
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार १३७ विद्यार्थी दीक्षित भएका छन् । ०७८ असार १ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएर ६० औँ ग्रेस लिस्टमा समावेश भएका विद्यार्थीले आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।
दीक्षित भएका विद्यार्थी खुसी देखिन्थे । उनीहरूमध्ये अधिकांश आफ्ना प्रियजनसँग समारोहमा पुगेका थिए । कालो गाउन, स्कार्फ र टोपीसहित सजिएका विद्यार्थीहरू फोटो खिच्नमा व्यस्त देखिन्थे ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाव भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएपनि अहिलेसम्म पुनःनिर्माणका कुनै पनि काम नभएको गुनासो गरे ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी