काठमाडौं । चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण हिस्सा हो ।
यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएको कुराहरू पनि सँगै बताइरहेको छ । यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्नेकुरा पनि देखाउँछ ।
यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला । तर, विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो । हुनतः यो निर्माणका समयमा लाखौँ मजदुरले ज्यान गुमाएको कुरा पनि छ । ती मजदुरलाई यही ग्रेटवालको पर्खालभित्र दबाइएको भन्नेहरू पनि छन् । तर, इतिहास आज ती मजदुरहरूको योगदान सँगसँगै यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको र चीनको आय आर्जनमा पुर्याएको महत्त्वपूर्ण योगदानको लागि सम्झिरहन्छ ।
यो कयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो । तर, आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ । यो पर्खालको एक छेउबाट अर्को छेउमा लगातार हिँड्दाखेरी दुई वर्ष लाग्ने अनुमान गरिन्छ । यो कहाँबाट सुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्नेकुरा भेट्टाउनै मुस्किल छ । जहाँ सबल र हिँड्न लायक संरचना छ, त्यो मात्रै हिँड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ ।
त्योबाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बीचमै हराइएका र मेटिएका ठाउँहरू पनि छन् । यदि ती सबैलाई जोड्ने हो भने यो निकै लामो छ । यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो ? यो एउटा रहस्य पनि हो । र सहजै अनुमान गर्न सकिँदैन ।
यो मानव निर्मित हो । त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुनसक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ । चीनतिर फर्किएर हेर्दा चीनले विगत २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुनसक्छ भन्ने देखाउँछ ।
थप तस्बिरहरू हेर्नोस्–