– सञ्चिता घिमिरे
ललितपुर । जीवनको साढे आठ दशक माटोसँगै कटाएका कालु कुमालेलाई अझै विश्राम लिन मन लागेको छैन । ८५ वर्षीया कुमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित धेरै मूर्ति बनाए । हिजोआज पनि उनी दैनिक मूर्ति बनाइरहेका छन्नुर । मूर्ति बनाउँदा–बनाउँदै मर्ने उनको रहर छ ।
केही समयपहिले मात्रै कालुले छ फिट अग्लो भैरबको मूर्ति बनाएका थिए । अहिले सुतिरहेको गणेश र सतीदेवी बोकको शिवको मूर्ति बनाइरेका छोरा राकेश अवाले बताउन्छन् । उनले भने, “अहिले उहाँ माग गरिएको भन्दा पनि आफ्नो इच्छाअनुसारका मूर्ति बनाइरहनु भएको छ ।”
नेपाल मात्रै नभएर अरू धेरै देशका मठ–मन्दिर र गुम्बामा उनले बनाएको मूर्ति पुगेको छ । ती देशहरुमा पुग्दा आफूले बनाएको मूर्ति देखेर खुशी लाग्ने कालुले बताए । उनले भने, “मन्दिरको पनि माथिल्लो तला वा विशेष ठाउँमा ती मूर्ति राखेको रहेछ ।”
दलाइ लामाका लागिसमेत कालुले मूर्ति बनाइसकेका छन् । लामा सन् १९७६ मा अजिमा बनाउने व्यक्तिको खोजीमा पाटन आएका थिए । त्यहाँका स्थानीयमध्ये धेरैले कालुको नाम लिएपछि लामा कालु भेट्न आइपुगे । कालु भन्छन्, “उहाँले भने जस्तो अजिमा मैले बनाएको थिएँ ।”
कुमाले रिसाएको अनुहार (एङ्ग्री फेस) बनाउनका लागि प्रख्यात छन् । उनले हिन्दू र बौद्ध दुवै धर्मसम्बन्धी भगवान्का मूर्ति बनाएका छन् । नेपालका विभिन्न समयमा हराएका मूर्तिको उनले जस्ताको तस्तै बनाउँदै आएका छन् ।
पाटन बालकुमारी मन्दिरमा रहेको भैरबको मूर्ति, धन्नटोलीमा रहेको बराही मूर्ति, सङ्खमूलमा रहेको राधारुक्मणी मूर्ति, त्यागलमा गणेश र भैरबको मूर्ति, महाबौद्धमा रहेको मूर्ति, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गणसहित १३ देवी मन्दिरका मूर्ति कालुका सिर्जना हुन् ।
मूर्तिकला आफैँले सिक्नुभएका उनले माटोको काम भने बुबाबाट सिकेका हुन् । उनका बुबाले माटोको काम गर्थे र उनले पनि माटोबाट विभिन्न सामग्री बनाउन सिके । उनको परिवारले पुस्तौँदेखि मच्छिन्द्रनाथका लागि माटोका भाँडा बनाउँदै आएको छ । यो परिवारलाई थकु र दक्ष पनि भनिन्छ ।
कात्तिक नाच अन्तर्गतको अष्टमातृका नाचमा मुकुट हेरेर उनले विभिन्न आकृति बनाउन थाले । बिस्तारै उनको रुचि जीवजन्तु र चराचुरुङ्गी बनाउनतिर भयो । उनको सीप देखेर महाबौद्धका एकजना व्यापारीले उनलाई अर्डर दिए । उनका छोरा अवाले भन्छन्, “पहिले बनाएका सामान अरूलाई बाँड्ने गर्नुभएकामा बुबाले त्यसपछि व्यावसायिक रुपमा बनाउन थाल्नुभएको रहेछ ।”
महाबौद्धका ती व्यापारीले विदेशी पर्यटकलाई बिक्री गर्नका लागि मुकुण्डो, बाजा गणलगायत विभिन्न सामग्रीको अर्डर दिन्थे । दुई दशकसम्म उहाँले तीनै व्यापारीको मागअनुसार सामान बनाए ।
सन् १९६४/६५ मा तिब्बतको एउटा समूहले विभिन्न मूर्तिको मर्मतका लागि कालुसम्म आए । मन्दिरका भित्री भागमा रहेका गोप्य देवी–देवताका मूर्तिको मर्मतको जिम्मेवारीले उहाँलाई नयाँ मूर्ति बनाउनसमेत निपूर्ण बनायो । झण्डै १२ वर्ष लगाएर उहाँले तिब्बतबाट ल्याइएका टुटे–फुटेका मूर्ति बनाउए । उनी भन्छन्, “तिब्बतीले टुटेका इष्ट देवताको मूर्ति मर्मत गर्दागर्दै बुबाले मूर्तिकला सिक्नुभएको रहेछ ।” त्यहीँबाट उनले रिसाएको अनुहारको मूर्ति कुद्न सिकेका हुन् ।
नेपालमा धेरै मठ–मन्दिर र गुम्बामा उनले बनाएका मूर्तिहरु छन् । तिब्बत, भुटान हङकङ, थाइल्याण्ड, सिंगापुर, जापान कोरियासम्म उनले बनाएका मूर्ति पुगेका छन् । क्रोध अनुहार र शान्त दुवै अनुहार भएका मूर्ति उनी बनाउँछन् । शिव, काली, भैरब, महाकाल, जोगिनी, सम्बाराह लगायतका मूर्ति उनले बनाइसकेका छन् । उनका पाँच छोरामध्ये दुई जना अहिले मूर्तिकलामा आबद्ध छन् । देश र विदेशमा समेत बाबुका कला फैलिएको देख्दा सन्तान गौरवको महसुश गर्छन् । रासस