काठमाडौं । सुक्खायामसँगै काठमाडौं यतिखेर प्रदूषित छ । निर्माणाधीन सडक र सवारी साधनबाट निस्किने धुवाँधुलोले काठमाडौंवासीलाई सास्ती थपेको छ । विशेषगरी, चक्रपथ सडक क्षेत्रमा वायु प्रदूषणले जनजीवन प्रभावित बनाएको छ ।
बुधबार दिउँसो ३ बजे काठमाडौंको शंखपार्क र ललतिपुरको खुमलटारमा वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १०० भन्दा माथि छ ।
शंखपार्कमा एक्यूआई ११७ र खुमलटारमा १०९ रहेको वातावरण विभागको रेकर्ड छ । यो वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । पछिल्लो २४ घण्टामा उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुर र शंखपार्कको एक्यूआई १५९ देखि १६४ सम्म पुगेको थियो, जुन सबै व्यक्तिका निम्ति अस्वस्थकर हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार, एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर हो । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।
हेर्नुहोस्, बुधबार दिउँसो कलंकी, स्वयम्भू, बालाजु, गोंगबुलगायत क्षेत्रमा खिचिएका तस्बिरहरू :
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी