काठमाडौं । सरकार र पेट्रोलियम ट्यांकर चालकहरूबीच पेट्रोलियम पदार्थ सहजरूपमा ढुवानी गर्ने सहमति भए पनि सोमबार साँझसम्म सर्वसाधारणले पेट्रोल पाएका छैनन् ।
सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सोमबार दिउँसो पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको थियो । संघले सरकारसँगको सहमतिलगत्तै ढुवानी समस्या समाधान हुने बताएको थियो । तर, अहिलेसम्म पेट्रोल पम्पहरू खुलेका छैनन् । पम्प वरिपरि पेट्रोलियम पदार्थका लागि सर्वसाधारणको भिड छ ।
आज बिहानैदेखि काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ नपाउँदा सरकारी पेट्रोल पम्पहरूमा सर्वसाधारणको भिड लागेको थियो ।
सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलन पक्षबीच भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको थियो ।
थप तस्बिरमा हेर्नुहोस्
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी