देश
काठमाडौं । सडक बालबालिकाको क्षेत्रमा काम गर्न भनेर सयौं संघ–संस्था दर्ता भएका छन् । संख्या हेर्ने हो भने सडकमा भएका बालबालिकाभन्दा यो क्षेत्रमा काम गर्ने संस्थाको संख्या बढी देखिन्छ । केन्द्रीय बाल कल्याण समितिका अनुसार काठमाडौं उपत्यकामा करिब २ सय सडक बालबालिका छन् । तर, उनीहरूका लागि काम गर्ने संघ–संस्थाको संख्या भने ५ सय २५ छ । ती मध्ये केही संस्थाहरु सक्रिय रुपले काम गरिरहेका छन् ।
सक्रिय रुपले काम गर्ने संस्थाहरु भने कम छन् । ११ वटा मात्रै सक्रिय रुपमा लागेका छन् ।
काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियान चलाएर सडकमा जीवन बिताइरहेका सबै बालबालिकाको उद्धार गरिएको बाल कल्याण समितिले जनाएको छ । समितिका अनुसार अब काठमाडौंमा सडक बालबालिका छैनन् । गत वैशाखदेखि समितिले सडक बालबालिका उद्धार अभियान चलाएको थियो ।
उद्धार गरिएका बालबालिकालाई पुनस्र्थापित गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थालाई जिम्मा लगाइएको समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । सडक बालबालिकाको उद्धारका लागि १०४ वा १०९८ नम्बरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ ।
सडक बालबालिकालाई आश्रय दिइरहेको संस्था बाल सेवा आश्रमका कार्यक्रम संयोजक अशोक बोगटीका अनुसार आश्रममा ७० जना सडक बालबालिकाले आश्रय लिएका थिए । ती मध्य २० जनाले आश्रय लिइरहेका छन् भने अन्यको पुर्नस्थापन गरिएको छ । संस्थाले बालबालिकालाई परामर्श दिएर पारिवारिक मेलमिलाप गराउने तथा कुलतमा परेकालाई सुधार गृहमा पठाउने काम गरिरहेको छ ।
सडकबाट उद्धार गरेर आश्रममा राखिएका बालकमध्येका एक हुन्, १६ वर्षीय नवीन तामाङ (नाम परिवर्तन) । उनले करिब १० वर्ष सडकमा बिताए । सर्लाही घर बताउने तामाङलाई आफ्नो परिवारको बारेमा केही थाहा छैन । बिदेसिएका बाबु र सौतेनी आमाको नराम्रो व्यवहार सहन नसकेर उनी ५ वर्षको उमेरमा साथीसँग भागेर काठमाडौं आएका थिए । बसको छतमा बसेर काठमाडौं आएको सम्झना उनीसँग अहिले पनि ताजै छ ।
काठमाडौं आएपछि सडकमा बस्नुको विकल्प थिएन । सडकमा बस्दा उनले मागेर, फोहोर फाल्ने ठाउँको दूषित खानेकुरा खाएर अनि प्लास्टिक र कार्टुन बटुलेर बेचेको पैसाले गुजारा चलाए । कति दिन त भोकै पनि सुते । सडकमै बस्दा लागू पदार्थ सेवन गर्न सिके । सानो उमेरमा सडकको बास भएपछि तामाङलाई माया गर्ने र सिकाउने पनि कोही भएन, जसले गर्दा उनी मानसिक रूपले अलि विक्षिप्त पनि भएका छन् । शारीरिक रूपमा पनि कमजोर भएका छन् ।
दुई महिनाअघि केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेर आश्रममा ल्याएपछि भने तामाङको दैनिकी फेरिएको छ । अहिले उनी बाल सेवा आश्रममा आश्रय लिइरहेका छन् । आश्रममा आएपछि कुलतबाट पनि मुक्ति मिलेको छ । सडकमै हुर्किएका उनले वास्तविक जीवनको महत्व बुझेका छन् । कपडा लगाउन, खान अनि राम्रोसँग बोल्न समेत नजानेका उनले कोसँग कसरी बोल्ने, कस्तो कपडा लगाउने अनि के खाने भन्ने कुरा सिकेका छन् ।
आश्रमको सहयोगमा उनी कुकको तालिम लिएर नयाँ जीवनको सुरु गर्ने तयारीमा छन् । आफ्नो आनीबानीमा पनि परिवर्तन भएको बताउँदै उनले अब सडकमा नजाने कसम खाएका छन् ।
१७ वर्षीया सुनिता राई (नाम परिवर्तन)को पीडा पनि कम छैन । अन्तर्जातिय प्रेम विवाह गरेका कारण परिवारले अस्विकार गरेपछि उनीहरू दुवैजना सडकमा आएका हुन् । श्रीमान्सँग उनले ६ महिना सडकमा बिताइन् । सडकमा आउनुअघि उनको गर्भमा ३ महिनाको बच्चा थियो । आफू गर्भवती भएको पनि उनले सडकका साथीहरूबाटै थाहा पाएकी थिइन् । मागेर र प्लास्टिक तथा कार्टुन बेचेर उनीहरूले जसोतसो गुजारा गरिरहेका थिए । त्यही बेला बाल सेवा आश्रमले उनीहरूको उद्धार गरे । आश्रममा आएपछि उनीहरूको चिन्ता हराएको छ । बच्चा जन्माएर राम्रो जागिर गर्ने उनको सोच छ । उनी उसुकी गोल्ड मेडलिस्ट पनि हुन् ।
अर्का सडक बालक जीवन कार्की (नाम परिवर्तन) पनि ८ कक्षा पढ्दै गर्दा बाबुले पिटेपछि घर छोडेर हिँडेका थिए । करिब ३ वर्ष सडकमा बसे । गाँजा, चरेश, गम जे भेटायो, त्यही लतमा लागे । पशुपतिनाथ मन्दिरको घाटमा काम गर्दा पाएको केही पैसाले लागु पदार्थ किनेर खान्थे । सडकमा जीवन बिताइरहेकै बेला उनलाई पनि बाल कल्याण समितिले उद्धार गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३ ०९:१३
प्रतिक्रिया दिनुहोस्