
काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेलमा तनाव उत्पन्न भएको छ ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको 'प्ले अन ह्विसिल' बजाएपछि नेपालले गोल गरेको थियो ।
तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको 'बराबरी गोल' खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको छ । नेपालको प्रीति राईले गोल गरेकी थिइन् ।
त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।
रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।
हेर्नुहोस् तस्बिरहरू