काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आयोजनामा बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भयो ।
विभिन्न स्थानबाट र्यालीसहित पुगेका प्रसाईं समर्थकले सुरक्षा घेरा तोड्न खोजेपछि स्थिति जटिल बनेको थियो । प्रसाईंको सम्बोधनपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरिएको थियो । प्रदर्शनका क्रममा केही व्यक्ति घाइते भएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाएर बल्खुचोक खाली गराएको थियो । तर, बल्खु पुल तरेर सानेपातर्फबाट प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘देश बेच्न पाइँदैन’ लगायत नारा लगाए । केही प्रदर्शनकारीले राष्ट्रिय झन्डा बोकेका थिए । शंख पनि बजाइएको थियो ।
त्यसअघि, प्रदर्शनकारीले तोडफोड गरेका थिए । बल्खुमा पार्किङ गरेर राखिएका मोटरसाइकलहरू प्रसाईंका समर्थकले लडाएका थिए ।
नेकपा (एमाले)का कार्यकर्ताले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईं समर्थकले त्यसो नगर्न चेतावनी दिएका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले ढुंगा हानेको उनीहरूको आरोप छ ।
एमाले समर्थकले भने आफूहरूको मोटरसाइकल र्यालीमाथि अर्को समूहले ढुंगामुढा गरेको आरोप लगाएका छन् । आफूहरूमाथि ढुंगामुढा गरिँदा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरूको भनाइ छ ।
थप तस्बिर हेर्नोस्–