
बन्दिपुर । तनहुँको बन्दिपुर आन्तरिक एवम् बाह्य पर्यटकमाझ चर्चित छ । तर, प्रचुर पर्यटकीय सम्भावना बोकेको बन्दिपुरकै रामकोट ओझेलमा परेको छ ।
रामकोट बन्दिपुर गाउँपालिकाको वडा नम्बर–३ मा पर्छ । जहाँ मगर समुदायको बाक्लो बस्ती छ । करिब १०० घरधुरी रहेको रामकोट गाउँ मौलिक मगर संस्कृतिको 'खानी' हो । यस गाउँमा मगर समुदायको भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा जीवनशैलीको नजिकबाट अवलोकन गर्न सकिन्छ ।
ढुंगाको छाना, काष्ठकलाको अत्यधिक प्रयोग गरेर बनाइएका शताब्दी पुराना चिटिक्क परेका घरहरू एकै थुम्कामा झुप्प भएर बसेका छन् । थुप्रै घरको एउटै आँगन, एउटै धारा र पिँडी छ । जसमा समुदायको एकता र मेलमिलाप झल्किन्छ ।
त्यसैगरी घुमाउने/गोलो घर रामकोटको अर्को आकर्षण हो । स्थानीयका अनुसार उहिले रामकोटमा थुप्रै घरहरू गोलाकार थिए । तर, अहिले एउटा मात्रै गोलो घर बाँकी छ । गाउँपालिकाको सहयोगमा संरक्षण गरिएको यो घर करिब १५० वर्षअघि बनेको हुन सक्ने घरधनी चन्द्र थापा मगर बताउँछन् ।
रामकोटमा पुग्ने पर्यटकहरू आफ्नो घरमा आउने गरेको र सबैले रुचिपूर्वक हेर्ने, सोध्ने गरेको उनले बताए । गाउँको एक पर्यटकीय आकर्षण भएकाले संरक्षण गर्न जरुरी रहेको तर संरक्षण गर्न सहज नरहेको उनले सुनाए । वर्षैपिच्छे खर खोजेर छाउनुपर्ने, नजिकै खर नपाइने, टाढाबाट बाँस तथा काठ किन्नुपर्ने भएकाले मर्मतकार्य झन्झटिलो भएको उनले बताए ।
बन्दिपुर बजारस्थित मतिना चेन हाेटलका सञ्चालक अनिल प्रजापति हाेमस्टे पर्यटनका रामकाेट राम्रो सम्भावना भएको गाउँ भएको बताउँछन् । तर, पर्याप्त रूपमा प्रचारप्रसार र सडक सञ्जाल नहुँदा ओझेलमा परेको उनले बताए ।
रामकोटमा सामुदायिक होमस्टे सञ्चालनमा छ, जहाँ स्थानीय अर्गानिक खानाको स्वाद लिन सकिन्छ । पाहुनाका लागि गाउँमै उत्पादित धान, मकै, कोदो, दाल, गेडागुडी, तरकारी, सागसब्जी, फलफूलहरूको प्रयोग गरिन्छ । लोकल कुखुरा, सुँगुर/बुङ्गुरका विभिन्न परिकार पनि पाइन्छ । साँझको खाना, बास अनि बिहानको खाजासहित प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । तर, परिकार र परिमाण अनुसार खर्च मात्र तलमाथि हुन सक्छ ।
पर्यटनको राम्रो सम्भावना बोकेको भए पनि स्थानीय त्यसतर्फ आकर्षित भइसकेका छैनन् । बन्दिपुर–३ का वडासदस्य समेत रहेका स्थानीय नीरकाजी मगर स्थानीयमा पर्यटनप्रतिको बुझाइ र आकर्षण कम भएको स्वीकार्छन् ।
मौलिक कला र संस्कृतिले धनी रामकोट अप्ठेरो सडकका कारण ओझेलमा परेको देखिन्छ । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको भनाइमा– रामकोट लमजुङको घले गाउँभन्दा पनि सुन्दर छ ।
"तर, प्रचारप्रसारको अभावमा यो गाउँ ओझेलमा छ," थापा थप्छन् ।