site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ हुन सक्दैन : कानुनमन्त्री 

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण हुन नसक्ने बताएका छन् । पत्रकारको सामाजिक सुरक्षा कमजोर रहेको र पेसागत काम गर्ने क्रममा भौतिक क्षति भएमा त्यसको भार सञ्चारकर्मीको परिवारले मात्र व्यहोर्नुपर्ने अवस्था रहेसम्म निर्धक्क भएर कार्य गर्ने अवस्था नहुने उनले बताए ।

शनिबार काठमाडौँमा डिजिटल मिडिया फाउन्डेसनद्वारा आयोजित ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम–नेपाली कन्टेक्सट’ विषयक अन्तर्संवाद कार्यक्रममा उनले आर्थिक सुरक्षाको अभावमा पत्रकार भविष्यप्रति आश्वस्त हुन नसक्दा निष्पक्ष सामग्री सम्प्रेषणमा समस्या आइरहेको दाबी गरे । उनले यस विषयमा सहकार्य गर्न सरकार तयार रहेको बताए ।

श्रमजीवी पत्रकार ऐन बने पनि कार्यान्वयन नभएको उनले उल्लेख गरे । त्यसको कार्यान्वयनमा भएको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए ।

Dabur Nepal
NIC Asia

“सामाजिक सुरक्षा, भौतिक सुरक्षाप्रति आश्वस्त हुँदैनन् भने कसरी मिडियाकर्मीले ढुक्क भएर समाचार प्रकाशन/प्रसारण गर्न सक्छन् ?,” उनले प्रश्न गरे, “यस क्षेत्रमा राज्यसँग सहकार्य गरौँ । सरकार सहकार्यका लागि तयार छ ।”

उनले लोकतन्त्र ल्याउनका निम्ति मिडियाले ठूलो भूमिका खेलेको स्मरण गरे । भ्रष्टाचारीलाई म समाजमा सुरक्षित छैन भन्ने धारणा बनाउन मिडियाको भूमिमा रहेको उनको भनाइ थियो ।

उनले भने, “तपाईंले बोलेका, लेखेका कुराप्रति जवाफदेही र उत्तरदायी हुनैपर्छ । त्यस्तो गर्दा विश्वसनीयता पनि बढ्छ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया साक्षरताको कमीका कारण कुन सामग्री कन्टेन्ट क्रियटरले तयार गरेको र कुन पत्रकारले भन्ने नै छुट्टिन नसक्ने अवस्था रहेको बताए । यसबाट पत्रकारितामा संलग्न नै पीडित भइरहेको उनले उल्लेख गरे ।

“युट्युबमा व्यक्तिगत रूपमा भिडियो बनाएर राख्ने अनि आधिकारिक रूपमा मिडिया हाउस दर्ता गरेर पत्रकारिता संहितामा बसेर न्युज च्यानल चलाउने एकै हुन सक्दैनन्,” उनले भने, “युट्युबमा आउने सामग्रीबारे समाज दिग्भ्रमित भएको छ । उनीहरूको नजरमा सबै भिडियो पत्रकारले नै बनाएको जस्तो भ्रम देखिने गरेको छ । यसको समाधान गर्नैपर्छ ।”

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले सिधाकुरा डटकममा प्रकाशित र प्रसारित सामग्रीबारे सर्वोच्च अदालत र प्रेस काउन्सिलबाट जारी निर्देशन चाहिनेभन्दा बढी चासो लिएर कुण्ठित गर्ने हिसाबले गरिएको टिप्पणी गरे ।

उनले नयाँ आएका दल र नेताहरूको व्यवहारका कारण समेत डिजिटल स्पेसमा पत्रकारमाथि हुने दुर्व्यवहार र आक्रमणको घटना बढेको जिकिर गरे । यसका निम्ति राजनीतिक दलका नेताहरू जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

“समाचार लेखेको आधारमा अहिले पत्रकार मात्रै हैन, उसको परिवारका सदस्यहरूमाथि समेत सामाजिक सञ्जालमा दुर्व्यवहार र आक्रमण गर्ने घटना बढेका छन्,” उनले भने, “नयाँ राजनीतिक दल र भाइरल म्यानहरूले धम्की दिने गरेका हुन् । यो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ ।”

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रिपोर्टर्स विद् आउट बोर्डर्सका नेपाल प्रतिनिधि विनोद ढुंगेलले विश्व प्रेस फ्रिडम इन्डेक्सका अनुसार नेपालको अवस्था सुधारोन्मुख रहेको देखिए पनि चुनौती बढ्दो क्रममा रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro