site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
भ्रष्टाचारको दलदलमा केको समृद्धि ?

अब कुरा कम काम बढी नगर्ने हो भने कम्युनिस्ट सरकारको समृद्धिको नाराप्रति जनताको उत्साह घटेर जाने निश्चित छ । अब योजना सुनाएरमात्रै पुग्दैन कामै गरेर देखाउनुपर्छ । हुन त, समृद्धिको अभियान साकार पार्ने स्रोत खोज्न होला प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै भारत पुगेर आए । अब छिट्टै चीनतिर जाने कुरा छ । भर्खरै कर्णालीको रारा तालको डिलमा बसेर नेपाललाई समृद्ध बनाउने योजना पनि सुनाए । तर, जति विदेश डुले पनि र जति कलात्मक ढंगले समृद्धिका चोटिला भाषण् दिए पनि साँच्चैको स्वाभिमानयुक्त समृद्धि प्राप्त गर्ने हो भने सबैभन्दा पहिलो काम देशभित्र व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ । घुसखोरी दलदलबाट देशलाई मुक्त गर्नसके समृद्धि आफैँ आउँछ । वास्तवमा भ्रष्टाचारको दलदलबाट मुक्त हुनु नै समृद्ध हुनु हो ।

नेपालमा अहिले आर्थिक गतिविधि न्यून छन्। अर्थतन्त्र धेरै सानो छ । यस्तो अवस्थामा समेत देशका प्रायः सबै क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको छ । भर्खरै अर्बौं रुपैयाँ बेरुजु भएको खबर बाहिर आयो । यसरी बाहिर नदेखिने भ्रष्टाचार कति होला हामी आकलन पनि गर्न सक्तैनौ । कसैले थोरै खाए होलान्, कसैले धेरै तर कुनै न कुनैरुपमा देशको राजनीतिक, सामाजिक, आर्थिक र बौद्धिक क्षेत्रसमेत भ्रष्टाचारको दलदलमा फसिसकेको छ । अझ अब समृद्धि ल्याउने भनेर बढाइने आर्थिक गतिविधिले यो भ्रष्टाचारको दलदल कति बढ्ला ? अनुमानमात्रै पनि कहाली लाग्दो देखिन्छ । गाडीका सिन्डिकेट त तोड्ने काम सुरु भएजस्तो छ तर भ्रष्टाचारका विकराल सिन्डिकेट नतोडिएसम्म समृद्धिका योजना सबै असफल हुने निश्चित छ ।
भ्रष्टाचार धन कमाउने अभिलाषाले हुने गर्छ ।  हाम्रोजस्तो प्रकृतिको पूजा गर्दै जीवनयापन गर्ने समाजमा समृद्धिको अभियानले समाजलाई शान्त र खुसी बनाउने बाटो सिर्जना गर्नु आवश्यक छ । फलस्वरूप, पैसा कमाउने होडबाजी चलाएर द्वन्द्व, रिस, मनमुटाव र अनावश्यक प्रतिस्पर्धाबाट आफूलाई अलग बनाई भातृत्वयुक्त सुखी संसारको परिकल्पना गर्न सकियोस्, पश्चिमा पुँजीवादका प्रणेता आडम स्मिथका धन कमाउने सूत्रभन्दा गौतम बुद्धका सामाजिक सद्भाव र जीवनयापनका विचारलाई समृद्धिको आधार बनाउने हो भने भ्रष्टाचार घट्छ ।

नाफा कमाउन कुनै न कुनैरुपमा कसै न कसैलाई ठग्नै पर्छ – कि काम गर्ने मजदुरलाई कम ज्याला दिनु पर्‍यो, कि कच्चा पदार्थलाई कम मूल्यमा किन्नु पर्‍यो, कि कमसल खालका काम गर्नुपर्‍यो, कि उपभोक्तालाई बढी मूल्य तिर्न लगाउनु पर्‍यो । यसरी नाफा कमाउन विभिन्न खाले शक्तिहरूलाई प्रयोग गर्नुपर्छ जसले भ्रष्टाचारलाई संस्थागत गराउँछ । आर्थिक वृद्धिले मात्र जनतामा सम्पन्नता आउने भएको भए विश्वमा जनता समृद्ध भइसक्थे । पचास वर्षअघिको तुलनामा विश्वमा पाँच गुणाभन्दा बढी सम्पति सृजना भइसकेको छ । तर, गरिबी, अभाव, रोग र असमानताले विश्वका अधिकांश मानिस झन् झन् दुःखी भइरहेका छन् । विश्वका पचास जना धनी मान्छेको हातमा विश्वका आधा जनसंख्या (तीन अर्ब)को भन्दा धेरै सम्पति जम्मा जम्मा भइसकेको तथंक छ । नेपालमा समेत सरदर नेपालीको वार्षिक आम्दानी रू ५० हजारभन्दा कम हुँदा विनोद चौधरीको सम्पत्ति एक खर्ब डलरभन्दा बढी पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कतिपय उत्तर युरोपका स्केनडेनेभिएन देशहरूमा भ्रष्टाचार कम छ । त्यसकारण आर्थिक सम्पनताले भ्रष्टाचार घटाउँछ भन्ने तर्क पनि आउन सक्छ । तर, ती देशहरूमा आन्तरिक भ्रष्टाचार कम हुनुको कारण जनतालाई शिक्षा, स्वास्थ्यलगायतका जीविकोपार्जनका साधन सुलभ र सित्तैमा उपलब्ध गराइएकाले हो । सामान्य र स्वाभिमानी जीवन यापनका लागि कसैले चिन्ता लिनुपर्दैन र जसरी पनि पैसा जम्मा गर्नैपर्ने बाध्यता हुँदैन । तर, ती देशहरू पनि अन्यत्र गएर व्यापारका माध्यमबाट ठग्छन् नै र नाफा कमाउँछन् । अन्य देशमा बढ्दो भ्रष्टाचारमा उनीहरूको प्रत्यक्ष वा परोक्ष हात छ । जस्तो नर्वेको लगानीको खिम्ती जलविद्युत् आयोजनाबाट बिजुली किन्दा नेपालले सबैभन्दा महँगो दरमा किन्नु पर्ने बाध्यता छ । यो दर तोक्ता नेपालमा ठूलै भ्रष्टाचार भएको मानिन्छ । 

भ्रष्टाचारमा फसेको समाजमा समृद्धि सम्भव हुदैन । यसैले यी केही काम तत्काल गर्नसके स्वाभिमानयुक्त समृद्धितर्फ उन्मुख हुन सकिन्छ ।

Royal Enfield Island Ad

सर्वप्रथम, देशका ठूला राजनीतिक दलले व्यापारी, दलाल पुँजीपति, देशी विदेशी ठेकेदार र राजनीतिक शक्तिलाई प्रयोग गरी राज्यलाई घाटा पुर्‍याउने व्यक्ति, संस्थाहरूबाट कुनै पनि प्रकारको सहयोग लिन बन्द गर्नुपर्छ । दलाल पुँजीपतिबाट चन्दा लिएर चलेका राजनीतिक दलहरूले भ्रष्टाचारविरुद्ध अभियान र समृद्धिको नेतृत्व लिन सक्तैनन् । देशलाई दलाल पुँजीपतिको कब्जाबाट मुक्त नगराए समृद्धि सम्भव छैन । तर, नेपालको राजनीतिक दलहरूमा  दलाल पुँजीपतिको नियन्त्रण छ । राजनीतिक दलले आफँै भ्रष्टाचार नगर्लान् तर चन्दा लिने चलन जारी राख्ने हो भने दलाल पुँजीबाट सृजित भ्रष्टाचार नियन्त्रण गर्न सक्तैनन् ।

दोस्रो, चुनावमा टिकट पाउन र जित्न प्रशस्त मात्रामा पैसा नभई नहुने प्रणालीको तत्काल अन्त्य गरिनुपर्छ । अहिलेको चुनाव प्रणालीले प्रजातन्त्रको आधार नै समाप्त हुनुको साथै भ्रष्टाचारले संस्थागतरुप लिन थालिसकेको देखिन्छ । चुनाव जित्न व्यापारी, ठेकेदार र कर्मचारीको चन्दा र सहयोग नभई नहुने अवस्थाले आर्थिक अनियमितता बढ्छ । नेताहरूले आफैँ घुस खाने अथवा व्यापारी मार्फत आफ्नो लगानी उकास्ने चलन स्थापित हुन्छ । चुनाव जितिसकेका सांसदहरूसमेत जसरी पनि मन्त्री वा अन्य शक्तिशाली पदमा पुग्न मरिहत्ते गर्नुको पछाडि देशलाई गतिलो बनाउन आफनो विलक्षण प्रतिभा देखाउनेभन्दा पनि राजनीतिक र आर्थिकरुपमा शक्तिशाली बन्दै व्यक्तिगत राजनीतिक स्वार्थ सुनिश्चित गर्नु नै मुख्य कारण हो । यस्तो चलनको अन्त्य नगर्ने हो भने राजनीति विकृत हुन्छ र विकृत राजनीतिमा भ्रष्टाचार मौलाउँछ ।

तेस्रो, कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण नगरी समृद्धिको लागि गरिने लगानी बालुवामा पानी हाले बराबर हुन्छ । समृद्धिको अभियानमा सबभन्दा ठूलो अवरोध नै नेपालको कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार बन्ने देखिन्छ । नेतृत्व तहमा रहेका कर्मचारीहरू दलाल पुँजीपतिको एजेन्टका रुपमा काम गर्छन । राजनीतिक नेतृत्वको कमजोरी थाहा पाएका र नेताहरूलाई आर्थिक प्रलोभनमा पार्नसक्ने यो तहको कर्मचारी समूहले राजनीतिक निर्णयलाई कि उल्ट्याउँछ कि कम्जोर बनाउँछ । कार्यान्वयन तहको कर्मचारीतन्त्रले तीन तरिकाले भ्रष्टाचारलाई संस्थागत गरेको हुन्छ – पहिलो, सरकारबाट पाउने तलब कुनै काम नगरी खान्छ । तलब भनेको आफ्नो अधिकार हो भन्ने ठान्छ । दोस्रो, विकासका बजेटलाई कि कामै नगरी कि गरे पनि कम गुणस्तरको काम गरेर ठेकेदारहरूसँग मिलेर बजेटको झन्डै आधा खाई दिन्छ । तेस्रो, जनता वा सेवाग्राहीबाट दिनहुँ घुस खान्छ । यस्तो घुसलाई आफ्नो अधिकारजस्तै ठान्छ । देशको राजनीतिक प्रणालीको बेइजत गर्ने काम कर्मचारीतन्त्रमा संस्थागत भएको यही भ्रष्टाचारले गरेको छ । 

चौथो, हाल देशमा प्रचलित विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणाली पनि समृद्धिको ठूलो चुनौती हो । अहिलेको ठेक्का प्रणालीले विकास निर्माणका काम समयमा नहुने, कमसल खालको हुने र ठूलो मात्रामा भ्रष्टाचार हुनेगरेको छ । ठेकेदारहरू राजनीतिक नेताका ‘साथी‘ बनेका हुन्छन् र ठेक्का प्रणालीमा जनताको कुनै पहुँच वा नियन्त्रण छैन । अपारदर्शी ठेक्का प्रणालीले समृद्धि अभियानलाई पूर्ण असफल बनाउने र भ्रष्टाचारका थप ढोका खोलिदिने निश्चित छ । गाउँघरमा सञ्चालन हुने सानासाना योजनामा पनि भ्रष्टाचारयुक्त ठेक्का प्रणाली यति बढी छ कि बजेटको अधिकांश भाग रक्सी र मासुमा खर्च गर्नुपर्ने अवस्था छ । 

पाचौँ , राजनीतिक कार्यकर्ता, कर्मचारीतन्त्र र ठेक्का प्रणालीमा भ्रष्टाचार संस्थागत भएका कारण स्थानीय सरकारहरू समृद्धिको अभियानमा असफल हुने संकेत देखा परिसकेका छन् । सही योजनाको अभावमा स्थानीय विकास निर्माणमा कर्मचारीहरू र ठेकेदारहरूको प्रभुत्व बढी सकेको छ । जनताको प्रत्यक्ष पहुँच छैन र पारदर्शीरुपमा सहभागितामूलक विकासको सम्भावना अहिलेको संरचनामा देखिँदैन । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउन स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र नियन्त्रण आवश्यक छ ।

छैटौं, अनियन्त्रित वैदेशिक लगानीले देशलाई भ्रष्टाचारको जालोमा उठ्नै नसक्ने बनाउन लागेको छ । देश र समाजका सबै खाले शक्तिहरुमा यिनको पहँुच छ । छोटो समयमा धेरै नाफा कमाउन सरकारका सबै निकायमा घुस खुवाएर भ्रष्टाचार बढाउँछन् । यी विदेशी लगानीकर्ताहरूलाई देश राजनीतिक रुपमा अस्थिर भएको, घुस खाने खालको कर्मचारीतन्त्र भएको राम्रो हुन्छ । भ्रष्टाचार बढेर उनीहरूलाई फाइदा हुन्छ । विद्युत् आयोजना निर्माण गर्ने कम्पनीका एकजना एजेन्टले स्थानीय तहका प्रमुखका अगाडि ‘चुनावका बेलामा हामीले सहयोग गरेका थियौँ, अब अहिले सहयोग गर्नु प¥यो नि !’ भनेको त मैले नै सुनेको थिएँ । यो भ्रष्टाचारको स्रोतलाई नियन्त्रण नगर्ने हो भने समृद्धिका सबै योजना चकनाचुर हुन्छन् । 

सातौं, अनियन्त्रित ढंगले सञ्चालित वैदेशिक विकास आयोजनाहरू विशेष गरी गैरसरकारी संस्थाका माध्यमबाट मनोमानी ढंगले चलाइएका कार्यक्रमले फजुल खर्च, देखासिकी र अनुत्पादक उपभोक्तावादी संस्कृतिको विकास गरी समाजलाई पूर्णरुपमा पराधीन बनाउँदै लगेका छन् ।  भूकम्पपछिका गतिविधि त झन् समाजलाई भ्रष्ट बनाउने खालका छन् । बौद्धिक जगत्लाई यसले आफ्नो कार्यकर्ता बनाइदिएको छ र खबरदारी गर्ने सामाजिक संरचना नै पूर्ण ध्वस्त पारिदिएको छ । पारदर्शिता छैन, ‘बील’ बनाउने सस्कृतिको विकास भएको छ ।  रामेछापको मन्थलीमा एउटा होटलमा यो पंक्तिकार दुई दिन बसेर हिँड्ने बेलामा बसेको खाएको कति भयो बिल दिनुस् भनेर होटेल साहुलाई भन्दा साहुजीले ‘कतिको बिल बनाइ दिऊ, सर‘ भने ।   ‘जति हो हो त्यतिको बनाई दिनुस् न भन्दा उनले ‘तपार्इँ पनि एनजीओको मान्छे हो कि भनेर सोधेको नि सर !’ भनेका थिए ।  यो भ्रष्टाचारयुक्त विकृतिले सामाजिक आर्थिक संस्कार नै बिगारी सकेको छ । 

अन्त्यमा, यी भ्रष्टाचारका दलदलहरुलाई सफा गर्ने आन्दोलन सुरु नगरी समृद्धिको गफ नगर्दा नै राम्रो हुन्छ । कठोर खालका भ्रष्टाचार विरोधी कानुन पारित गरी कार्यान्वयन गर्ने, जीवनयापनका साधन सहजरुपमा उपलब्ध गराउने खालका समृद्धिका कार्यक्रम सुरुवात गर्ने र पारदर्शी योजना निर्माण एवं कार्यान्वयनको प्रणाली विकास गर्ने गरेमा भ्रष्टाचारविरुद्धको आन्दोलनले समृद्धिको एउटा खाका दिन सक्छ । झन्डै दुईतिहाइ बहुमत ल्याई केन्द्रदेखि स्थानीय सरकारसम्म कब्जा गरेको कम्युनिस्ट सरकारले अब कुनै बहाना देखाउने ठाउँ छैन । भ्रष्टाचारको दलदलमा के समृद्धिको कुरा गरिरहनू ?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro