site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘गुमनाम’ चट्याङ मास्टर

हास्यव्यंग्य विधामा लामो समयसम्म सक्रिय रहेर ‘सिस्नुपानी नेपाल’ स्थापना गरेका चट्याङ मास्टर यतिखेर गुमनामजस्तै छन् । अचेल उनी कुनै पनि कार्यक्रममा भेटिँदैनन् । उनी रुचाउँदैनन् पनि ।

किन ?

“यतिखेर म ‘एजिङ नेपाल’ नामक संस्थासँग आबद्ध छु । एउटै विषयमा धेरै नलाग्ने मेरो बानी छ,” हाम्रो ‘किन ?’ भन्ने प्रश्नमा उनले मुसुक्क हाँसेर भने ।

“के हो एजिङ नेपाल ?”

“मानिस जन्मेपछि बूढो हुन्छ । तर, यो कुराको महसुस हामीलाई युवा अवस्थामा कहिल्यै हँुदैन । उमेर र बल छँदा सबैको हाइ–हाइ हुने हाम्रो समाजमा उमेर ढल्दै गएपछि आफ्नै घरपरिवारको हेलाको पात्र हुनुपर्छ । आफैँले अनेक संघर्ष गरेर पालन पोषण गरेर हुर्काएका छोराछोरीले बुढेसकालमा आफ्नो साथ छोड्दा अबको बाँकी जीवनको गुजारा कसरी चलाउने भन्ने विषयमा चिन्तित हुन्छन् जेष्ठ नागरिकहरू । यस्तै शोकबाट मुक्त गराउने काम गर्छ एजिङ नेपालले ।”

जेष्ठ नागरिक दयाका पात्र होइनन् । जेष्ठ नागरिकलाई दयाको भावनाले हेर्न हुँदैन । नेपालमा जुन हिसाबले जेष्ठ नागरिकलाई हेरिन्छ, त्यो शतप्रतिशत गलत हो । यस्तै कुराबारे जानकारी फैलाउँछन् चट्याङ मास्टर । त्यसका साथै जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

‘एजिङ नेपाल’ले सरकारसँग मिलेर जेष्ठ नागरिकसम्बन्धी नीति निर्माण गर्न सघाउँछ । जेष्ठ नागरिकबारे तथ्यांक संकलन पनि गर्छ । जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न दक्ष जनशक्ति पनि उत्पादन गर्छ ।

“हाम्रो देशमा बरु खरायो र बाख्राको भरपर्दो तथ्यांक छ, जेष्ठ नागरिकबारे छैन,” उनले व्यंग्य गरे ।

लेखकहरूले हरेक उमेरवयका लागि साहित्य लेखे पनि जेष्ठ नागरिकसम्बन्धी कसैले नलेखेको देख्दा चट्याङ मास्टरको चित्त दुख्छ । त्यही अभाव पूर्ति गर्न उनी जेष्ठ नागरिकको साहित्यमा व्यस्त छन् आजभोलि । 

“छापिएका किताबमात्र कृति हँुदैनन् । जीवनमा नलेखिएका र नछापिएका धेरै कुराहरू छन् । ती हुन् जेष्ठ नागरिकका साहित्य,” उनी भन्छन्, “म त्यसैमा लागिरहेको छु अहिले ।”

चट्याङ मास्टर पहिलेजस्तो हास्य व्यंग्य साहित्यमा सहभागी नभए पनि जेष्ठ नागरिक साहित्यमा संलग्न रहेर दुई महिनामा एउटा पत्रिका प्रकाशित गर्दै आइरहेका छन् ।

“म गुमनाम होइन, नदेखिएको मात्रै हो,” उनले भने, “पत्रपत्रिकामा देखिनु मात्रै सबैथोक होइन ।”

० ० ०

वास्तविक नाम कृष्णमुरारी गौतम भए पनि उनी साहित्य जगतमा ‘चट्याङ मास्टर’ को नामले चर्चित रहे । उनका आठ वटा ‘चट्याङ गीता’ नामक पुस्तक प्रकाशित छन् ।

चट्याङ मास्टरले अस्ट्रेलियाको विश्वविद्यालयबाट इन्जिनियरिङसम्मको अध्ययन पूरा गरेका छन्  । हँसिलो मुहार र मिजासिलो बानी भएका चट्याङ मास्टरलाई भेटेर खुसी नहुने मानिस बिरलै भेटिन्छन् । जस्तोसुुकै पीडामा भएको मानिस पनि चट्याङ मास्टरको कविता सुनेपछि मुसुक्क नहाँसी बस्न सक्दैन ।

हास्यव्यंग्य क्षेत्रलाई प्रवद्र्धन गर्न ०५५ सालमा चट्याङ मास्टरलगायत केही साहित्यकार मिलेर ‘सिस्नुपानी नेपाल’ स्थापना गरेका हुन् ।

‘सिस्नुपानी नेपाल’ले हास्यव्यंग्य क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्छ । तीमध्ये हरेक वर्ष तिहारमा आयोजना हुने ‘सिस्नुपानी देउसी भैलो’ सबैभन्दा चर्चित छ ।

सुरुका दिनमा सडकपेटी र घरघरमा देउसी भैलो गर्ने गरेको ‘सिस्नुपानी नेपाल’ले अचेल प्रज्ञा प्रतिष्ठानमा काग तिहारका दिन ‘देउसी भैलो’ कार्यक्रम आयोजना गर्छ । ‘देउसी भैलो’को माध्यमबाट राजनीतिज्ञहरूलाई चोटिलो व्यंग्य प्रहार गरिन्छ । 

चट्याङ मास्टरलाई रेडियो सगरमाथामा हरेक बिहान ‘चट्याङ मास्टर’ भन्ने कार्यक्रममा सुन्न सकिन्थ्यो । यसले उनलाई झनै चर्चा दिन्थ्यो । केही वर्षअघि उनलाई ‘हिमाल खबरपत्रिका’मा पनि पढ्न सकिन्थ्यो । 

तर, अचेल उनलाई कतै पढ्न पाइन्न । कारण– उनी आफूभन्दा पाका बूढाबूढीहरू पढिरहेका छन् ।

बूढाबूढीबारे उनले लेखेको एउटा कविता :


बूढाबूढी
बूढाबूढी हराए जब ब्युटी पार्लर आए
बूढी बूढी हुँदिनन्, बूढा देखिनै छाडे ।

न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,
न आँखा धमिलो कोहीको, न चाउरी नै देखा पर्छ,
न तालुखुइले कोही छ, टोपी समान कपाल छ
भूतपूर्व यी युवाको फेसन, ओहो कमाल छ !
 
पैसा बूढाबूढीको कस्मेटिक पसलले खाए
बूढाबूढी हराए, जब ब्युटीपार्लर आए ।
 
बूढो धाउँछ हरदिन नर्सिङ होम जचाउन
आज खकार जाँचे भोलि प्रेसर जचाउन

पर्सि सुगर जचाउँछ, जचाउँछ केही हरेक दिन
उसको प्रयास छ बेग्लै, एउटी त्यहाँ फसाउन
 
स्कुल पार्टी पिकनिक गल्ली कुना शहरमा
ठिटाठिटीले भ्याए, बूढाबूढी क्लिनिकमा

प्रवचन पुराण कता छ ? भोलि त्यता भेटौंला
इयररिङ झैँ देखिने एक हियरिङ एड दिउँला !

बूढी गन्हाउँछिन ठुसठुस, नुहाए रंग जान्छ
बूढोको पेट खराब छ, क्रिम पाउडर धेर खान्छ

बालेर अगरबत्ती धूँवैधूँवा छ घरमा
गन्ध लुकोस् कतिन्जेल धुवाँ सुँगाको भरमा ?
 
पैसा बूढाबूढीको कस्मेटिक पसलले खाए
बूढाबूढी हराए, जब ब्युटीपार्लर आए ।

पाउडर र क्रिमका बट्टा हुन्थे ती साना साना
ल्याउन थालिन् बूढीले भरेर माना माना

चाउरी ती धर्सा पुर्न दिनकै खपत बढी छ
विवाद बूढाबूढीबीच कसको खपत बढी छ ?
 
पैसा बूढाबूढीको कस्मेटिक पसलले खाए
बूढाबूढी हराए, जब ब्युटीपार्लर आए ।

 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७३  १०:४८
प्रतिक्रिया दिनुहोस्