काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो ।
पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जफरले करिब ३० यार्ड परबाट गरेको लामो प्रहारले सोझै जाली चुम्दा नेपाली गोलकिपर जियारथ सेखले प्रतिक्रियाको मौकासमेत पाएनन् ।
त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो ।
२६औँ मिनेटमा पाकिस्तानका साह जहनले गरेको प्रहार गोलकिपर जियारथले बचाएका थिए । ३३औँ मिनेटमा ६ यार्ड बक्सबाट मुहम्मद अदिल युनसले गरेको प्रहारमा जियारथले उत्कृष्ट बचाउ गरेपछि नेपालले खतरा टारेको थियो ।
३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले 'वान भर्सेस वान' अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो । ४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए ।
जितसँगै पाकिस्तानले समूह 'ए' मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी