बिहीबारको बैठकमा शर्माले आफूले नेतृत्वको भूमिकालाई नयाँ ढंगबाट परिभाषित गर्नुपर्ने धारणा राखेको प्रस्टीकरण दिएका छन् । 

“नेतृत्वको भूमिकालाई नयाँ ढंगबाट परिभाषित गर्नुपर्छ कि भन्ने कुरा हो । नेतृत्व फेरिहाल्नुपर्छ भनेको छैन । वैचारिक राजनीतिक नेतृत्व हुने कि, आयोजक समितिमा बदल्ने कि भन्ने कुरा गरेको हो,” उनले बैठकमा भनेका छन्,“ अध्यक्षको सहमतिबाहेक अर्को पुस्तामा जाने भन्ने कुरा उठाइएको होइन । पार्टी नेतृत्वका लागि नै राम्रो हुन्छ कि भन्ने मेरो कुरा हो ।”

बैठकबाट बाहिरिँदा प्रचण्डले जनार्दनले पार्टी विभाजन गर्छन् भन्ने कुरा गलत भएको बताए । “यो सरकारका बारेमा मैले संसद्‌मै बोल्ने तयारी गरेको छु,” उनले भने, “पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।”

पार्टी उपमहासचिव हरिबोल गजुरेलका अनुसार पार्टी बैठकमा राखिएका नेताहरूका सुझावमाथि केन्द्रीय कमिटी बैठकसम्म नै छलफल गर्ने निर्णय भएको छ ।

“भिन्न मत कसैले राखेको छैन । पूरक प्रस्ताव, सुझाव हो । ती विषयमाथि केन्द्रीय कमिटीको बैठकसम्म छलफल गर्ने कुरा भएको छ । केन्द्रीय कमिटीमा प्रस्तुत हुने दस्ताबेजमा सम्भव भएसम्मका कुरा समेटिन्छ,” गजुरेलले बाह्रखरीसँग भने ।  उनका अनुसार असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

त्यसअघि प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय भएको छ । बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको छ । परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

वाग्मतीमा भदौ ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८, गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने तय भएको छ । त्यस्तै, भदौ ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगायतको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।

सबै प्रदेशको बैठक सकिएपछि व्यवस्थित दस्ताबेज तयार पारेर कमिटीको बैठकमा प्रस्तुत हुने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro