काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको छ । सभामुखबाट बैठकको कामकारबाही सुरु भएको घोषणा हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वेल घेराउ गरेर नाराबाजी गरेको थियो ।
तर, सभामुखले बैठकलाई रोकेनन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउ थाले । प्रतिपक्षको विरोधलाई राप्रपासहितका दलले पनि साथ दिए ।
चर्को नाराबाजीका बीच सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय उपलब्ध गराए । अवस्था थप चर्कियो । कांग्रेस सांसदहरू थप आक्रामक बने । उनीहरूले वेल घेराउ गरेकाले गृहमन्त्री अगाडि जान पाएनन् ।
लगत्तै एमालेसहितका सत्तापक्षका सांसदहरू पनि उठेर प्रतिवादमा उत्रिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उठेरै प्रतिवाद गरेपछि कांग्रेस सांसदहरू थप आक्रोशित बने । उता एमालेका सांसदहरू पनि प्रतिवादमा उत्रिए ।
मुठभेडको अवस्था सिर्जना भएपछि सभामुखले संसद् बैठक स्थगित गरेका थिए ।
थप तस्बिरमा हेर्नुहोस्
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी