
काठमाडौं । आफूलाई प्रमाणित गर्न विभिन्न प्रतियोगिता धाएको विगत रोहन मोक्तानको स्मरणमा अझै ताजा छ । विद्यालयस्तरमा उनीसँग प्रतिभा थियो, तर प्रस्फुटन गर्न पाएनन् । घरको आर्थिक अवस्था कमजोर थियो– फलस्वरूप, फुटबलप्रतिको माया बाल्यकालमा झाँगिन पाएन ।
तर, खाली खुट्टा मैदानको एउटा ‘कर्नर’देखि अर्को ‘कर्नर’सम्म दौडिँदै गाँसिएको फुटबल मायालाई चटक्कै छाड्न पनि सकेनन् । आफूलाई प्रमाणित गर्ने अवसर खोजिरहे, हिम्मत हारेनन् । निरन्तर संघर्ष गरिरहे । अहिले रोहनलाई लगाब र मिहिनेतको फल प्राप्त भएको छ, भारतमा हुने साफ यू–१९ च्याम्पियनसिप खेल्ने टिममा परेर ।
अन्तिम–२३ मा परेपछि रोहन दंग छन्, आफैँप्रति गर्व गर्छन् । र, सम्झिन्छन् विगत, “स्कुल पढ्दा खेल्न सक्छु भन्ने विश्वास थियो । तर, टिमबाट अवसर पाइनँ । त्यतिबेला राष्ट्रिय टिम त कल्पनासम्मै थिएन । अहिले यहाँ छु, सायद मैले हिम्मत नहारेरै होला ।”
रोहनले पाएको त्यो पुरस्कार
रोहनले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मिल रोडमा अवस्थित ग्लाडिस्टोन एकेडेमीमा विद्यालय तह पढे । फुटबलप्रति हुटहुटी थियो । तर, विद्यालयस्तरमा खासै अवसर पाएनन् । एसईईलगत्तै रोहन आफैँ अवसरको खोजीमा हिँडे ।
०७८ सालतिर हो, एसईई कपको माहोल चलिरहेको थियो । साथीहरूसँग मिलेर रोहन फुटसल प्रतियोगिता खेल्न काठमाडौंका विभिन्न ठाउँ पुगे । कतै राम्रो हुन्थ्यो, कतै ठिकै । नैकापमा आयोजित ब्राइट फ्युचर कपमा उनी नगद पुरस्कारसहित उत्कृष्ट खेलाडी घोषित भए । रोहनका लागि त्यो नै फुटबल खेलेर पाएको पहिलो पुरस्कार थियो ।
आफूले पाएको पाँच हजार रुपैयाँ कतै खर्च गरेनन्, सिधै लगेर बुवा (सानु मोक्तान)को हातमा थमाइदिए । रोहन र उनको बुवाका लागि त्यो पुरस्कारमात्र थिएन– आशाको किरण थियो, भविष्य देखाउने बाटो थियो ।
“त्यो पाँच हजार मैले कतै पनि खर्च गरिनँ, लगेर बुवालाई दिएँ । त्यसपछि बुबाले समर्थन गर्न थाल्नुभयो । पहिले मेरा उपलब्धि कम थिए, मैले पुरस्कार जित्न सकेको थिइनँ । पछि जित्दै गएपछि केही गर्छ जस्तो लागेर सपोर्ट गर्न थाल्नुभयो,” बाह्रखरीसँगको कुराकानीमा रोहनले भने ।
चीन जान पैसा जुटाउन नसकेको दिन
कक्षा १० मा पढ्दाताका हो, साथीले फुटसल खेल्न प्रस्ताव गरे । तर, उनीसँग फुटसल बुट थिएन । मनमा फुटबल दौडिन थालेपछि खाली खुट्टै मैदान छिरे । तर, खेल्ने क्रममा उनले नसोचेको भयो । “खेल्दाखेल्दै हात भाँचियो, त्यो बेलामा बुबाले अबदेखि नखेल भन्नुभयो । घरमा खुब गाली खाएँ,” रोहन सम्झिन्छन् ।
सन् २०२३ मा भुटानको थिम्पुमा आयोजना भएको साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टोली छान्न खुला छनोट भइरहेको थियो । १५ वर्षीय रोहन पनि छनोटमा सहभागी भए । रोहन विभिन्न चरण पार गर्दै टोलीको बन्द प्रशिक्षणसम्म पुगे, तर राष्ट्रिय टोलीमा परेनन् ।
रोहनले हिम्मत हारेनन् । अर्काे वर्ष सन् २०२४ मा भुटानमै आयोजित साफ यू–१७ च्याम्पियनसिपका निम्ति भएको छनोटमा पनि सहभागी भए । तर, यसपटक पनि असफलता । रोहन केही हतास बने ।
“दुईपटक छनोटबाट राष्ट्रिय टिममा नपरेपछि नखेलौँ कि जस्तो पनि लागेको थियो । घरबाट पनि अब खेल्नुपर्दैन भनेर दबाब पनि आएको थियो । तर, फुटबल खेल्ने सानैदेखिको बानीका कारण खेल्नुपर्छ, अझै मिहिनेत गर्नुपर्छ भनेर अघि बढेँ । मेलै सक्दो प्रयास गर्छु । म पढ्छु पनि, खेल्छु पनि भनेर अघि बढ्दा परिणाम आयो ।”
दुई वर्षको दौडधुपपछि रोहनको फुटबल करिअरले ‘टर्निङ प्वाइन्ट’ लियो, भक्तपुरकै एकमात्र ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनले गरेको छनोटबाट टिममा स्थान बनाए । उनले मध्यपुरको प्रतिनिधित्व गर्दै चीनको लिजियाङ सहरमा गत वर्षको २१ देखि २८ अक्टोबरमा आयोजित यू–१६ टियान्यु लायुफ्याङ कप खेल्न पाउने भए ।
टिममा त परे तर, चीन जाने खर्च जुटाउन सकेनन् । छिमेकी दाइ सुजन पौडेलले एक लाख १० हजार रुपैयाँ सहयोग गर्ने भए । अनिमात्रै पक्का भयो, रोहनको चीन यात्रा । अहिलेसम्म पनि सुजनप्रति कृतज्ञ छन्, रोहन ।
“म सुजन दाइलाई धेरै सम्झिन चाहन्छु । त्यतिबेला मसँग पैसा थिएन, बुवासँग पनि थिएन । परिवारसँग माग्नलाई पनि ठूलो रकम थियो । सुजन दाइले मलाई तँ अहिले खेल पैसा म दिन्छु भन्नुभयो । दाइले पैसा दिएपछि म खेल्न गएको थिएँ ।”
...अनि सफलता
चीनको प्रतियोगितामा उनको प्रदर्शन उत्कृष्ट रह्यो । यसपछि भने रोहनले फुटबलमा फर्केर हेर्नुपरेको छैन ।
“त्यहाँ मेरो प्रदर्शन अरूको भन्दा राम्रो नै भयो । सायद म नभएको भए टोलीले राम्ररी पनि खेल्दैन थियो होला । यो प्रतियोगिाबाट मैले अन्तर्राष्ट्रिय खेलको अनुभव लिन पाएँ । म्याचबाट म धेरैको आँखामा परेँ, त्यसैले यो म्याच चाहिँ मेरो 'टर्निङ प्वाइन्ट'जस्तो लाग्छ ।”
मध्यपुरबाट चीनमा गरेको प्रदर्शनकै आधारमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब न्युरोड फुटबल टिम (एनआरटी) ले रोहनलाई एन्फा यू–१६ लिगका निम्ति बोलायो । लगत्तै एनआरटीबाटै उनले एन्फा यू–१८ लिग खेले ।
यसअघि, युवा राष्ट्रिय टिममा पर्न दुईपटक असफल भएका रोहन अहिले भारतमा हुने साफ यू–१९ च्याम्पियनसिपका निम्ति घोषित टिममा समावेश भएका छन् । गत सोमबारमात्रै एन्फाले टोली घोषणा गरेको थियो । करिब एक महिनाअघिदेखि बन्द प्रशिक्षणमा रहेका उनी सोमबार पनि एन्फा मैदानमै थिए ।
“टोलीको अन्तिम नाम सार्वजनिक भएको दिन म एन्फामै थिएँ । त्यो दिन मध्यपुर युथ एसोसिएसन र ब्रिगेड ब्वाइजको खेल भइरहेको थियो । म बेन्चमै थिएँ । यही दिन बिहान ‘सेलेक्सन’ भएको थियो । बेन्चमा बसिराख्दा पनि मेरो नाम आउँछ कि आउँदैन भनेर डर लागिरहेको थियो । खेल सकेर म माथि होस्टेलमा गएँ । राष्ट्रिय टिमको लिस्ट आइसकेको रहेछ । मलाई थाहै थिएन । पछि साथीहरूले मेरो नाम पनि समावेश भएको सुनाए,” उनी भन्छन् ।
राष्ट्रिय टिममा छानिएपछि आफ्नो संघर्षले उचित नतिजा पाएको रोहन बताउँछन् । यस वर्ष युवा राष्ट्रिय टोलीमा स्थान बनाएका नयाँ र कान्छो अनुहारहरूमध्ये रोहन पनि एक हुन् । प्राप्त अवसरमा आफूले सक्दो प्रयास गरी स्वदेशमै बसेर फुटबल खेल्ने उनको योजना छ ।
“आज म एउटा लेभलसम्म आइपुगेको छु । टोलीमा ठाउँ पाउँदा मैले पहिला गरेको मिहिनेत, दु:ख र संघर्षको राम्रो फल पाएको छु जस्तो लाग्छ,” उनी भन्छन् ।
राष्ट्रिय टोली सार्वजनिक भएको दिन मातातीर्थ औँसी थियो । रोजगारीको सिलसिलामा कतारमा रहेकी आमा विष्णुमाया लामालाई उनले सबैभन्दा सुरुमा छनोटको खबर सुनाए । उनलाई लाग्छ– ‘मातातीर्थ औँसीको दिन मैले आमालाई दिएको उपहार यही हो ।’
अबको लक्ष्य– राष्ट्रिय फुटबल टिम
रोहन अहिले नेपाली यू–१९ राष्ट्रिय फुटबल टोलीका डिफेन्डर हुन् । उमेर समूहका हरेक खेलाडीजस्तै रोहनको पनि अबको लक्ष्य छ– राष्ट्रिय टिम । दुईपटक बन्द प्रशिक्षणबाट बाहिरिएका रोहन राष्ट्रिय टोलीमा स्थान बनाउनेमा दृढ छन् ।
उनी भन्छन्, “यो भनेको एउटा खुड्किलोमात्र हो । म यतिमा रोकिने छैन, अब राष्ट्रिय टोलीका लागि प्रयास गर्नेछु । अबको मेरो काम भनेको दैनिकरूपमा आफैँले आफैँलाई राम्रो बनाउने कुरामा हुनेछ । जति पनि राष्ट्रिय टोलीको निम्ति अवसर आउाँछ, म सबैमा प्रयास गर्नेछु ।”