site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आमा हुनुको दुःख

– बिनु सुवेदी


अहिले १ कक्षामा भर्ना गर्नुपर्ने बेला भएका छोराछोरीका अभिभावकलाई स्कुल खोज्ने जुन हुटहुटी छ, त्यो स्वाभाविक रूपमा ममा पनि छ । यही हुटहुटीले पोलेपछि म काठमाडौं उपत्यकाका केही स्कुलहरूमा पुगेँ । यसअघि विभिन्न कारणले मेरो मनमा निजी स्कुलबारे फरक धारणा बनेको थियो । ती धारणा ‘भेरिफाई’ गर्न यसपटक मात्रै साइत जु¥यो । सोधपुछ कक्षमा बसेकाहरूलाई छोरीको नाम टिपाएँ । त्यसपछि सबैले एकैखाले प्रश्न गरे, “बुवाको नाम के हो ?”

जहाँ–जहाँ मलाई यो प्रश्न गरियो, सबै ठाउँमा मैले शुरुमै प्रतिप्रश्न गरें, “किन ?”

Dabur Nepal
NIC Asia

उनीहरू सबैजसोले ओठेजवाफ फर्काउँथे, “फर्दर इन्फर्मेसेन र फीको डिटेलबारे कुरा गर्न ।”

मैले फेरि प्रतिप्रश्न गर्थें, “यो सबैको जिम्मेवारीमा आमामात्रै भएका बच्चाको पनि बा खोज्नुहुन्छ ?”

उनीहरू फेरि उस्तै जवाफ फर्काउँथे, “हजुर, त्यो त अनिवार्य छ ।”

जवाफ सुनेर म अत्तालिएँ ।

तीमध्ये एउटा स्कुलले थप छलफल र जानकारीका लागि भन्दै छोरीको बुवाको नाम र सम्पर्क नम्बर माग्यो । मैले भनें, “अभिभावक र आमा खोज्नुहुन्छ भने ममात्रै हुँ । बासँग त छोरी छैने ।”

म पुगेका चारमा चारै स्कुलका रिसेप्सनिस्टहरूको सौहार्दपूर्ण जवाफ थियो, “बुवा–आमाको डिटेल त चाहिन्छ म्याम ।”

उनीहरूले भन्न खोजेको ‘डिटेल’मा बुवा–आमाको कमाइ, फोटो, पेशालगायत थिए ।

मैले भनें, “बुवाको नामबाहेक अरु दिन सक्दिनँ । यस्तोमा भर्ना लिनुहुन्छ भने इन्ट्रान्सको लागि फर्म दिनुस् ।”

मेरो शर्तमा मञ्जुर भएर एउटामात्रै स्कुलले फर्म दियो, म बोकेर घर आएँ । आफ्नै काखमा मात्रै हुर्केकी छोरीलाई आफ्नै नाम दिऊँ भन्ने सम्भवतः मेरो ‘अतिरञ्जित’ स्वार्थ थियो, अहिले पनि छ ।

स्कुलको जवाफबाट रन्थिनिएपछि मैले फेसबुकमा स्टाटस लेखें, “छोरी पाँच वर्ष भई, उसको बा (जन्माउन सहभागी भएको आधारमा) सहित परिवारले हेर्न छोडेको तीन वर्ष भयो । छोरी र मैले अधिकारको दाबी गर्दै हालेको मुद्दा जिल्ला अदालत नेपालगन्जमा डेढ वर्षदेखि अलपत्र छ । (अलपत्र छ भनेको मुद्दा फैसला भइसकेछ, मलाई थाहा थिएन ।) जिन्दगी मेरै हैसियतअनुसार चलेकै छ, सम्भवतः चल्छ । छोरीको १ कक्षा भर्नाका लागि धेरै स्कुल बुझें, बाको नाम, पेशा र कमाइ भर्नाका अनिवार्य शर्त रहेछन् । बाको फोटो टाँस्नैपर्ने रहेछ । जसले पाउनैपर्ने माया त पाउन सकिन, उसलाई हरठाउँमा बाको नामले यातना दिनु जायज हो र ? सम्पूर्ण जिम्मेवारीमा आमामात्रै हुन हुने तर सम्पूर्ण कागजातमा आमामात्रै हुन नहुने किन होला ?”

यति लेखिसकेपछि म फेरि स्कुल बुझ्नतिर लागेँ । एकाध घण्टापछि म फेसबुकमा फर्किएँ । पीडानुभूति गर्नेले पीडा साटे, कतिपयको स्वाभाविक आक्रोश थियो, कतिपय अबको उपायसहित सम्पर्कमा आए । तर, ट्वीटरतिर अचम्म भइसकेछ । मेरो स्टाटस मेरो अनुमतिबिना स्क्रिनसट लिएर सरकार र अधिकारकर्मीलाई मेन्सन गर्दै बहस गर्न भ्याइसकेछन् महिला अधिकारकर्मीहरूले । त्यसरी बहस गर्नेमध्ये केही अधिकारकर्मी तिनै थिए, जसलाई यस्तै सिलसिलामा केही महिनाअघि भेट्न खोज्दा भेटै दिएका थिएनन् । त्यहाँ मेरै विषयमा बहस भइरहेको थियो, मेरै मुद्दा उठाइएको थियो । इस्यु तन्किएर संसार पुगिसकेछ, म भने मूकदर्शक भएर हेरिरहनुबाहेक अर्थोक केही गर्न सकिनँ ।

महिला समानता, नारी अस्तित्व, महिलाका शत्रु पुरुष भन्नेजस्ता कुरा मेरा लागि वाहियात हुन् । तर, ट्वीटरको बहस त त्यतैतिर केन्द्रित रहेछ । मेरो स्वाभाविक प्रश्नलाई अतिरञ्जित गरेर बहस चर्काउनेहरूले एकपटक पनि मलाई सम्पर्क गरी खास कुरो के हो भनेर सोध्न चाहेनन् ।

मेरो प्रश्न नीतिगत थियो, जसलाई सच्याउन राज्यले केही वर्ष खर्चिनुपर्छ होला । कार्यान्वयन गर्न सम्बन्धित निकायहरूले अझै केही वर्ष खर्चिनुपर्छ होला । अनुभूति गर्न आमनागरिकले अझै धेरै वर्ष पर्खिनुपर्छ होला । तर, अधिकारकर्मीहरूलाई आक्षेप लगाउन सधैं हतार हुन्छ । मेरै सन्दर्भमा रातारात दुईथरी ‘अतिवाद’ जन्मिएछन् । यी दुबै म र मेरोजस्तै अनुभव भएकाका लागि सर्वाधिक घातक हो ।

पीडक नम्बर १

धेरै महिला र केही पुरुष ती सबै मसित एकपटक पनि कुरा नगरी मेरा विषयमा आरोप–प्रत्यारोपमा उत्रिए । मेरो प्रश्न एकातिर हुँदाहुँदै मलाई जबर्जस्ती पीडित बनाएर प्रस्तुत गरियो । मेरो स्वाभाविक पीडालाई अस्वाभाविक लेप लगाइयो । म स्वयंलाई पीडित शब्दसित यति धेरै घृणा छ कि म यो शब्द प्रयोगै गर्दिनँ । मजत्तिको सक्षम महिलालाई पीडितको लेप लगाएर उनीहरूले के जिते ? साँचो अर्थले ती सबैलाई म अन्यायमा परेको हुँ भन्ने लागेकै हो भने मसित कुरा गरेर खास कुरो किन बुझेनन् ? मसित बसेर समस्या समाधानको उपाय किन खोजेनन् ? साँच्चिकै आफूहरूलाई न्यायकर्ता भन्ठान्नेले सामाजिक सञ्जालमा अरुको पीडामाथि धावा बोलेको कति उचित हो ? तर, लाजमर्दाे यो छ कि, उनीहरूलाई म नेपालगन्ज बस्छु या काठमाडौं भन्नेसम्म पनि थाहा छैन । र, सामाजिक सञ्जालमा उग्र बहस चलाएर थाकेका उनीहरू सम्भवतः आजसम्म निदाइरहेका होलान् । नत्र ‘तिम्रो सवालमा कसरी अघि बढिरहेकी छ्यौ ?’ भनेर सोध्न आउँथे होला ।

पीडक नम्बर २

धेरै पुरुष केही महिला । मलाई लाग्छ, मान्छे मुटुले चलेको हुन्छ । मलाई यो पनि लाग्छ—अरुको स्वाभाविक पीडामा अस्वाभाविक आरोप लगाउने मान्छेको मुटुमा पत्थरी हुन्छ । यो विज्ञानले होइन, मेरो मनोविज्ञानले पुष्टि गरेको कुरा हो । र, यी अतिवादीहरु सबैको छातीभित्र मुटु होइन, ढुंगा धड्किरहेको छ । नत्र एकजना आमाको पीडा केबल पीडा हुन्छ, अतिरञ्जना हुँदैन ।

यस्तैमा आउनुभो एकजना नाम चलेका डक्टर । उहाँले ब्लग लेख्नुभो । थुप्रै विषयमा असन्तुष्टि पोख्दै ‘आफूले भोगेको अप्ठ्यारो’ लेख्नुभो । ‘आफूले भोगेको अप्ठ्यारो’ आफूलाई मात्रै थाहा हुन्छ, अरुले त्यो तहको ‘अप्ठ्यारो’ बुझ्नै सक्दैन । म उहाँको अप्ठ्यारो बुझ्न सक्दिनँ, उहाँ मेरो सक्नुहुन्न । उहाँले कति सजिलै मेरो अप्ठ्यारोलाई आलोचना गरिदिनुभो । ‘आमाको मुटु’ हुन्छ डक्टरज्यू !

उहाँको समर्थनमा अनेक अनुयायीहरू उत्रिए । व्यवहारमा जस्तै कागजमा पनि आफ्नो मात्रै नाम देख्न पाउँछु होला कि पाउँदिन होला भन्ने मेरो सामान्य प्रश्नमाथि धावा बोल्दै उनीहरूले अनेक टिप्पणी गरे । ‘पीडक नम्बर १’मा पर्नेहरूलाई गजबको जवाफ फर्काएँ भन्ठाने । तर, मेरो सन्दर्भमा गलत तथ्यहरूको हवाला दिँदै लेखिएको ब्लग र डक्सापलगायत उहाँका अनुयायीले गरेको ट्वीटले म मर्माहित भएँ । लेख लेख्न बस्नेले सम्बन्धित व्यक्तिसम्म पुगेर उसको तथ्य जान्नुपर्छ, यो मैले सिकेको लेखनको आधारभूत धर्म हो । औजार चलाउनुभन्दा धेरै विवेक कलम चलाउँदा प्रयोग गर्नुपर्छ । आफ्नोमात्रै अनुभूति लेख्ने हो भने फरक हो ।

र, म

म पत्रकार हुँ । पत्रकारिताको धर्म सत्य र तथ्य हो । पत्रकारिताको यही धर्म मान्दा मैले धेरै ठाउँमा अपमानित हुनु परेको छ, धेरै अवसरबाट बञ्चित हुनुपरेको छ । यसको व्याख्या फेरि कतै गरौँला । अहिलेलाई यसको तात्पर्य यतिमात्रै हो— म सत्य र तथ्यमा विश्वास गर्छु । महिला र पुरुषलाई उनीहरूको लिंगका आधारमा विभेद नगरियोस्— मेरो पहिलो माग हो । हामी सबै (महिला र पुरुष)को लडाइँ एक–अर्काविरुद्ध होइन, केही विचारविरुद्ध हो । केही व्यवस्थाविरुद्ध हो, जसलाई हामीले चिर्नैपर्ने छ । यसमा महिला र पुरुष सँगसँगै हुनुुपर्छ । यो मेरो बुझाइ हो । अति पश्चगमन र अत्यधिक उग्रवादमा मलाई विश्वास छैन । यो लडाइँमा म र मजस्ता धेरै मान्छे अझै धेरै टाढा छौं । तर, मैले गरेको स्वाभाविक नीतिगत सवाललाई जसरी अस्वाभाविक रूपमा उचालियो, यसबाट म मर्माहत छु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro