काठमाडौं । चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा पदक जितेर फर्किएको नेपाली टिमलाई भव्य स्वागत गरिएको छ ।
हाङ्झाउमा महिला कबड्डी टिम र करातेकी एरिका गुरुङले पदक जितेका थिए । नेपालबाट एरिकाले करातेमा रजत र महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो । पदक विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विमानस्थलमा स्वागत र राखेप प्राङ्गणमा सम्मान गरेको हो ।
एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडीले प्रतिस्पर्धा गरे पनि अन्यले पदक ल्याउन सकेनन् । महिला कबड्डी टिमले एसियाडको ‘डेब्यू’ मै कांस्य जितेको हो । नेपालले करातेमा पनि पहिलोपटक रजत पदक जितेको हो ।
एसियाली खेलकुदमा नेपालले समग्रमा तेस्रोपटक रजत जितेको हो । यसअघि, नेपालले सन् १९९८ मा थाइल्यान्डमा र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेको थियो । १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङको टिमले नेपाललाई रजत दिलाएको थियो । एसियाडमा नेपालले हालसम्म स्वर्ण भने जित्न सकेको छैन ।
यस्तै, एसियाली खेलकुदमा नेपालले १७ वर्षपछि दोहोरो पदक जितेको हो । नेपालले पछिल्लोपटक सन् २००६ मा दोहामा भएको एसियाली खेलकुदमा तीन कांस्य जितेको थियो । त्यसयता नेपालले समान एक पदकमात्र जितेको थियो ।