बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संघर्ष हामी त घरको न घाटको भयौं
KNP nepal
KNP nepal
अक्षर काका
बाह्रखरी - अक्षर काका मंगलबार, कात्तिक २३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
अक्षर काका १६–१७ वर्षको चञ्चले उमेर । धपक्क बलेको जवानी । लक्ष्मी गौतम स्कुल पढ्दै गर्दा माओवादी जनयुद्धले आकार लिँदै थियो । ग्रामीण क्षेत्रका स्कुलहरूमा माओवादीले आफ्नो जरा फिँजाउँदै थियो । कतिपय शिक्षकहरू नै अप्रत्यक्ष रूपमा स्कुलमा माओवादको प्रचार गर्दै थिए भने किशोरबाट युवावयमा प्रवेश गर्दै गरेका स्कुले विद्यार्थीहरू त्यसको जालमा पर्दै थिए ।
माओवादीमा जाने लहर चलिरहेकै बेला लक्ष्मीलाई एउटी सहपाठीले ठट्टैठट्टामा भनिन्, ‘ओइ काली ! माओवादीमा जाने हो ?’
‘माओवादी’ शब्द सुन्नासाथ उनको मनमा बेग्लै तरंग पैदा भयो । केही दिनअघिमात्रै स्कुलमा १५–२० जना छापामारहरू कमिटी बनाउन भन्दै आएका थिए । उनी कमिटीमा त बसेकी थिइनन्, तर तिनले आगो ओकलुँला जसरी धाराप्रवाह भाषण गरेको, परिवर्तन र विकासबारे लामा–लामा बखान गरेको, मीठा–मीठा सपना देखाएकाले कता कता माओवादी त ‘भगवान’ नै पो हुन् र यिनीहरूले देश बदल्छन् कि भन्ने लागिसकेको थियो ।
सिन्धुली भद्रकालीको घरमा केही दुःख थिएन । घरकी जेठी छोरी भएकाले बाबुआमाको बढी नै अपेक्षा थियो उनीप्रति । दुई भाइहरू सानै थिए ।
बाबुआमा सधैं भन्थे– ‘छोरी, दशतिर मन डुलाउने होइन । राम्रोसँग पढ्नु । नपढे त जीवन अन्धकार होला नानी ! हामीले पढ्न नपाउँदा कम्ता दुःख बेहोर्नुपरेन ।’ उनी पनि परिवारको आज्ञा अटेर नगरी पढ्नमै तल्लिन थिइन् ।
यस्तो परिवेशका बीच माओवादीमा लाग्ने कुरै थिएन । त्यसैले प्रस्ताव गर्ने साथीलाई तत्कालै प्रतिक्रिया दिइन्, ‘यस्तो कुरा नगर्, स्कुल छोडेर कोही बन्दुक बोक्न जान्छन् ? पढ्ने बेला हो अहिले, तँ पनि राम्रोसँग पढ् !’
केहीबेर सोचेर साथीले भनिन्, ‘यो बुर्जुवा शिक्षा पढेर के गर्छेस् ? यस्तो शिक्षाले मुलुकमा परिवर्तन आउँदैन, मुलुक बदल्न त जनवादी शिक्षा पढ्नुपर्छ बुझिस् ?’
साथीको यो कुरा भने उनलाई ठिकै लाग्यो । परम्परागत शिक्षा पढेर काम लाग्दैन भन्ने उनलाई पनि नलागेको होइन । साथीको कुराले त्यसमा मलजल गर्यो । विस्तारै माओवादीप्रति उनी सकारात्मक हुँदै गइन् र त्यतै लाग्ने निधो गरिन् । 
तर,  घरमा भन्ने कसरी ? बीचमै पढाइ चटक्कै छाडेर माओवादीमा जान्छु भन्दा परिवारले के भन्लान् ? कस्तो सोच्लान् ? उनको जिउमा काँडा उम्रियो, परिवारलाई भन्ने आँट गरिनन् ।
उता साथीहरू दिनहुँ कर गर्थे– ओइ !  किन बोल्दिनस्, हामीले भूमिगत हुने निधो गरिसक्यौँ, तँ जान्छेस् कि जान्नस् भन् ?’ उनी भने अझै के गरौँ के नगरौँकै दोधारमा थिइन् ।
एकदिन मनदेखि नै अठोट गरिन् र कक्षाका सबै सहपाठीसँग परिवारलाई सुइँको समेत नदिई माओवादी आन्दोलनमै समाहित भइन् । कक्षाका १७–१८ जना युवतीहरू एकसाथ भूमिगत भएका थिए उतिबेला ।
विद्यालय नजिकै एउटा किताब पसल थियो । विद्यालय पोसाकमै रहेकी लक्ष्मीले ती पसलेलाई भनिन्, ‘दाइ, म एक दुई दिनपछि आउँछु होला, यो किताब यहीँ राखिदिनुस् है, मैले किताब यहाँ राखेको कसैलाई जानकारी नदिनु नि !’ पसलेले पनि हुन्छ को शैलीमा मुन्टो हल्लाए । ०५९ सालको कुरा हो यो । 
उनी हिँडेको १२ घण्टापछि घरमा थाहा भयो– छोरी भूमिगत भई । लक्ष्मी स्मरण गर्छिन्, ‘सेना/प्रहरीहरू छापा मार्न बरोबर आइरहन्थे, उनीहरूले सुइँको पाएको भए त त्यतिबेलै मारिने खतरा हुन्थ्यो, त्यसैले कसैलाई थाहा दिइएन ।’ 
बन्दुक बोक्न उनलाई असाध्यै रहर लाग्थ्यो । अझ कम्ब्याट ड्रेस र बुट लगाएर बन्दुक बोकर गाउँ डुल्नु त उनको सपना नै थियो । माओवादी आन्दोलनको हिस्सा भएपछि त्यो पूरा हुन कतिबेर पनि लागेन । 
एक जना कम्पनी कमान्डर थिइन्, ओखलढुंगातिरकी प्रज्ञा भन्ने । सुरुदेखि नै उनी तिनै कमान्डरको सम्पर्कमा रहिन् । माओवादी आन्दोलनमा लागेकै दिनदेखि उनले एसएलआर बोक्ने मौका पाइन् । चलाउन भने उनै कम्पनी कमान्डर र अरु लडाकुहरूले सिकाइदिए ।
बन्दुक बोक्न निकै रहर लागे पनि उनलाई चलाउन निकै गाह्रो भयो । चार दिन चार रातसम्म भोकभोकै जंगलको बाटो हिँड्नुपर्दा बन्दुक फालेर आन्दोलनबाट पछि हटौँ भन्ने नलागेको पनि होइन, तर मनमा थियो रुमानी सपना । सोच्थिन्, ‘आज दुःख गर्न पाए भोलिका दिन सुख आउला नि ! फेरि मैलेमात्रै दुःख पाएको हो र ? लाखौँ जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, तिनीहरूको लागि भए पनि मैले आन्दोलनबाट हात झिक्न हुँदैन ।’
० ० ०
माओवादी आन्दोलनमा लाग्नु आगोको भुंग्रोमा हात हाल्नुसरह थियो । जतिबेलै बम बारुदले पोल्ने । कतिबेला ‘वर्गशत्रु’को फन्दामा परिने हो, सरकारी सुरक्षाकर्मीको तातो गोलीले जीवनको इहलिला समाप्त पारिदिने हो पत्तै हुँदैनथ्यो । कतिबेला सँगै हिँडेको साथी बमबारुदको धुँवामा जीवनको अन्तिम स्वास फेथ्र्यो, कुनै यकिन थिएन । जतिबेलै खुकुरीको धारमा टेकेर हिँड्नुपर्ने !
०५९ देखि ०६२ सम्म उनी विभिन्न युद्धमा सामेल भइन् । तीन वर्षको दौरानमा उनी विशेषगरी सर्लाहीको मलंगवा हमला र मजुवा दोभानमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प हमलामा अग्रमोर्चामा रहिन् । युद्धमा कि त मर्ने हो, कि त मार्ने हो, र पनि उनी दाबी गर्छिन्, ‘मैले आफैं भने मान्छे मारिनँ । हाम्रो लडाइँ तत्कालीन राज्यसत्तासँग थियो, सेना प्रहरीसँग होइन । तर, बाटोमा तगारो बन्न आउनेहरूलाई पन्छाउनु युद्धको धर्म हो निभायौँ ।’ 
माओवादी शान्ति प्रक्रियामा अवतरण नहुञ्जेलसम्म उनलाई लाग्थ्यो– म पराजित भएर घर फर्कन्नँ । हतियारबन्द आन्दोलनबाट माओवादी आन्दोलन किनारा लगाउनुपर्छ । वास्तवमा त्यतिबेला माओवादीको आक्रमण रणनीति ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ थियो । 
उनलाई लागेको थियो– युद्ध उत्कर्षतिर अभिमुख हुँदैछ । अब छिट्टै जितिन्छ ।
तर, बाह्र बुँदे समझदारीपछि मुलुक अर्को प्रक्रियातिर अघि बढ्यो र देशमा युद्धविराम भयो । माओवादी पार्टी शान्ति प्रक्रियामा अवतरित भयो ।
उनले सोचिन्– हाम्रा सपनाहरू केही पूरा भए । मुलुकमा गणतन्त्र आयो, अब हाम्रो दिन फेरिएलान् ।
० ० ०
०६५ सालमा महोत्तरीको रामवृक्ष स्मृति बिग्रेडअन्तर्गत शिविरमै हुँदा उनको ओखलढुंगाका कुलबहादुर तामाङसँग विवाह भयो । दुवैजना युद्धमा होमिएका । युद्ध अवधिभर मरे सँगै मर्ने, बाँचे मुलुक फेर्ने सपना पनि सँगै देखेका । 
उनी स्मरण गर्छिन्– ‘वास्तवमा हाम्रो जीवन नाफाकै थियो र हामीले निधो गर्‍यौँ, अब हामी बिहे गरौँ । सेक्सन कमान्डर थिए कुशल, सँगै थुप्रैपटक एउटै मोर्चामा लडेका । युद्धकालभरि मायापिरती गाँस्नु पार्टी संस्कृति र आचरणविपरित थियो । त्यसो गर्नेलाई उनीहरू आफैँले श्रमशिविरमा जाकेका थिए । गलत काम गर्ने कतिपयलाई ‘सफाया’समेत गरिन्थ्यो उतिबेला ।
शिविरमा आएपछि उनीहरूबीच प्रेम झाँगिने मौका पायो र अन्ततः त्यो सम्बन्ध विवाहमा परिणत भयो ।
० ० ०
०६६ सालमा सेना समायोजनको प्रक्रिया अन्तिम चरणमा पुग्यो । त्यतिबेला लक्ष्मी अयोग्य भनेर रित्तै हात घर फर्काइन् । पति कुलमानले भने स्वैच्छिक अवकासको बाटो रोजे र दुई लाख रुपैयाँ पाए । 
पतिले अलिकति बाटो खर्च पाए पनि उनका लागि माओवादी आन्दोलन अभिशाप भयो । बल, बैंस र ऊर्जा माओवादी आन्दोलनमा समर्पण गरिन् । तर, अपमानित हुँदै अयोग्यको बिल्ला भिरेर रित्तै हात फर्कनुपर्छ भन्ने सायदै सोचेकी थिइन् । भइदियो त्यस्तै । ‘माओवादीमा लागेर ठूलो गल्ती गरिएछ । बरु पढ्न पाएको भए केही हुन्थ्यो कि,’ उनी अहिले पछुताउँछिन् । 
बहिर्गमनमा परेपछि उनीहरूले पार्टी मुख्यालयमा धर्ना कसे । पुसको कठ्यांग्रिँदो मौसमा १५ दिन पार्टी मुख्यालयमा पलेंटी कसेर बसे । पार्टीले केही आश्वासन दियो र आन्दोलन रोक्न भन्यो । उनीहरूले पार्टीको निर्देशन माने ।
भन्छिन्, ‘शान्ति प्रक्रियापछि पार्टीमा यति ठूलो बदलाव आउँछ भन्ने हामीले सोचेका थिएनौं । तर, नेतृत्व क्रमशः फेरिँदै गयो । हामीलाई दिएको आश्वासन केही पूरा भएन । हामी घरको न घाटको भयौँ ।
उता, स्वैच्छिक अवकासपछि पति पनि बेरोजगार भए । सरकारले दिएको पैसा पनि खाँदा बस्दा नै सकियो । पार्टी नेतृत्वले कार्यकर्ता व्यवस्थापनबारे केही नसोचेको भन्दै पति पनि निराश देखिन थाले र भन्न थाले, ‘म बाहिर जान्छु, तिमी घरतिरै बस ।’
मुलुक फेर्ने आन्दोलनमा लागेका पति केही सीप नचलेर बाहिर जान्छु भन्दा उनले रोक्न सकिनन् । रोकून् पनि कसरी, आफैँ अयोग्य बनेर रित्तो हात फर्काइएकी थिइन् ।
एक वर्षको काखे छोरा छोडेर पति दुई वर्षअघि मलेसिया हान्निए । मझेत्रोको सप्कोले आँसु पुछ्दै लक्ष्मीले त्रिभुवन विमानस्थलमा पतिलाई बिदा गरिन् । पति बेलाबखत फोन गर्छन् र भन्छन्, ‘लक्ष्मी, यता कमाइ राम्रो छैन, सुख–दुःख गर्दै गर है ।’ तामाङसँग विवाह गरेको भनेर घरकाले पनि राम्रो गरेनन् । ‘सासु–ससुराको टोकसो सहेर घरमा बस्न सकिनँ,’ उनी पीडा सुनाउँछिन् ।  
पछिल्लो समय आश्वासन पूरा नगरेको भन्दै पार्टी नेतृत्वविरुद्ध आन्दोलनमा छन् बहिर्गमित लडाकुहरू । सोमबार नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुग्दा उनी आन्दोलनको अग्रभागमा थिइन् ।
भन्दै थिइन्– ‘मानिसको सबै कुरा सकिइसक्दा पनि भविष्य बाँकी रहन्छ रे, मेरो होइन, अब छोराको जीवनको लागि जीवन–मरणको लडाइँमा छु ।’
उनीसँगै थुप्रै बहिर्गमित लडाकु पार्टी कार्यालय घेराबन्दी गरिरहेका थिए । उनीहरूले चिसो भुइँमा काखमा नानीहरू च्याप्दै फुको च्युरा चपाएर रात कटाए । 
मंगलबार एकाबिहानै सरकारको समेत नेतृत्व गरिरहेको पार्टी नेतृत्वकै निर्देशनमा तीन ट्रक प्रहरीले धरपकड गर्दै उनीहरूलाई गिरफ्तार गर्यो । सोचें– सत्ता र सडकबीचको फरक नै यही त हो ।
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, कात्तिक २३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्