काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल फेरि भारतसँग स्तब्ध बनेको छ । बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।
पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो । दोस्रो सेटमा भारतसँग २५–१४ ले स्तब्ध बन्यो । तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको नेपाल चौँथो सेटमा २५–२१ ले पराजित भएको भयो । अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले पराजित भयो ।
झन्डै गुमाउन लागेको पहिलो सेट जितेपछि नेपाल निकै उत्साहित बनेको थियो । दोस्रो सेट हारे पनि तेस्रो सेटमा जित निकालेपछि नेपाली समर्थकमा खुसी छाएको थियो । नेपाली समर्थक चौँथो सेटमै नतिजा आफ्नो पक्षमा पारोस् भन्ने चाहन्थे । तर, चौँथो भारतले जित्यो ।
पाँचौँ सेटमा भने भारत सुरुदेखिन नै हाबी भएको थियो । लाखौँ नेपालीले हेरिरहेको खेलमा अन्तत: नेपाल भारतसँग पराजित भयो ।
नेपालमाथि जित निकालेपछि भारतले फेरि एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ ।
लिगको तेस्रो स्थानमा इरान रह्यो । तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।
हेर्नुहोस् तस्बिरहरू