काठमाडौं । नेपाल मुद्रा संकलक संघको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी भइरहेको छ ।
राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने पहिलोपटक आयोजना गरिएको संघको महासचिवसमेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।
प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको छ ।
नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभएपनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रु. ५, रु. १० र रु. १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए ।