-1742460688.jpg)
काठमाडौं । गएको असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट गरिएको पहिलो निर्णय थियो, कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने । त्यसको सात महिनापछि हाल त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको काम थालिएको छ । सहरी विकास मन्त्रालयबाट मैदान स्तरोन्नति कार्य भइरहेको छ ।
प्यारापिटका निम्ति फागुन १९ गते ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम थालियो । मन्त्रालयका अनुसार, प्यारापिट निर्माणको जिम्मा तीन कम्पनीले संयुक्त रूपमा पाएका हुन् । ती तीन कम्पनीमा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्स छन् ।
यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको छ । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते मन्त्रालयले विसान ईश्वरीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि काम थालिएको थियो ।
“अहिलेसम्म कीर्तिपुरमा निर्माण कार्यको भौतिक प्रगति ५ प्रतिशत भइसकेको छ । वित्तीय प्रगति भने शून्य नै छ,” साइट इन्चार्ज गणेश पाण्डेले बाह्रखरीसँग भने ।
रंगशाला निर्माणको पहिलो चरणमा प्यारापिटतर्फ चेन्जिङ रुम, भीआईपी बक्सलगायत संरचना समावेश नभएको इन्चार्ज पाण्डेले बताए । सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता नवराज शर्माले प्यारापिट र फ्लडलाइट निर्माण कार्य अघि बढाइएको बताए ।
“त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइटको काम सुरु भइसकेको छ । मन्त्रालयबाट यी दुवै निर्माण कार्यका निम्ति फरक–फरक कम्पनीले ठेक्का समेत पाइसकेका छन्,” उनले भने, “मैदानको प्यारापिटका निम्ति ४३ करोड ७७ लाख र फ्लडलाइटका निम्ति ४२ करोड १९ लाखमा ठेक्का लागेको छ ।”
प्यारापिट र फ्लडलाइट दुवै निर्माण कार्य आउँदो वैशाख २४ गतेसम्म सकाउनुपर्ने समयासीमा छ । तोकिएको अवधिमा काम भए प्रधानमन्त्री ओलीले घोषणा गरेझैँ यो ३०० दिनभित्रै सम्पन्न हुनेछ । असार ३१ गतेको घोषणादेखि सम्पन्न हुनुपर्ने मितिसम्म कुल २९५ दिन हुनेछ ।
सहरी विकासमन्त्रीले गरे अवलोकन
कीर्तिपुरमा निर्माणाधीन प्यारापिट र फ्लडलाइड जडान कार्यको आज उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अवलोकन गरेका छन् ।
अवलोकनपछि १० हजार सिट क्षमताको प्यारापिट वैशाख २४ भित्र निर्माण सम्पन्न गर्ने गरी काम तीन सिफ्टमा काम अघि बढिरहेको उपप्रधानमन्त्री सिंहले बताए । निर्माण कार्य समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहले निर्माण कार्यमा चासो राखेको सचिवालयले जनाएको छ ।
सुविधासम्पन्न रंगशाला निार्णका निम्ति प्यारापिटतर्फ फागुन १९ गते र फ्लड लाइटतर्फ फागुन २२ गते ठेक्का लागेको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते ३०० दिनभित्र काम सक्ने गरी त्रिवि क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्ने घोषणा गरेका थिए ।
हेर्नुहोस् थप तस्बिर
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी