
काठमाडौं । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी ७५ रनको साझेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ । रोहित र करणको यो साझेदारी एकदिवसीय क्रिकेटमा नेपालले नवौँ विकेटमा बनाएको अहिलेसम्मको उच्च साझेदारी हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।
जितसँगै २८ खेलबाट २६ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । योसँगै लिग–२ अन्तर्गत आफ्ना सबै खेल पूरा गरेको स्कटल्यान्ड ५० अंकसहित शीर्षस्थानमा छ । तालिकाको तेस्रो स्थानको नामिबियाको ३४ खेलबाट ३७ अंक छ ।
लिग–२ का शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
प्लेअफमा च्यालेन्ज लिगबाट आएका शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सुपर लिगका शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।