काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आफ्नो राजीनामाका सम्बन्धमा उठेको प्रश्नमाथि स्पष्टीकरण दिएका छन् ।
अघिल्लो साता काठमाडौंमा एक पुस्तकको विमोचनका क्रममा उनले ‘आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह कहिले भारत र कहिले नेपाल धाएको’ उल्लेख गरेको प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा माग गर्दै सदन अवरोध गरेको थियो ।
सोही विषयलाई लिएर प्रधानमन्त्री दाहालले सोमबार सदनसमक्ष स्पष्टीकरण वक्तव्य दिएका हुन् ।
स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले भने, “तपाइँले भनेर राजीनामा गर्दिँन मेरो अन्तरआत्माले मागे एक मिनेट बस्दिनँ । प्रतिपक्षले माग्नुसाथ दिने भए तपाइँ प्रधानमन्त्री भएका बेला पनि मागिहाल्ने ?”
दाहालको यो भनाई प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो । दाहालले अहिले राजनीतिक दल र नेताहरुले जनतासमक्ष विश्वसनीयता गुमाइरहेको उल्लेख गर्दै सत्तापक्ष र विपक्षका बीचमा पनि सहमति जुटाउने आफ्नो प्रयास जारी रहने बताए ।
तर दाहालले त्यसबेला दिएका अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै अबका दिनमा नदोहोर्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।
“स्पष्ट सोचका बाबजुद त्यो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । यसअघिका कतिपय टिप्पणीहरु, वक्तव्यहरुमा देखिने भावहरुमा यस सम्मानीत सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु,” दाहालको भनाई थियो ।
उनले आफु जति दिन सरकारमा रहे पनि जनता र राष्ट्रको पक्षमा काम गरेर देखाउनैपर्ने बताए । “मैले गर्नुपर्ने अब बाँकी के नै छ र ?,” उनले भने ।
प्रधानमन्त्री दाहालले आफूले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिका क्रममा केही भावनात्मक भएको भने स्वीकार गरे ।
“मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड,” उनले भने, “त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ ।”
उनले प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरीको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको र स्वर्गीय छोरा प्रकाश दाहालको सम्बन्धका कारण उनको निवासमा बसेर छोरीको उपचार गराएको स्मरण गरे ।
आफ्नो कमजोर र बलियो पक्ष भनेकै भित्र जे छ बाहिर पनि त्यही बोल्ने भएको बताउँदै उनले भने, “..तब न प्रचण्ड ।”
“अब त बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ,” दाहालको भनाइ थियो, “७० वर्षको उमेरमा बदल्न खोजेर भएन यही हो प्रचण्ड । मनभित्र मैलो नहुँदा मनभित्र र बाहिर एउटै भनाइ हुँदो रहेछ ।”
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति लक्षित गर्दै जसले प्रधानमन्त्री बनायो उसैले प्रश्न गर्दा त्यसको औचित्य के हुन्छ ? भन्दै प्रतिप्रश्न गरेका थिए ।
“मलाई प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठ्यो ? यो प्रश्न उठ्दै गर्दा मनमा धेरै भाव तरंगीत भए । यो प्रश्न प्रतिपक्ष दलका नेता र साथीहरुले पहिलोपल्ट प्रस्तावित गरेर प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुबाटै यो प्रश्न आउँदा अचम्मित छु,” उनले भने, “मलाई प्रीतम सिंहले बनाएको त होइन नि ? प्रमुख प्रतिपक्ष दलका नेता साथीलाई राम्रोसँग थाहा छ । म प्रधानमन्त्री कुन परिवेशमा कसरी भएँ भन्ने प्रमुख प्रतिपक्ष दलका नेतालाई सबैभन्दा बढी थाहा थियो । को कोले रोक्न खोजेका थिए भन्ने पनि थाहा छ । राष्ट्रपतिलाई आफैँले लेखेको पत्रमा कसरी प्रश्न उठाइयो भन्ने मेरो मनमा प्रश्न उठेको छ । ९९ प्रतिशत बढी सदस्यको समर्थन त पाएकै हो । बडो सहज ढंगले माननीय सदस्यले प्रश्न उठाउनुभएको छ । यो असाधारण परिघटना अलिअलि समीक्षा गर्नुपर्ने हो कि होइन ?”
सिंगो सदनप्रति प्रश्न उठाउँदै प्रचण्डले यस्तो बताएका थिए ।
“अहिले यही संसद्मा प्रधानमन्त्री कसरी भएँ भन्ने गम्भीर प्रश्न उठ्न कसरी सम्भव भयो म भावुक र तरंगीत भएको छु । यो प्रश्नको घेरामा म प्रधानमन्त्री कसरी भएँ भन्ने तर यो प्रश्नको घेरामा ममात्रै छु कि सिंगो संसद् र सबै दल छौँ ?,” दाहालको प्रश्न थियो, “ममात्रै घेरामा छैन प्रश्न उठाउने माननीय पनि प्रश्नको घेरामा हुनुहुन्छ । तथ्य र प्रमाणले यो प्रश्नभित्र रहेको मौलिकता र विशिष्टतालाई पटक पटक उठाइरहन्छ ।”
दाहालले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको हुन सक्ने स्पष्टीकरण दिँदै भने, “तर सिंगो संसद्को औचित्यमा प्रश्न उठाउन मिल्छ ? स्पष्टीकरणको मौका पनि नदिन मिल्छ ? अहिले म प्रधानमन्त्री छु भोलि अर्को हुने होला नि ! सबैले जवाफ दिनुपर्ने होला नि ! सिंगो देश निराशाबाट विस्तारै आशातिर जान खोज्दैछ । सरकारले कदम उठाएका बेला यस्ता प्रश्न उठाउँदा यसको औचित्य के होला ?”
प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षप्रति अलि कडारुपमा प्रस्तुत भएका थिए ।
“प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, स्पष्टीकरणको मौकासमेत नदिइ राजीनामा माग्ने, त्यही स्तरको हो यो ? के प्रतिपक्षले राजीनामा भन्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ?,” प्रधानमन्त्रीले प्रतिप्रश्न गरे, “के यही हो लोकतान्त्रिक विधि ? प्रधानमन्त्रीले स्पष्टीकरण पनि दिन नपाउने हो ?”
उनले प्रतिपक्षले आफने भनाइप्रति प्रश्न राख्नु स्वाभाविक भए पनि जवाफ दिन नदिएर राजीनामा माग्ने र सदन अवरोध गर्ने काम अस्वाभाविक भएको बताए ।
“संसद्मा उठेका प्रश्नको जवाफ दिन्ु प्रतिनिधिसभाको सदस्यको हैसियतले र अहिले प्रधानमन्त्रीको हैसियतले पनि मेरो कर्तव्य हो । मेरो अभिव्यक्तिलाई लिएर संसदमा उठाएको प्रश्नमा सुरु देखि नै मेरो गम्भीर ध्यानाकर्षण गरेको हो,” प्रधानमन्त्री दााहलले भने, “सुरुको दिनमै मैले बोल्नका निम्ति समयमा माग गरेका थिए । सभामुख र राजनीतिक दल समक्ष स्पष्टीकरण दिने अवसर सवभन्दा ठूलो कुरा थियो । तर, सदन किन अवरोध गरियो मैले बुझ्न सकेको छैन ।”
आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका थिए ।
“मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेको हो,” उनले भने, “यही हो संसदीय अभ्यास ? राजीनामा नआएसम्म बोल्न दिन्न भनेको के हो ? प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि दिन नहुने हो ? यो प्रतिवाद होइन ?”