
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक निकै गर्मागर्मी रह्यो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्मा उठेका विषयसहित भारत भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो ।
तर, सुरुमै एमाले सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले नेपाली भूमिसँग बंगलादेशसँगको पहुँचमार्ग सट्टपट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीले जवाफ दिने भएपछि उनीहरू बसेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूलाई प्रश्न गर्न भनिएको थियो । प्रश्न गर्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री 'भैँसी चढेर आएको' भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनले 'भैँसी चढेर आएको' शब्दावली हटाउन माग गरेका थिए ।
उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।
विरोध नरोकिएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए । त्यसपछि रास्वपाका सांसद रवि लामिछानेलाई पनि बोल्न समय दिइएको थियो ।
सभामुखले 'भैँसी चढेर आएको'सँग सम्बन्धित सबै शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएपछि बैठक चलेको थियो ।