बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पेरिस डाँडामा ‘अन्तिम युद्ध’ अयोग्य थियौँ भने हामीभन्दा ठूलो बन्दुक बोकाएर युद्धमा किन अघि लगाइयो ?
KNP nepal
KNP nepal
अक्षर काका
बाह्रखरी - अक्षर काका सोमबार, कात्तिक २२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । “कमरेडहरू यो अन्तिम र निर्णायक युद्ध हो, महिनौं किन नलागोस् हामीले यो युद्ध जित्नैपर्छ । यो युद्धमा पराजित भयौं भने हामीले मुन्टो उठाउन पाउने छैनौं, सडकमै मरे पनि हुन्छ हामी !,” पछाडि पिठ्युँमा झोला भिरेका एक कमाण्डरले मञ्चमा उभिएर निर्देशन दिए ।
तल पंक्तिवद्ध रहेका करिव तीनसय लडाकुले उनको निर्देशन सुनिरहेका थिए । कमान्डर त्यतिमा रोकिएनन्– “हामी लडाइँ नजिति कुनै हालतमा घर फर्कंदैनौ, आफ्नो अधिकार लिएरै छाड्छौँ ! यो रात हामी फुको दालमोठ च्युरा चपाउनेछौँ र यही चौरमा आरामले सुत्नेछौँ ।”
तल पंक्तिवद्ध उभिएका सबैले एकसाथ मुन्टो हल्लाउँदै उनको निर्देशन स्वीकार गरे ।
यो कुनै युद्धको मोर्चामा खटिन लागेका लडाकुहरूको मार्चपास होइन । यो त शान्ति प्रक्रियापश्चात सेना समायोजनका क्रममा अयोग्य भनेर बहिर्गमित हुन पुगेका पूर्व लडाकुहरूको आन्दोलन स्वरूप हो । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सोमबार देखिएको दृष्य हो यो । 
०६६ सालमा सेना समायोजनको क्रममा अयोग्य भनेर घर फर्काएपछि अलपत्र बनाइएका चार हजार नौ जना लडाकुले अहिले माओवादी केन्द्रको मुख्यालय ‘कब्जा’ गरेर पूर्व सहमति कार्यान्वयनको माग गरिरहेका छन् ।
“हामी मरेसरह भयौँ, हामीले जुन परिवर्तनका लागि लडाइँ लड्यौँ, राज्यको कुरा छोडौँ, जसलाई अभिभावक मानेर युद्ध लड्यौँ, त्यसले नै हामीलाई मसानघाटमा पुर्याएपछि हामी न्याय माग्न कहाँ जाने ? अब हामी अधिकार नलिइ घर फर्कंदैनौँ,” बहिगर्मित पूर्व लडाकु किरनले बाह्रखरीसँग भने ।
सयभन्दा बढी पूर्व लडाकु त स–साना काखे बालकसहित उपस्थित भएका छन् । काखमा रहेका ती बालक च्याँ गरेर रोइदिन्छन् । आमाहरू मझेत्रोले बच्चा ढाक्न खोज्छन् । निर्निमेष चल्ने सिरेटोका अघिल्तिर खास्टो निरीह बन्छ र बच्चाको रुवाइ झनै बाक्लिन थाल्छ । 
युद्धकालकै झल्को दिनेगरी उनीहरूले ट्रयाकसुट पहिरिएका छन् । जुन डिभिजनबाट ‘अयोग्य’ भन्दै लखेटिएको हो हिजोका तिनैसाथीसँग आँसु साटिरहेका देखिन्छन् । उनीहरु भन्छन्–कुन सपनाले युद्धमा होमिएका थियौँ, चिहान मै बिसाउनुपर्यो !
राजन मगर दुःखेसो पोख्छन्, “अचेल पार्टी हेडक्वाटर हाम्रो कुरै नसुन्ने भएको छ । सत्ताले कान टालिएका छन्, सुन्छन् भने सोध्न मन छ, गणतन्त्र प्राप्तीको आन्दोलनको अग्रमोर्चामा हामी नै थियौं, हामीले नै ल्याएको हो यो परिवर्तन, अयोग्यले ल्याएको गणतन्त्र कसरी योग्य भयो प्रचण्डज्यू ?”
उनी बहिगर्मित जनमुक्ति सेना संघर्ष समितिका महासचिवसमेत हुन्  । १४ वर्षको बालसुलभ उमेरमा किताबकापी लत्याउँदै समृद्धिको सपना बोकेर युद्धमा होमिएका ! बत्तीमा पुतली होमिएजसरी एसएलआर बोकेर कम्पनी रक्षाका लागि दत्तचित्त रहेको मात्रै होइन ‘फस्र्ट एसल्ट’ मै रहेर उनी ठूला–ठूला ‘प्रत्याक्रमण’ मा सहभागी पनि भए । ती सबैको जगमा मुलुकमा परिवर्तनको दियालो जाग्यो ।
राजनले स्मरण गरे, “कृष्णभिरमा त झण्डै ज्यान गएन, बालबाल बँचेको हुँ । पाल्पा तानसेनलगायत दर्जन बढी ठाउँमा आक्रमणको पहिलो मोर्चामै बन्दुक बोकेर ठिंग उभिएको छु र लडाइँ पनि जितेको छु ।”
तर, सेना समायोजनको प्रक्रियामा उनी अयोग्य भनेर फर्काइए । उनी थप्छन्, “युद्धमा जितेँ तर पार्टी नेतृत्वसँग हार्नुपर्यो ।”
फर्काइने क्रममा कतिपयले बाटो खर्च भनेर दश हजार पाए । कयौँ त रित्तै हात घर जानुपर्यो । त्यतिबेला उनीहरूले सोचे– रगत पसिना बगाएर पार्टी, जनता र देशका लागि लडाइँ लड्नु अपराध पो भएछ !
मगर अगाडि थप्छन्, “हाम्रो पसिना र सहिदहरुको रगत केवल सत्ताको भर्याङ बनाइयो ।” अहिले जनयुद्ध लडेको माओवादी केन्द्रकै नेतृत्वमा सरकार छ । तर, उनीहरू रोग, भोक र शोकसँग पौठेजोरी खेलिरहेका छन् ।
“हामीलाई केवल प्रयोगको साधन बनाइयो, साम्यवादको सपना पढाएर बन्दुक बोकाएकालाई सडकमा छाडेर नेतृत्व सत्ताको खुड्किलो उक्लियो,” उनी आक्रोस पोख्छन् ।
सानै उमेरमा बन्दुक बोकेर हिँडेकाले घर परिवारले भन्छन्– हिजो तिमीहरूले नै संरक्षण गरेका नेताहरू सरकारमा छन्, उनीहरूलाई गएर भन केही गरिदिन्छन् कि । यता पार्टी नेतृत्वलाई हिजोका लडाकु कुन अवस्थामा छन्, के गर्दैछन्,  कुनै वास्तै छैन । अहिले उनीहरू वास्तवमै घरको न घाटको भएका छन् । भन्छन्, “नेतृत्वले यसरी अलपत्र पार्ला भनेर हामीले सपनामा पनि चिताएका थिएनौँ ।” कुराकानीका क्रममा अधिकांश लडाकुको आँखा रसाए । 
धर्धरी नै रोए उनीहरू ।
“दुःख नपाएको भए यो चिसोमा कठ्यांग्रिएर पार्टी कार्यालय घेर्न आइपुग्नुपर्थ्यो र ! ६ महिनाको काखे नानी च्यापेर आन्दोलनमा होमीएका छन् पूर्वलडाकुहरू,” अर्का आन्दोलनकारी भन्छन् । 
उनीहरूको गुनासो छ– हामीलाई ‘अयोग्य’ भनियो । यसमा हिजो युद्ध लडेको पार्टी केही बोलेन । अयोग्य थियौँ भने, हाम्रो उमेरभन्दा ठूलो बन्दुक बोकाएर युद्धमा किन अघि लगाइयो ?
राजन भन्छन्, “कतिपय लडाकुको शरीरभरी बमबारुदको छर्रा छ । कतिपय अंगभंगको अवस्थामा छन् । गरिबी, अभाव र बेरोजगारीले मर्माहत बन्न पुगेका हामीले कसरी उपचार गर्ने, के नेतृत्वको कुनै दायित्व छैन ।”
सात जना भन्दा बढीले आत्महत्या गरिसके 
बहिर्गमनमा पर्नेबित्तिकै न्यायका लागि उनीहरूले आन्दोलन गरे । आन्दोलनको अग्रभागमा थिइन् जानुका कार्की ‘एसिका’ । ताप्लेजुङकी कार्की अहिले यो संसारमा छैनन् । बाल्यकाल र भर्भराउँदो किशोरावस्थामा काँधको छाला खुइल्याएर बन्दुक बोकेकी उनी अन्ततः अयोग्य भन्दै खेदाइएपछि पीडा सहन नसकेर आत्महत्याको बाटो रोजिन् । त्यस्तै  मोरङका कविराज बोहोरा, मोरङकै रोजी शर्मा लिम्बु,  धनकुटाका प्रेम भण्डारी,  मुगुका विज्ञान बुढाथोकी, मुगुकै सुनील रोकाया, बाँकेका बबिता चौधरीले पनि त्यस्तै बाटो अपनाए ।
“घरको अभाव र समृद्धिको सपना मथिंगलमा बोकेर युद्धमा होमिएको सिपाही रित्तो हात र जीर्ण मन लिएर कसरी घर फर्कन सक्छ, युद्धको पराजय भन्दा ठूलो हो जीवनको पराजय,” राजन सुनाउँछन्,“अयोग्य भनेपछि समाजले हेर्ने नजर नै बेग्लै हुँदो रहेछ, घर परिवार समाजले अपमान गरेपछि र हेयको भावले हेरेपछि उनीहरू आत्महत्याको बाटो रोज्न विवश भएका हुन् ।”
के छ त उनीहरूको माग ?
उनीहरूले निःशर्त रूपमा ‘अयोग्य’ शब्दावली हटाएर गणतन्त्र नेपालको स्थापनार्थ खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मानपत्र दिइनुपर्ने माग राखेका छन् । त्यस्तै राज्यले बहिर्गमित ४ हजार ९ लडाकुलाई दीर्घकालिन सेवा सुविधा दिइनुपर्ने माग उनीहरूको छ ।
यसैगरी सशस्त्र युद्धमा बालबालिका दुरुपयोग, बाल अधिकार हनन्को घटना भएको हुनाले नेपाल सरकार र सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय पाउनुपर्ने, बहिर्गमित घाइते लडाकुको उपचारको प्रबन्ध राज्यले गरिदिनुपर्ने र आन्दोलनको क्रममा झुठो मुद्दा लगाइ जेलमा राखिएका सम्पूर्ण बहिर्गमित लडाकुलाई रिहाइ गरिनुपर्ने माग पनि उनीहरूको छ । 
बहिर्गमित लडाकुहरूको हाल एक सय ५१  सदस्यीय संघर्ष समिति छ ।  उनीहरूले काठमाडौंको पशुपति क्षेत्रमा गत कात्तिक २० र २१ गते राष्ट्रिय भेला आयोजना गरि अन्तिम र निर्णायक आन्दोलन तय गरेका हुन् ।
कुराकानीको बिट मार्नै लाग्दा एक पूर्व लडाकु हस्याङ्ग–फस्याङ्ग गर्दै आइन् र टोली नेतालाई भन्न थालिन्, “कमरेड पार्टी अध्यक्षले सात बजेपछि पार्टी कार्यालय खाली गर्नु भनेर उर्दी लगाएका छन् रे नि, कसो गर्ने होला !”
उनले काखे नानी च्यापेकी तिनलाई जवाफ फर्काए, “पार्टी कार्यालय कसैको बिर्ता होइन, हाम्रो रगत–पसिना हो, नआत्तिनू !”
 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, कात्तिक २२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्