काठमाडौं । बिहीबार साँझतिर काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगमस्थल मिलनचोक पुग्दा सडकमा व्यापार गर्नेहरूको चहलपहल थियो ।
काठमाडौं महानगरले खोला व्यवस्थित गर्न डोजर चलाएपछि साँघुरो बनेको चकुचा खोलाको डिलमा १५–२० वटा ठेला हुन्छन् । हरेक साँझ त्यहाँ व्यापार गर्ने र खरिद गर्नेको भिड लाग्ने गर्छ । जहाँ ताजा तरकारी, फलफूल, पानीपुरीदेखि लत्ताकपडा, पोलेको मकै, बदामसम्म पाइन्छ ।
उनीहरूका अनुसार पहिले चकुचा खोलामाथि सहजरूपमा व्यापार गर्न सकिन्थ्यो । अहिले उनीहरूलाई खोला व्यवस्थित गर्ने भन्दै महानगरले डोजर चलाएपछि व्यापार गर्न निकै सास्ती भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने मिलनचोकमा साँझतिर फुटपाथ व्यापार चल्ने गर्छ । तर, पछिल्लो समय काठमाडौं दुवै स्थानीय तहले व्यापार गर्न नदिने उद्देश्यले बेलाबखत व्यापारीहरूलाई लखेट्ने र सामान खोस्ने गरेको उनीहरूको गुनासो छ ।
आफूहरूले खर्चको जोहो गर्न साँझपख व्यापार गर्न दिन माग गरे पनि विभिन्न बहानामा जनप्रतिनिधि र नगर प्रहरीले बेलाबेला दु:ख दिने गरेको व्यापारीहरू बताउँछन् ।
तस्बिरमा हेरौँ मिलनचोकस्थित चकुचा खोला किनारको फुटपाथ व्यापारको चहलपहल :