site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अनमोलका हार्डकोर फ्यानलाई निराश नबनाउने सिनेमा

काठमाडौं । स्कुलमा ‘बुलिङ’ हुन्छ, त्यसको प्रभाव दिमागमा परिरहेको छ । साथीको साथ त छ, तर उसले सम्झाएर ट्रयाकमा ल्याउन सकिरहेको छैन । बुवासँगको चिसो सम्बन्ध र इगोले छुट्टै बास छ । हाकिमको कचकच र तथ्यलाई मोडेर सेवाग्राहीलाई ठग्ने इन्स्योरेन्स कम्पनीको मालिकको तनावबीचको रङरौसको कथा नै चलचित्र ‘फर्की फर्की’को मुख्य कथानक हो ।

आफूले गरेको गल्तीको प्रायश्चित गर्छु भन्ने तर गल्ती गरिरहने म्याडी (अनमोल केसी) र एक झलकमै उनलाई मन पराउने ‘सायरा (जसिता गुरुङ)बीचको नोकझोक, मायाप्रेम, रोमान्स र फ्रड नै सिनेमाको कथा हो । मुख्य आकर्षण हो । अनमोलको साथीको भूमिकामा देखिएका सुवास (रवि काफ्ले) र सुजी (समृद्धि काफ्ले)ले सिनेमाको कथालाई अगाडि बढाउँछन् ।

सिनेमा झकिझकाउ छ । हेवी प्रोडक्सन देखिन्छ । निर्माता रोहित अधिकारीले मन खोलेर खर्च गरेको पर्दामा प्रस्टै देखिन्छ । निर्देशक सुयोग गुरुङले मागेजति लोकेसन निर्माताले उपलब्ध गराएको पर्दामा देखिएको छ । कथाले डिमान्ड गरेको लोकेसन माग्न निर्देशक गुरुङले कन्जुस्याइँ गरेका छैनन् । सहरिया युवाको मोह केमा छ ? बाइक, पब, राम्री गर्लफ्रेन्ड त्यसका लागि चाहिने लोकेसनमा निर्माता अधिकारीले पैसा, प्रोडक्सन म्यानेजर शंकर पाण्डेले लोकेसन खोज्न र मिलाउन गरेको मिहिनेत देखिन्छ ।

Dabur Nepal
NIC Asia

लभस्टोरी मुभीका लागि टल एन्ड गुडलुकिङ नायक अनमोल केसी फिट देखिएका छन् । हार्डकोर दर्शकले रुचाउँछन् । जसिता गुरुङको सुन्दरता देखाउन निर्माणपक्षले कुनै कसर बाँकी राखेको छैन । अभिनयमा पनि उनी ठिकठाक लाग्छिन् ।

अनमोल केसीका लागि ‘फर्की फर्की’ दशौँ सिनेमा हो । नवौँ सिनेमा ‘छड्के–२’ मा केही फरक काम देखाउने प्रयास गर्दा आफूलाई दर्शकले नरुचाएको र चलचित्र घाटामा गएको उनले सञ्चारमाध्यममा बताएका थिए । ‘छड्के–२’ बाट भड्किएका दर्शक फर्काउन सक्नु नै आफ्नो सफलता हुने उनको भनाइ थियो । त्यो सफलता प्राप्त गर्छन्/गर्दैनन् त्यो त अबको केही दिनमा देखिनेछ, तर उनको अभिनयमा भारीभर्कम सुधार देखिएको छैन । भलै, ‘ड्रिम्स’ मन पराउने उनका फ्यानले ‘फर्की फर्की’मा सहजै स्वीकार गर्न सक्छन् ।

कथासँगै सिनेमामा सिन चेन्ज हुन्छ । कथा र सिनसँगै पात्रको इमोसन चेन्ज हुन्छ । कथासँगै चेन्ज हुने इमोसन पात्रमा देखिनुपर्छ । त्यो अनुहारमा होला, डाइलग डेलिभरीमा अथवा मुभमेन्ट वा बडी ल्यांग्वेजमा देखिन्छ होला । कथामा इमोसन परिवर्तन भएसँगै पात्रमा देखिनुपर्छ । त्यसमा अनमोल अब्बल देखिएका छैनन् । यसमा तुलनात्मक रूपमा जसिता बलियो लाग्छिन् । पात्रमा देखिएको इमोसन दर्शकमा ट्रान्सफर्म हुन सक्नुपर्छ । त्यो अभिनयको अब्बलताले सम्भव हुन्छ । यसमा कलाकार चुकेका छन् ।

सिनेमामा नयाँ कथा छैन । प्रेम, फ्रड, धोका, पश्चात्ताप, प्याचअप यसकै वरिपरि रहेर कथा घुम्छ । मात्र नयाँ ट्रिटमेन्ट हो । टाइम लुपमार्फत कथा भन्ने प्रयास गरिएको छ । यो नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोग हो । निर्देशक गुरुङले प्रयोग गर्ने आँट गरे । यो हिम्मत गर्नु नै ठूलो कुरा हो । स्याबासीका पात्र हुन् । तर, टाइमलुपले पनि स्टोरी भन्नुपर्छ । स्टोरी भन्नका लागि टाइमलुप प्रयोग गर्ने हो । यसमा भने निर्देशकले जति मिहिनेत गर्न सक्थे, गरेका छैनन् । त्यसैले टाइमलुपको उत्कृष्ट सिनेमा भने ‘फर्की फर्की’ बन्न सकेको छैन ।

सिनेमाले कसको कथा भनेको हो, सुवास कि म्याडीको ? के कथा भनेको हो, प्रेम कि इन्स्योरेन्स कम्पनीको बदमासी ? पटकथामा लेखक अलमलिएका छन् । यसले सिनेमालाई थप टाइट हुन दिएको छैन ।

चलचित्र सिनेम्याटिक हुनैपर्छ । सिनेमाको सिनेमेटोग्राफी भनेको क्यामेराको भ्युफाइन्डरबाट देखिने सुकिलामुकिला दृश्य मात्र होइन, ती दृश्य आफैँ बोल्नु हो । सिनेमामा सिनेमेटोग्राफरको शिल्पमार्फत कथा भन्न सक्नुपर्छ । दृश्य सिनेमामा राम्राराम्रा छन्, तर ती दृश्यले कति कथा भन्छन् ? त्यो महत्त्वपूर्ण प्रश्न हो । फोटोग्राफी र सिनेमेटोग्राफी फरक हो । यसको भेद छुट्ट्याउनुपर्छ ।

लभस्टोरी मुभी ‘फर्की फर्की’मा साउन्ड र ब्याकग्राउन्ड स्कोर राम्रो छ । साउन्ड र ब्याकग्राउन्ड स्कोरले सिनेमालाई उकास्न सहयोग गरेको छ । चलचित्रमा सांगीतिक पक्षले कथा भन्न मद्दत नै गरेको छ । पात्रको मुडअनुसारको संगीत छनोट र प्रयोगमा निर्देशक गुरुङको राम्रो चेत देखिएको छ । कथामा ध्यान दिन सके निर्देशक गुरुङले अब्बल दर्जाको सिनेमा बनाउनेमा शंका गर्ने ठाउँ छोडेका छैनन् ।

समग्रमा अनमोलका हार्डकोर फ्यानलाई ‘फर्की फर्की’ले निराश बनाउँदैन । तर, तर्कवितर्क गरेर सिनेमा हेर्ने सिनेफिल दर्शकका निम्ति यो चलचित्र रोजाइमा नपर्न सक्छ । 

निर्देशक/लेखक : सुयोग गुरुङ
निर्माता : रोहित गुरुङ/ओम अग्रवाल
कलाकार : अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल आदि
जानरा : रोमान्स/ड्रामा 
लेन्थ : १४६ मिनेट
ब्यानर : रोहित अधिकारी फिल्मस् ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:१३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home