काठमाडौं । मिटरब्याजविरुद्ध 'न्याय मार्च'मा रहेका पीडितहरू केही दिनदेखि काठमाडौंमा छन् । उनीहरूले काठमाडौंको भद्रकालीलाई केन्द्रविन्दु बनाएर दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
उनीहरूका प्रतिनिधिले सरकारसँग वार्ता गरिरहेका छन्, तर समाधान निस्किएको छैन । बुधबार तेस्रो दिन पनि पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन रह्यो । उनीहरूले आफूहरूका माग पूरा नभएसम्म घर नफर्किने अडान लिएका छन् ।
उनीहरू दिउँसो सडकमा आएर नाराबाजी गर्छन्, राति नजिकैको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा टाँगिएका पालमुनि गएर रात कटाउँछन् ।
पालमुनि महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा अव्यवस्थितरूपमा बस्न बाध्य छन् । तत्काल मागहरू सम्बोधन नहुँदा खान र बस्न समस्या भइरहेको पीडितहरू बताउँछन् ।
तस्बिरहरू : हरिशंजग क्षेत्री/बाह्रखरी