पोखरा । सहिदचोकबाट अगाडि बढेर वडा प्रहरी कार्यालय बैदाम हुँदै लेकसाइड जाने क्रममा बाटो छेउमा दुई ठाउँमा लामा पर्खाल देखिन्छ । धेरैलाई त्यस पर्खालको बीचमा के होला भन्ने जिज्ञासा भएको पाइन्छ, चाहे नेपाली हुन् वा विदेशी पर्यटक ।
बाराही घाटको डुंगा चढ्ने ठाउँ भन्दा थोरै माथि त्यस पर्खालमा नेपाली सेना हरबखत तैनाथ हुन्छ । राज्यको सघन सुरक्षा र अग्ला पर्खालले त्यहाँभित्रको रहस्य के रहेछ भन्ने कौतुहलता झनै बढाइदिन्छ ।
त्यही कौतुहलता, जिज्ञासा र बर्सौंदेखि नखोलिएका ढोकाभित्र एउटा शासकीय व्यवस्थाको अन्त्य भएका रहस्यहरू लुकेका छन् भने देश लोकतान्त्रिक गणतान्त्रिक युगमा प्रवेश गरेको सन्देश पनि फिँजिएका छन् ।
शाहवंशको उत्थान पतनको साक्षी बनेको त्यो रहस्यको नाम हो, ‘रत्न मन्दिर ।’
शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाह आफू राजा हुुनुपूर्वको तीन दिन पहिले पोखरामा थिए । पोखरामा तत्कालीन राजा महेन्द्रले आफ्नी श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा बनाएको रत्नमन्दिरमा ज्ञानेन्द्रले रात बिताउँदा त्योबेलाको समयले २०५८ जेठ १९ लाई स्मरण गराउँछ, जुन दिन तत्कालीन राजा विरेन्द्रको वंशनाश भयो ।
त्यसको तीन दिनपछि ज्ञानेन्द्रले राज्यारोहण गरे र शाहवंशको अन्तिम राजाको रूपमा नाम लेखाए । राजा हुनुपूर्व रत्नमन्दिरमा रात कटाएका ज्ञानेन्द्र अन्तिममा भने नारायणहिटीबाट बाहिरिए ।
दरबार हत्याकाण्ड र शाही शासनको अन्त्य हुँदैगर्दा पोखराको फेवाताल किनारको रत्नमन्दिर जहिले चर्चामा आइरहन्छ । शाही शासनको समाप्तिपछि राजपरिवारको जग्गा नेपाल ट्रस्टमा गयो । नारायणहिटी सर्वसाधारणका लागि खुला भयो । अहिले नारायणहिटी संग्रहालय बनेको छ ।
तर, राजपरिवारले विहार गर्न आउने पोखराको रत्नमन्दिर भने अझै पनि रहस्यमै छ । यही रहस्यलाई खुलाउने र सर्वसाधारणका लागि खुला गर्ने मिति तोकेर नै यतिबेला रत्नमन्दिर सिँगारिँदै छ । सर्वसाधारणका लागि पहिलोपटक रत्नमन्दिरले नयाँ रंगरोगन पाउँदै छ ।
जेठ १५ गते रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्ने भनेर वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घोषणा गरिसकेका छन् । किराँती नेपाल ट्रस्टका अध्यक्षसमेत हुन् ।
त्यही ट्रस्टमातहत रहेको रत्मन्दिर प्रवेश गर्ने गेटमा नै एउटा संरचना खडा हुँदै छ । यो संरचना पनि सर्वसाधारणका लागि नै हुनेछ । जहाँ टिकट काउन्टर र प्रवेशद्वार बनाइने छ ।
प्रवेशद्वार अगाडि बढेपछि आउटडोर वाटर फाउन्टेन देखिन्छ । राजाकै पालामा निर्मित यो फाउन्टेनलाई थप मर्मतको जरुरी छैन । सजिएका ढुंगाको बाटो हुँदै रत्न मन्दिरको प्रांगणमा पुगिन्छ ।
तत्कालका लागि रत्नमन्दिरको यही प्रांगण मात्रै सर्वसाधारणको पहुँचमा हुने छ । यही मन्दिरमा पोखरा आउँदा राजाले रात बिताउँथे । रत्मन्दिरको अर्को रहस्य भनेको, ‘यहाँ राजा मात्रै बस्न पाउँथे ।’ राजाका भाइ तथा राजपरिवारका अन्य सदस्यले चाहिँ हिमागृह प्रयोग गर्थे । तत्कालै हिमागृह भने सञ्चालनमा आउँदैन ।
राजाले विश्राम घर बनाएको आडमा नै सुरक्षाका लागि आउने एडीसीदेखि सुरक्षाकर्मी बस्ने छुट्टै क्वार्टर छन् ।
रत्नमन्दिरको मुख्य ढोकाको सिधै अगाडि छ, हावा घर । तालको किनारबाट पिल्लर उठाएर खडा गरिएको निकै आकर्षक देखिने यो भवनमा बसेर राजाले हावाको अनुभूति लिन्थे ।
रत्नमन्दिर भित्रै अर्को गेट छ । त्यो गेटभित्र एउटा प्रतीक्षालय छ । पोखरा आउँदा सर्वसाधारणको कुरा सुन्न भनेर यो प्रतीक्षालय बनाइएको थियो । सर्वसाधारणका कुरा लिएर मुखियाहरू त्यो प्रतीक्षालयमा आएर बस्थे । राजासँगको भेटमा उनीहरूले सर्वसाधारणका गुनासा राजालाई सुनाउँथे ।
तर, अहिले यी सब कुरा इतिहास बनिसकेका छन् । रत्नमन्दिर भित्र के छ भन्ने पनि रहस्यमा नै छ ।
तर, तत्कालका लागि सर्वसाधारणका लागि रत्नमन्दिरको प्रांगण खुला गरिने छ । त्यहाँको बगैँचा सर्वसाधारणले देख्न पाउँछन् । त्यसका लागि पर्खिनुपर्ने छ, जेठ १५ । अर्थात, ‘गणतन्त्र दिवस ।’
तत्कालका लागि नेपाल ट्रस्टले सञ्चालन कार्यविधि तयार पारिसकेको छ । सर्वसाधारणले १०० रुपैयाँको टिकट काटेर सर्वसाधारणले हेर्न पाउने गरी खुला गर्न लागिएको छ ।
नेपाल ट्रस्टको वेबसाइटअनुसार पोखरामा विभिन्न ६ कित्तामा १७४ रोपनी ४ आना २ पैसा जग्गा रत्नमन्दिर र हिमागृहले चर्चेको छ ।
पोखरा ६ मा कित्ता नं. ११२८ मा ५८ रोपनी १ आना ३ पैसा २ दाम, ११२९ मा २५ रोपनी ४ आना २ पैसा, ११३० मा २१ रोपनी ३ आना २ पैसा ३ दाम, ११३१ मा ७ रोपनी १ आना २ पैसा १ दाम, १२७० मा २ रोपनी ३ पैसा १ दाम, १०३८ मा १० रोपनी ४ आना १ पैसा १ दाम, १७६२ मा २४ रोपनी ७ अना २ दाम, १७६३ मा २४ आना १ पैसा २ दाम र ३० मा १ रोपनी १२ आना १ पैसा जग्गा रत्नमन्दिर र हिमागृहको नाममा छ ।