site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भैलोका जगमा चिनेका सिँढीहरू !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ढाँडखोलो तरेर त्यो उकालो उक्लिने बेला सुरु हुने बाटो हिँड्दा  मलाई पहिलो खडकेरीमा ढोगेर हिँड्न मन लाग्छ । त्यहाँ शिवलिंग त छैन तैपनि पाती चढाएर ढोग्छु । खोलो तरेपछि फाटेका दुईटा बाटामध्ये तल्लो तेर्पाए छ अर्को ठाडो । म ठाडै उक्लिन्छु । 
 
सिँडीमा बिच्छाइएका छपनी खल्केको देखे सकेसम्म सिधा पार्न मन लाग्छ । घन छिनोले चकाएर मानौ आफ्नै वलेनीमा बिच्छाइएका ढुंगा जस्तै गरी बनाइएको त्यस बाटामा कसैले भल पसालेको देखे भल तर्काउन मन लाग्छ अनि मनमनै गाली गर्न पनि । 
 
कस्ता बदमास मान्छेहरू ! कम्तीमा आफैँ हिँड्ने बाटामा त भल त नहाल्नु नि !  
 
लाग्छ, यी छपनीहरूसँग, यो बाटोसँग अनि छेउमा बगेको खोलाको बगर सँग मेरो अतृप्त प्रेम छ । बर्खाको बेला घर जाँदा आफैँलाई तर्साउने गरी खोलो मात्तिन्छ । हिउँदमा जाँदा सुक्छ तर बगर जस्ताको तस्तै । हो, त्यही खोलामा कताकति बनेका दहहरू अनि तिनै दहमा पौडेर आँग सेकाउन उत्तानो परेर नाङ्गै सुत्ने छपनीहरू । त्यति बेला कसैले देखे जिस्काउँथे, नदेखे आफैलाई आफैसँग केको लाज मजाले सुतिन्थ्यो ! 
 
बाटो उक्लिँदै गर्दा नसम्झुँ भन्दा पनि उक्लिने बाटोको सिँढीभन्दा अघि भएर आइदिन्छ सम्झना । अनि तिनै सम्झनाहरूले सिँढीहरू आफैँ उक्लिन्छन् र म फाँटमा पुग्छु । 
 
यो बाटो निकै अप्ठेरो हो । मान्छेहरू निकै ओहरदोहर गर्थे । दैनिक घाँस दाउराको भारी बोकेर उक्लिन ओर्लिन चौरास हुन्थ्यो । तैपनि मान्छेहरू दुखै सही, त्यही दुःखमा अभ्यस्त भइसकेका थिए । जाबो बाटो हिँड्ने बटुवालाई त एकछिन त हो यसैगरी उक्लिन्थे, ओर्लिन्थे अनि आफ्नो बाटो पार गर्थे  । 
 
ठाडो बाटो, फाँटको बीचबाट हिलाआली हुँदै आउजाउ गर्दा कम्ता सास्ती थिएन । घाँस दाउराको भारीमात्र होइन बाली उकेर्दा पनि गोडो नअडिने अखेटोमै टेकेर उक्ले ओर्ले मान्छेहरू । दिदीलाई साथे हुन घाँस काट्न जाँदा मै पनि यो बाटोमा धेरैपटक घाँसको डोकोसँग लडेको छु । खुट्टो चिप्लिँदा दाहिने हातको बुढीऔँलामा आँसीको धार परेर बनेको घाउको खत अझै छ । 
 
हरेक पटक यो बाटो उक्लेर घर जाँदा यिनै पुराना कुरा ताजा बनेर आइरहन्छन् । 
घरमुनिको फाँट उक्लिसक्दा गाउँ पूरै देखिन्छ । यो बाटो बनाउन उनीहरूले पनि सहयोग गरे । छेउको ढुंगोमा थचक्क बसेर उनीहरूलाई धन्यवाद दिन मन लाग्छ । 
 
हाम्रै घरको पिँढीमा बसेर यो बाटोमा सिँढी चिन्ने निधो भएको हो । निर्णय त भयो तर पैसो जुटाउने कसरी भन्ने प्रश्न मुख्य थियो । 
प्रश्नसँगै उत्तर पनि आउँदो र'छ । जनमुखी सामुदायिक संस्थाको निर्णय पुस्तिकामा भैलो खेलेर जम्मा गरेको पैसाले यो बाटो बनाउने निर्णय गरियो । 
 
हुन त, तिहारको बेला भैलो प्रत्येक वर्ष कोही पार्टीको नाममा खेल्थे । कोही क्लवको नाममा खेल्थे । तर भैलोमा उठेको पैसोबाट हिउँद लागेपछि त्यही फाँटको बीचमा खसी ढालेर वनभोज खान्थे । अनि गाउँलेले भन्थे - खसी खान भैलो खेल्नेलाई अर्को साल दक्षिणा दिइन्न । तर, वर्ष दिनपछि त्यो बिर्सिइन्थो । उनीहरू त्यसैगरी भैलो खेल्थे । दिनेले पनि दिन्थे अनि फेरि हिउँदमा फाँटमा अर्को खसी ढल्थ्यो । 
 
समूहबाट भैलो खेल्ने निर्णय भएको भोलिपल्टैबाट 'रिहर्सल' सुरु भयो । 
यो टोली कुनै पार्टीको पनि थिएन र कुनै क्लबको पनि । अनि भैलोमा उठेको पैसोले के गर्ने भन्ने दरिलो उत्तर थियो । त्यसैले रिहर्सलमा जनमुखी समूहका सबैको उत्तिकै सक्रियता रह्यो । आमा, भाउजु, दिदी, भाइ, बैनी सबै सामेल भए । दिनभर काम अनि साँझ परेबाट मध्यरातसम्म भैलो रिहर्सल । 
 
धेरै गीत आफैँले लेखेका थिए । नाच्नेगाउँने र सिकाउने त्यही समूहभित्रै थिए ।
गीतमा कतै परदेशबाट आउन नपाएका दाजुको पीडा थियो त कतै दाजु नआएको वेदनामा तिहार र मखमलीले चेलीलाई गिज्याएको भाव । अनि, कतै जुवा तास नखेल्न अनुरोध गरिएका भाका थिए । 
 
लक्ष्मी पूजाको दिनदेखि भैलो सुरु भयो । चाडको बेला घरमा गर्नुपर्ने सबै काम आफैँ व्यवस्थापन गरेर समूहका सबै आमा, भाउजु, दिदी र दाजुभाइ भैलोमा सामेल भयौँ । भैलोमा उठेको पैसाले के गर्छौ भन्ने प्रश्न कसैले नसोधुन् भनेर हामीले जैदी- ७, बाओको ढाँड खोलादेखि शारदा प्राविसम्मको बाटो बनाउने जानकारी गीतका टुक्कामा पनि जोडेका थियौँ भने भट्ट्याउँदा पनि हामी कुरा खुलाएर भट्ट्याउँथ्यौ । 
 
यति गर्दा पनि कतिले पत्याउन्नथे र भन्थे यिनीहरूको पनि उही खसी खाने बहाना हो । कतिले उडाउँथे पनि । भैलोमा कति पैसा उठ्ला र त्यत्रो बाटो बनाइएला ? 
 
जस्ले जे भने पनि त्यो भैलो खेल्नुको मूल लक्ष्य थियो - बाटो बनाउनु । सबैका लागि त्यो उकालोओरालो गर्न सजिलो बनाउनु । अनि अर्को सन्देश पनि दिनु थियो - वर्षेनी खेल्ने भैले टोलीले कम्तीमा एउटा सामाजिक काम गरुन् ! 
 
भैलोमा कतिले सय दिए कतिले पाँच सय दिए । कतिले तीस, बीस, पचास दिए । कतिले त हजार पनि दिए । हजार आशा गरेको ठाँउमा पचास पनि दिए । सय, पचास आशा गरेको ठाँउमा पाँच सय पनि दिए । जेहोस् कतिले आफनो गच्छेअनुसार दिए, कतिले इच्छाअनुसार दिए ।
 
चौर, बाँओ अनि धुल्लुको केही भागमा भैलो खेल्दा पच्चीस हजार जम्मा भयो । यो धेरै पनि थिएन र थोरै पनि थिएन । 
 
यो बाटोको जग त्यही पच्चीस हजार हो । बाटो उक्लिँदाओर्लिँदा लाग्छ यो बाटोका छपनीहरूले देउसीरे भनिरहेछन् ।  कुनै सरकारी योजना हुन्थ्यो भने यही बाटोमा यत्ति कामको लागि अहिले पच्चीस लाख खर्च र काम चाहिँ पच्चीस हजारको हुन्थ्यो होला ।
 
त्यही हिउदमा काम सुरु गरियो । जैदीको सात र आठ नम्बर वडाका सबैलाई एक एक दिन जनश्रमदान बोलाइयो । आए, सबै । कम्तीमा बाटो सुरु भयो । 
 
बाटोमा सिँडी बनाउन जान्नेहरूको साथमा उनीहरूको सहयोगीका रूपमा संस्थाको तर्फबाट हामी चारपाँच जना दैनिक भइरहन्थ्यौँ भने संस्थाका सबैको सक्रियता उत्तिकै थियो । करिब दुर्इ महिना लगातार काम भयो । मैलै चालीस दिनभन्दा बढी बिताएको छु यो बाटोमा । 
 
त्यही ढाँडखोलाले पछारेका ठूला ढुंगामा छिनो हानेर, हराउलान् कि राति भनेर चिनो लगाएर भोलिपल्ट पिठ्युँमा बोकेका छपनी हुन् यस बाटाका सिँढी । बाटो सम्पन्न भइसकेपछि धेरैले भने - जनमुखी सामुदायिक संस्थाले नमुना काम गर्यो । भैलोमा पाँच सयको आशा गर्ने ठाउँमा पचास दिनेहरूले पछि बोलाएर हजार दिए । गाविसले पाँच हजार दियो । 
 
त्यही वर्ष फागुन एक गते गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक पवित्रा पौडेलबाट बाटो उद्घाटन गरियो । गाउँले सबै जम्मा भए । सबैले भने यसरी गरे के हुन्न र ? त्यो अप्ठेरो बाटामा सिँढी वन्दा त्यहाँका सबैलार्इ गाउँमै सडक आएजस्तो लागेको थियो । 
 
आजकल खड्किन्छ यो बाटोमा एउटा शिलालेख राख्नुपर्ने र'छ भन्ने । कम्तीमा यो बाटो कस्ले बनायो, कहिले बनायो भन्ने त थाहा पाउँथे बटुवाले । अनि पो धन्यवाद पनि दिन सक्थे होलान् त । 
 
प्रत्येक वर्ष तिहार आउँदा खेलिने भैलोमा यसरी नै सबैको भलाइका काम मिसिने हो भने तिहारले हामीले मान्दै आएको धार्मिक सांस्कृतिक पक्ष बलियो बनाउँदै विकासको बाटो पनि त देखाउँदो रैछ ।  
मोहराज शर्मा
 
जैदी ७,बाग्लुङ
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७३  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC