बोस्टन, अमेरिका । ‘अमेरिकामा घागीले १२ सय पचास डलर कमाएछ । त्यसमा त्यति नै थपेर महावीर पुनलाई पठाउन मनलाग्यो, कसो होला ?’ लेखक शिव प्रकाशले शनिबार सबेरै आफ्नो चाहनामा सही मागे । ‘समर’को संकेत फिंजाउँदै सूर्यको प्रकाश विहानै रापिएको थियो । शिव प्रकाश उसै पुलकित थिए, एक आविस्कारकको होस्टेमा हैंसे गर्न तम्सिँदा ।
‘तपाईंसँग कति पैसा छ हो ?’ उनको चाहनामा सही थाप्नु अघि प्रश्न गरें । किनभने आर्थिक सहयोगको मामिलामा उनी अग्रसर देखिन्छन् ।
‘भएको कुरा दिनु त के सहयोग भयो र ? मसँग पैसा छैन, नभएको चिज दिन पो आनन्द आउँछ,’ कथा स्टाइलमा ‘कोट’ दिए उनले ।
हालै उनी सहित दिनेश कार्की र मनोज अधिकारीले ‘सामुदायिक पत्रकारिता पुरस्कार’ स्वरुप ११ सय डलर पाएका थिए, चितवनको ‘सानो घर’लाई दिए । त्यसअघि धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको मुसहर बस्तीका लागि चन्दा उठाउन शिव प्रकाश लगायत केही लागि परे र करिव १४ हजार डलर जुटाए । भूकम्प पीडितका लागि उनले बेलाबेला सहयोग पठाइरहे । यसपालि महावीर पुनको अठोटमा सरकारले साथ नदिएको देखेर उनी रन्किए ।
‘सरकार आसेपासेलाई पदक बाँड्दै मख्ख छ, देश बनाउँछु भन्ने महावीर पुन पदक बेच्न बाध्य छन् । यस्तो अवश्था देख्दा सकस भएर आउँछ, राजनीतिक नेतृत्व र सरकारलाई धिक्कार्न मन लाग्छ,’ उनी भन्छन् । खासमा शिव प्रकाश अमेरिकाका धनाढ्य नेपाली होइनन् । उनको एउटा सानो पसल छ । उनी र उनकी श्रीमति ज्योत्सना त्यहीं काम गर्छन् ।
‘काम गर्नुहुन्छ पनि के भन्नु, पसलमा आएर लेख्ने काम गर्नुहुन्छ,’ उनको कामप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्छिन् ज्योत्सना ।
उसो त उनको कार्यशैलीको किस्सा चर्चित छ ।
उनी लेखिरहेको बेला प¥यो भने ग्राहकले कुर्नुपर्छ । नियमित ग्राहक त चुपचाप कुर्छन् । कसैले हतार ग¥यो भने उनी मुख तिर पनि नहेरी भन्छन्,‘होल्ड अन माइ फ्रेन्ड ।’
लेख्न लागेको बाक्य पुरा गरेर डिक दिएपछि मात्र उनी सोध्छन्,‘हाउ क्यान आइ हेल्प यु ?’
यस्ता व्यापारी हुन् शिव प्रकाश ।
उनी व्यापारी त हुँदै होइनन् । लेखक हुनका लागि उनी व्यापार पनि गर्छन् भन्दा ठिक होला । ‘क्लब, बार, समर भ्याकेसन आदिमा पैसा खर्च गरेर आनन्द लिनु आम चलन हो । तर, आनन्द लिने पनि तरिका हुन्छ । मलाई आनन्दकालागि ती ठाउँ जान पर्दैन,’ अनि बचत भएको पैसाले यस्तै ‘महावीर’हरुको होस्टेमा हैंसे गर्न तम्सिन्छन् ।