
काठमाडौं । पछिल्लो केही दिनयता चर्चामा रहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको रुख काटिएको छ । मैदानमा प्यारापिटको काम भइरहँदा निमार्णस्थलको बीचमै रहेको एक रुख सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको थियो ।
त्रिभुवन विश्वविद्यालयको गेटदेखि कीर्तिपुर निस्किने सडकतर्फ रुख नकाटी बीचमा पारेर प्यारापिटको काम भइरहेको हुँदा यो चर्चामा आएको हो । जसलाई केहीले निर्माण पक्षको लापरबाही भनिरहेका छन् । केही भने यसले सरकारी संयन्त्रबीचको समन्वयको अभाव भन्दै टिप्पणी गरिरहेका छन् ।
किन चर्चामा थियो उक्त रुख
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्न धमाधम काम भइरहेको त्यहाँ जाने जो कोहीले पनि देख्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको असार ३१ मा ३०० दिनभित्रै त्रिवि क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्ने उद्घोष गरेका थिए । जसअनुसार पुस १९ गते प्यारापिटको र पुस २२ गते फ्लडलाइट निर्माणको लागि सम्झौता भएको थियो ।
नेपाल सरकारअन्तर्गत सहरी विकास मन्त्रालयले प्यारापिट र फ्लडलाइट दुवै निर्माणका निम्ति यही वैशाख २४ गतेसम्मको समयावधि तोकेको थियो । तर, गएको वैशाख २२ गते प्रधानमन्त्री ओली आफैँले रंगशाला निर्माण समयमै पूरा नहुने र त्यसका लागि दुई महिना समय थप गरिएको घोषणा गरिसकेका छन् ।
यसअघि कीर्तिपुर पुग्ने हर–कोहीले पहिले ‘मिडिया बक्स’ रहेको क्षेत्रतर्फ प्यारापिट निर्माण भइरहँदा बीचमै रुख ठडिएको देख्थे । उक्त रुख मसलाको थियो । कीर्तिपुरमा रंगशाला निमार्णका साइट इन्र्चाज गणेश पाण्डेका अनुसार यसअघि रंगशालाको काम छिटो सम्पन्न गर्नुपर्ने अवस्थामा रुख काट्न वन मन्त्रालयबाट समय लाग्ने देखेर काममा बाधा नपरोस् भन्ने तरिकाले अघि बढिएको जनाए ।
“रुखको कुरा आइरहेको छ । त्यो अहिले हामी सबैलाई थाहा भएकै कुरा हो । पहिले काट्न मिलेन । त्यही भएर डिजाइन पनि परिवर्तन गर्यौँ । अब अहिले रुख काटेर हटाइसकेका छौँ । पहिले रुख सुक्न थालिसकेको थियो । त्यसले पछि जोखिम बढाउँछ कि भन्ने डर थियो,” पाण्डेले थपे, “निर्माण कार्य सम्पन्न गर्न समय निकै कम थियो । एउटा रुख काट्न कति धेरै समय लाग्छ भन्ने हामी सबैलाई थाहा नै छ । त्यतिबेला कामलाई बाधा नपरोस् भन्ने तरिकाले हामी अघि बढेका थियौँ ।”
यता, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव वाग्लेले भने रुख काट्न पहिले सम्बन्धित व्यक्ति कोही पनि नआएको बताए । उनले अहिले रुखको चर्चाका देख्दा मन्त्रालय आफैँले निर्माण पक्षसँग समन्वय गरेर रुख काट्न अनुमति दिएको जनाए ।
“रुखको विषय अहिले समाधान भइसक्यो । पहिलो, हामीसँग उहाँहरू अनुमतिका लागि आउनु भएको रहेनछ । अहिले हामीले थाहा पायौँ । सामाजिक सञ्जालमा रुखको कुरा आएपछि हामी आफैँले खोज्यौँ के भएको रहेछ भनेर । अहिले सबै प्रकृया अघि बढिसक्यो, त्यो समाधान भइसक्यो,” प्रवक्ता वाग्लेले बाह्रखरीसँग भने ।
तस्बिरहरू हेर्नोस्–