
काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेपछि भ्वाङ परेको थापाथली चोकबाट प्रसूति गृहतर्फ जाने सडकको मर्मत थालिएको छ । अहिले एउटा डोजरको प्रयोग गरेर मर्मतको काम भइरहेको छ । मर्मत सम्भारमा मेलम्ची खानेपानी आयोजना र उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टोली खटिएका छन् ।
सडकको बीचमा भ्वाङ परेपछि नर्भिक अस्पताल र प्रसूति गृह अस्पताल जाने बिरामीहरूलाई सास्ती भएको छ । अहिले गर्भवती, सुत्केरी, बालकालिकासहित बिरामीहरू चोकबाट हिँडेरै अस्पताल गइरहेको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार, मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वितरण शाखाको ट्यांकीमा आपूर्ति हुँदै आएको ५०० एमएमको पाइप फुटेको हो । जसबाट करिब चार लाख लिटर पानी खेर गएको उनको भनाइ छ । करिब ४० मिनेटपछि मात्रै केयूकेएलले पानी बन्द गरेको थियो ।
हेर्नुहोस् तस्बिरहरू