काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्छन् ।
यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरे ।
विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवदेवताको रथसँगै सहर परिक्रमा गरेका छन् ।
इन्द्रजात्राको दिन बेलुकासम्मै कुमारीको रथ यात्रा हेर्न वसन्तपुरमा ठूलो संख्यामा दर्शकको उपस्थिति थियो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी