
काठमाडौं । दीपक सिंह ठकुरीको पहिलो अन्तर्राष्ट्रिय गोलमा नेपाल भुटानसँग हारबाट जोगिएको छ ।
दीपकले अन्तिम मिनेटमा गोल गर्दा नेपाल प्रधानमन्त्री त्रिदेशीय कपमा भुटानसँग १–१ को बराबरीमा रोकिएको हो ।
नेपालले भुटानसँग बराबरी खेलेको यो पहिलोपटक हो । नेपालले यसअघिका १३ वटै खेलमा जित निकालेको थियो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानका तेन्जिङ नोर्बुले गोल गर्दा नेपालका दीपकले बराबरी गोल फर्काए । बराबरीसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले १७ गते उपाधिका लागि लाओससँग खेल्नेछ ।
दीपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले यही प्रतियोगिताको पहिलो खेलमा लाओसविरुद्ध डेब्यू गरेका थिए ।
खेलको बिचमा नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भए । उनी भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर घाइते भएका हुन् । विष्टलाई ब्लुक्रस अस्पताल लगिएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी