काठमाडौं । दाङको देउखुरीबाट आएका स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन थालेका छन् । आइतबारदेखि उनीहरूले काठमाडौंको माइतीघरमा धर्नासहितको आन्दोलन थालेका हुन् ।
विभिन्न माग लेखेका प्लेकार्ड, किसानहरूले प्रयोग गर्दै आएका विभिन्न औजारसहित उनीहरू धर्नामा सहभागी थिए ।
यसअघि, उनीहरूले दाङमै ०८० फागुन ७ बाट करिब एक महिना लामो आन्दोलन गरेका थिए । त्यतिबेला तत्कालीन सरकारसँग भएको दुईबुँदे सम्झौतापछि आन्दोलन स्थगित भएको थियो । तर, दुईबुँदे सम्झौता कार्यान्वयन नभएपछि उनीहरू काठमाडौं आएका हुन् ।
सहमति भएका बुँदा कार्यान्वयन गर्न पटकपटक सरकारी निकाय धाएपनि बेवास्ता गरिएको स्वर्गद्वारी गुठी पीडित मोही संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले गुनासो गरे । उनका अनुसार, दशकौँदेखि खनजोत गर्दै आएको जग्गामा किसानहरूले स्वामित्व पाएका छैनन् ।
आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त नगरेसम्म आन्दोलन र धर्ना चलिरहने अध्यक्ष चौधरीले बताए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी