
काठमाडौं । लाओसलाई २–१ ले हराउँदै नेपालले शुक्रबार प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयुष घलान र मनिष डाँगीको गोलमा नेपालले उपाधि रक्षा गरेको हो ।
लाओसले फौथाभोङ साङभिलेले गरेको गोलमा लाओसले १७औँ मिनेटमा अग्रता लिएको थियो । साङभिलेले बौनफाचन बौनकोङको पासमा गोल गरेका हुन् ।
लाओसको अग्रता लामो समय टिक्न सकेन । आयुष घलानले २४औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिन तीन बाँकी हुँदा मनिषले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो ।
आजको खेलको 'म्यान अफ द म्याच' भने मनिष डाँगी बने ।
नेपालसहित भुटान र लाओस सम्मिलित शृङ्खलामा आयुष घलान 'म्यान अफ द टुर्नामेन्ट' घोषित भए ।
नेपालले लाओसलाई हराएको यो तेस्रोपटक हो । यसअघि यही प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसअघि २०१६ नोभेम्बरमा सप्पन्न एएफसी सोलिराडिटी कपमा लाओस पेनाल्टी सुटआउटमा नेपालसँग ३–२ ले पराजित भएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी