site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अँध्यारोका जूनकीरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
आँखाबिना यो संसार कस्तो देखिन्छ होला ?
चारैतिर चुक घोप्ट्याएको जस्तो अन्धकार !
जन्मिएको दुई वर्षमै आँखाको ज्योति पूर्ण रूपमा गुमाएका कृष्णभक्त राईको बाह्य आँखाले संसार देख्नै पाएन । उनले जान्ने र बुझ्ने भएपछि आँखा खोल्दा चारैतिर अँध्यारोमात्रै थियो । 
जति उमेर बढ्दै गयो, उति अँध्यारो र निराशा सघन हुँदै गयो । सोच्थे– अब मेरो जीवन यस्तै दहमा बित्छ होला !
होइन रहेछ । जीवनमा अँध्यारो रात आइपर्‍यो भनेर अताल्लिनु हुँदोरहनेछ, बाटो देखाउने जूनकीरीहरू हुँदारहेछन् । उनको जीवनमा पनि त्यस्ता जूनकीरी आए । उनीभित्रको संगीत आत्माले उनलाई जीवनको उज्यालो गन्तव्यतिर निर्निमेष धकेलिरह्यो ।
आँखाको ज्योति गुमेर संसारको झिलिमिली देख्न वर्जित भए पनि आफ्नो जीवनलाई प्रकाशवान तुल्याउन सकिन्छ भन्ने सजीव उदाहरण हुन् उनी । उनी आफूमात्रै एक्लो बाँचेका छैनन्, अरु थुप्रै निराशहरूमा जीजिविषा छरिदिएका छन् ।
० ० ०
०२९ सालमा धनकुटा आहाले–८ मा उनको जन्म भएको हो । उनी दुई वर्षको हुँदा गाउँमा महामारी चल्यो– सबैका आँखामा कचेरा पर्न थाल्यो ! कसैकसैले त्यसलाई आँखा पाक्ने रोगसमेत भने ।
तीन गाउँसम्मका मानिसहरू त्यसबाट आक्रान्त भए । कृष्णभक्तको परिवार पनि त्यसबाट अछुतो रहेन । सामान्य ओखतीमूलो गर्दा अरुको आँखा पाक्न निको भयो तर कृष्णभक्तको भएन, पाकेर दुवै आँखाका नानी झरे ।
सानो हुँदा परिवारलाई उतिसाह्रो ख्याल भएन । जब हिँड्न सक्ने भए, कृष्णभक्त छामछाम छुमछुम पो गर्न थाले ! त्यसपछि परिवारलाई औधि चिन्ता पर्‍यो– ला ! कान्छाले त आँखा देख्दैन जस्तो छ ।
पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्ये उनी कान्छा थिए ।
दुःखैदुःखमा हुर्किएको परिवार ! बिहान खाए, बेलुका के खाऊँ, बेलुका खाए, भोलि के गरी चुल्हो जलाऊँको अवस्था ! उपचार गर्न सक्ने अवस्था पनि रहेन !
अरु काममा जान्थे, उनी घरमै टोल्हाएर बस्न थाले । रेडियोमा मीठा–मीठा गीतहरू बज्थे, त्यही सुनेर उनी दिन कटाउन थाले । भन्छन्– उतीबेला मेरो साथी भन्नु नै रेडियो बनेको थियो र कुरा पनि त्यही रेडियोसँग गर्थें ।
रेडियोका गीत सुनेर भित्रभित्रै कल्पिन्थे– यसैगरी गीत गाउन पाए, आहा ! रेडियोमा बजेका बाँसुरीको धुन सुनेर उनलाई पनि लाग्न थाल्यो– अब बाँसुरी पनि बजाउन सिक्नुपर्‍यो ।
बाँसुरी बजाउन लालायित हुन थालेपछि सुरु सुरुमा उनलाई दाजुहरूले बाँस ल्याएर मुरली बाँसुरी बनाइदिए । पछि उनी आफैँ बनाउन थाले । उनमा संगीतप्रतिको मोह यसरी जागृत भयो कि उनले बाँसुरी मात्र होइन, मादलसमेत बजाउने र आफैँ बनाउनेसम्म गर्न थाले ।
उनले बजाएका वाद्यवादनको धुन सुनेर मानिसहरू मन्त्रमुग्ध हुन्थे र भन्थे रे– आँखा नदेखे पनि कति मीठो गीत गाउँछ !
गन्धर्वहरू गीत गाउँदै मानो मुट्ठी बटुल्न गाउँ–गाउँ चहार्थे । त्यसैक्रममा ‘गाइने’हरू उनको गाउँमा पनि पुगेका थिए । भोजपुर जरायोटारतिरका मात्रै होइन बाग्लुङ, पोखराबाट पनि गन्धर्वहरू गीत गाउँदै पूर्व–पश्चिम पुग्थे । 
उनीहरूले सारंगी रेटेको र गीत गाएको सुनेर कृष्णभक्तले अनुनय विनय गरेर उनीहरूसँग सारंगी मागेर राखेका थिए । उनी सारंगीमा गन्धर्वहरूले गाएकै गीत गाएर गाउँलेको गहभरि आँसु पारिदिन्थे ।
० ० ०
उनी ०४४ सालमा धरान झरे । संगीतको भोकसँगै उनमा शिक्षाको भोक पनि जाग्यो । गाउँमै पढ्न रहर नभएको होइन तर त्यो पूरा हुन सकेन । कारण थियो– गाउँमा दृष्टिविहीनहरूले पढ्न विद्यालय नै थिएन ।
पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा उनी कक्षा एकमा भर्ना भएर अक्षर आरम्भ गरे ।
निकै ढिलो विद्यालय भर्ना भएका थिए उनी । १२ वर्षको उमेरबाट मात्रै उनले कखरा सिक्न थालेका हुन् ।
घरमा राखे यसको जीवन बर्बाद हुन्छ । बाहिरी आँखा त ठप्प भइहाल्यो, नपढाए त भित्री आँखामा पनि अन्धकार छाउँछ भनेर दाजुहरूले नै विद्यालय पत्ता लगाएर त्यहाँ भर्ना गरिदिएका थिए उनलाई । 
पढ्न थालेपछि उनको जीवनमा उज्याला किरणहरू क्रमशः देखा पर्न थाले ।
“विद्यालय जान थालेपछि ज्ञानको दायरा पनि फराकिलो हुन थाल्यो साथै गीत संगीतको तिर्सना पनि अझै बढ्न थाल्यो । बेलाबखत विद्यालयमा हुने कार्यक्रमहरूमा भाग लिन थालेँ,” उनी फिस्स मुस्कुराए । 
जीवनमा अर्को बज्रपात
०४२ सालमा बाबुको निधन भइसकेको थियो भने ०४४ सालमा आमाको पनि देहावशान भयो ।
“आँखाको ज्योति सदाका लागि गुमेको थाहा पाउँदा त्यति दुःखी भएको थिइनँ, आफ्नो अभिभावक गुमाउँदा मलाई त्यति चोट पर्‍यो,” उनको अनुहारमा अन्धकार छायो ।
बाबुआमाकै निधन भएपछि जीवनको ओत छहारी नै गुमेको भान भयो रे उनलाई ! सामान्य रोगको उपचार गराउन नसक्दा आमाबाबु दुवैको निधन हुन पुग्यो । 
ज्ञान चक्षुमा कक्षा सातसम्म पढेपछि उनले धरान छाड्नुपर्‍यो । कारण थियो– उनले पढेको विद्यालयमा कक्षा ७ सम्म मात्रै पढाइ हुन्थ्यो । उनीहरूले प्रवेशिकासम्म पढाइ हुनुपर्छ भन्ने आवाज नउठाएका होइनन् तर त्यो अवस्था नबनेपछि उनी झोला बोकेर धनकुटा नै उक्लिनुपर्‍यो ।
गाउँ पुगेपछि उनले पढाइलाई निरन्तरता दिन नखोजेका होइनन् । सबलांगले पढ्ने विद्यालयमा गए र अनुरोध पनि गरे– म जसरी पनि पढ्छु, किताब नभए सुनेर भए पनि बस्छु । केही समय त पढे तर पाठ्यपुस्तक नभएकाले पढ्ने रहर त्यसै ओइलाएर गयो उनको ।
उनी सुनाउँछन्, “संसार हेर्न नपाउनु दुःखद् अवस्था त हुँदै हो तर त्यो भन्दा ठूलो दुःख थियो समाजको हेला हाँसो ! माया गर्ने र प्रेरणा दिने त मानिसहरू नै नभेटिने । त्यस्तो बेला मन भुलाउने एउटै मात्र माध्यम बन्थ्यो– सारंगी बजाउने र रेडियो सुन्ने ।”
दृष्टिविहीनहरूलाई सहयोग र हौसला दिनेभन्दा पनि विचराको पात्र बनाउँदा उनलाई निकै दुःख लाग्थ्यो । अवसर पाए भने विकलांगले पनि सवलांगसरह नै जीवन यापन गर्न सक्छन् र आफ्नो चाहनाअनुरूप अघि बढ्न सक्छन् भन्ने विचारले उनलाई अघि बढ्न घर गरिरहन्थ्यो ।
न कोही सहरा, न कोही सहयोगी ! त्यसैले उनलाई गाउँमात्रै बस्न मन लागेन र काठमाडौँ आए । ०४८–५० सालमा उनी काठमाडौँ आएका हुन् । तर, काठमाडौँमा पनि कहाँ सजिलो थियो र ! 
काठमाडौंमा झनै दुःख भएपछि उनी गाउँ नै फर्कन्थे । 
० ० ० 
०४७ सालमा कार्यक्रमको सिलसिलामा इलाम पुगेका थिए । उनको जीवनमा नसोचेको घटना भयो ।
कार्यक्रम सकेर घर फर्किएको केही दिनमै उनलाई एउटी अपरिचित किशोरीको चिठी आयो । आशा राईको नामबाट भावपूर्ण सम्बोधन गरिएको ‘प्रेमिल पत्र’को अन्तिममा लेखिएको थियो– “प्रिय कृष्ण ! म तिमीबिना अपूरो र अधुरो छु, डोली लिएर कहिले आउँछौ लिन, म तिमीसँग जीवन बिताउन राजी छु ।”
कार्यक्रममा ती किशोरीको सामान्य कुराकानी मात्रै भएको थियो । 
पत्र पढ्दा उनलाई हाँसो पनि उठ्यो र मन उसैगरी तरंगित पनि भयो । त्यसबेलासम्म उनले विवाहबारे कुनै योजना बनाएका थिएनन् । बरु उनले सोचेका थिए– म जस्तो दृष्टिविहीनसँग कसले जीवन बिताउँछ होला र ? दुःखको दहमा हाम फाल्न कोही किन तयार हुन्छ र ? त्यसैलै मैले राम्रो बजाउन र मीठो गाउन जान्नुपर्छ ।
उनले त्यो पत्र तीन–चार जनालाई पढ्न लगाए । सबैले उही कुरा सुनाएपछि किशोरीप्रति माया अंकुरण त भयो तर मन मान्न तयारचाहिँ भइहालेन । पत्याउने पनि कसरी ? पत्रमा एउटी सवलांग किशोरीले जीवन बिताउने प्रण गरेकी थिइन् ।
उनले उस्तै ठट्यौली जवाफ पठाए, “आउँछु नि प्यारी ! डोलीमात्रै होइन, घुम्टो नै लिएर बरु तिमीचाहिँ तयार भइराख है ।”
उनले जति मजाक गरेर पत्र पठाउँथे, उताबाट उस्तै गहकिलो र संवेदनायुक्त जवाफ आउँथ्यो ।
कृष्णभक्तले ख्याल–ख्याल सोचे पनि ती युवतीले जीवन बिताउने अठोट गरिसकेकी रहिछन् । नभन्दै ०५३ सालमा वैशाखमा उनीहरूको विवाह भयो ।
जसले मलाई चिनायो 
०५५–५६ सालतिरको कुरा हो, उनी नारायण रायामाझीको रिमा डिजिटल रेकर्डिङमा काम गर्थे ।
स्टुडियोमा एकदिन उनी हार्मोनियम बजाएर ‘नमुछे आमा दहीमा टीका...’ गाउँदै थिए । रायमाझी बाहिर बसेर ध्यानपूर्वक सुन्दै रहेछन् ।
भित्र आएर रायमाझीले उनलाई भने, “तिमीले निकै मीठो गायौ, पूर्वको भएर पनि पश्चिमको गीत कति मीठोसँग गाएको ? यसलाई तिम्रै आवाजमा पुनः रेकर्ड गरौँ ।”
वास्तवमा त्यो गीत नारायण रायमाझीले अगाडि नै रेकर्ड गराइसकेका थिए र पश्चिमतिर चलिसकेको थियो ।
रायमाझीको त्यो कुरा सुनेपछि खुसीले पुलकित हुँदै कृष्णभक्तले गीत रेकर्ड गराए । अघिल्लो पटक रेकर्ड गर्दा स्थानीय लोकबाजा प्रयोग गरिएको थियो, पछिल्लो पटक अलग्गै बाजागाजा प्रयोग गरियो । पूर्वतिर पनि असाध्यै चल्यो त्यो गीत । वास्तवमा त्यो गीतले नै हो कृष्णभक्तलाई चिनाएको । 
० ० ० 
०५८ साल तिरको कुरा हो । कृष्णभक्तलाई लोक गायक विमल डाँगीले अनुरोध गरे, “एउटा गीत छ, गाउनुहुन्छ ?”
शब्द, संगीत सुन्दा उनलाई मन छोयो । त्यसबेला उनको आफ्नै स्टुडियो पनि थियो । स्टुडियोमै पुगेर डाँगीले उनलाई गीत गाउन अनुरोध गरेका थिए ।
उनले रेकर्ड गराए ‘हाम्रो माया चर्किएको सिसासरी नफुटोस् ।’ त्यो गीतले पनि नसोचेकै सफलता हात पा¥यो । भन्छन्, “दाङतिर यो गीत निकै चल्यो । सपनाश्रीले पनि गाउनु भएको छ, उहाँसँग सँगै गीत गाउनु मेरो अहोभाग्य पनि हो ।”
‘नमुछे आमा दहीमा टीका, नराखे जमरा’, ‘हाम्रो माया चर्किएको सिसासरि नफुटोस्’, ‘उनको जीवन मेरो कथा नलेखेकै राम्रो’, ‘अब त साँझ प¥यो पिउन पाए हुन्थ्यो’ लगायत उनले अहिलेसम्म करिब ७ सय गीत गाएका छन् भने २०० जतिमा संगीत भरेका छन् । त्यसमध्ये कति चलेका छन्, कति चल्न सकेनन् । भन्छन्, “गीत त गाएँ तर शारीरिक अशक्तताका कारण प्रमोसन गर्न सकिनँ, आफूले खोजेको बेला माध्यम नभेटिने, उनीहरूले खोजेको बेला आफू जान नसकिने ।”
जीवनयात्रा (०५३), आकांक्षा, सुस्केरालगायतका एकल एल्बम निकालिसकेका कृष्णभक्त बाँसुरी, हार्मोनियम, गितार, तबला, सारंगीलगायतका अधिकांश बाजा बजाउन उत्तिकै पारंगत छन् । दृष्टि नभएकाले हिँड्डुल गर्न असमर्थ हुँदा उनले संगीतको औपचारिक शिक्षा–दीक्षा लिन सकेका छैनन् । तथापि उनी नेपाली सांगीतिक उद्योगमा बहुमुखी प्रतिभाको रूपमा विम्बित हुन सफल भएका छन् ।
नेपाली संगीतको क्षेत्रको अविराम अघि बढिरहेका कृष्णभक्तको एउटै गुनासो छ– विकलांगलाई पनि सवलांगले प्रतिस्पर्धीजस्तो व्यवहार गर्न थाले ।
उनी प्रश्न गर्छन्, “सधैँ अरुको सहारामा हिँडडुल गर्नुपर्ने दृष्टिविहीनले दृष्टियुक्तसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?”
पछिल्लो समय उनी गीत–संगीतमा भन्दा ज्यादा वाद्यवादनमा सक्रिय छन् । त्यसो त उनी एरेन्ज र कम्पोज पनि गर्छन् । भन्छन्, “संगीत अरुको पेसा होला तर मेरो बाध्यता हो । अरु हलो जोतेर पनि खान सक्छन् । गीत गाइनँ, बाजागाजा बजाइनँ भने मैले के गरेर मुखमा माड लगाउनू ?”
उनी स्वदेशमा मात्र होइन, सांगीतिक प्रस्तुतिका लागि विदेशसमेत पुगेका छन् ।
जाँदाजाँदै उनले भने, “सांगीतिक क्षेत्रमा बाटो देखाउने धेरै छन् तर राजेशपायल राईले हातै समातेर हिँडाइरहनुभएको छ, उहाँको सहयोगमा विभिन्न देश पुगेर प्रस्तुति देखाएको छु ।”
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC