
काठमाडौं । अवैध नदी उत्खननलाई रोक्न खोज्दा हत्या गरिएका धनुषाका दिलीप महतोको परिवार न्याय माग्दै फेरि काठमाडौंमा आएको छ । सोमबार दिलीपकी आमा, बहिनी र उनका आफन्तहरूले काठमाडौंको माइतीघरमा 'श्रदाञ्जली तथा विरोध कार्यक्रम' गरेका छन् ।
२५ पुस २०७६ मा धनुषा जिल्लाको औरही खोलामा अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खननलाई रोक्न खोज्दा दिलीपको टिपरले किचेर हत्या गरिएको थियो । हत्या भएको तीन वर्ष पुगिसक्दा पनि न्याय नपाएको भन्दै दिलीपका आफन्त काठमाडौं पुगेका हुन् ।
दिलीपको हत्या भएको सोमबार ठ्याक्कै तीन वर्ष पुगेको छ । दिलीपको तेस्रो वार्षिकीमा दोस्रोपटक काठमाडौं आएको उनको परिवार र समर्थकहरूले माइतीघरमा श्रद्धाञ्जली दिँदै न्यायको माग गरेका छन् । साथै उनीहरूले दिलीपलाई 'पर्यावरण सहिद' घोषणा गर्न माग गरेका छन् ।
न्याय मागिरहँदा दिलीपकी आमा चन्द्रकलादेवी र उनकी बहिनी लक्ष्मी रोइरहेका थिए । तीन वर्षको अवधिमा कयौँपटक प्रदर्शन, धर्ना, अदालत, प्रशासन धाएपनि न्याय पाउन नसकेको लक्ष्मी बताउँछिन् ।
"जबसम्म मेरो दाइले न्यान पाउँदैन, तबसम्म हामी निरन्तर आन्दोलन गरिरहनेछौँ," उनले भनिन् ।