site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झारफुक, डाक्टर र भगवान
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
‘‘नमस्कार आमा ! के समस्या लिएर आउनुभएको?’’
हातको निलो डाम देखाउँदै ‘‘जान्नेले भनेको बोक्सीले टोकेको रे बाबु ! दुईवटा भाले चडाइसकेँ अझै निको भा’छैन ।’’ 
‘‘हेर्नुस् आमा बोक्सी भन्ने हुँदैन, रगतको अथवा रक्त नलीको कुनै रोग हुन सक्छ । तपाईले कुनै औषधि खानुभएको छ ?"
"छैन बाबु केही खाएको छैन ।" 
"रगत जाच्नु पर्छ आमा ।"
"हस बाबु त्यसो भए जाच्नुस् मेरो रगत ।"
एक घण्टापछि : "आमा रिपोर्ट आयो । तपाईलाई बधाई छ, रोग केही पनि देखिएन । सायद तपाईलाई थाहा नपाउने गरी चोट लागेको हुनुपर्छ । गाउँघरतिर मेलापात गर्दा वा सुत्ने बेलामा हात कतै ठोकिएको हुनुपर्छ ।"
"खै बाबु ! त्यस्तो त केही थाहा भएन ।"
"दुईतीन सातापछि फेरि आउनुहोला । त्यस बेलासम्म निलो डाम नहराएमा वा बढेमा थप जाँच गर्न ठूलो अस्पताल जानुपर्छ । जानुअघि तपाईलाई केही भन्नुछ आमा ?" 
"बाबु ! किन किन मलाई त बोक्सीमै शंका छ ।" 
मैले काम गर्ने अस्पताल नजिकै झारफुक गर्ने (जान्ने) एक जना महिला बस्छिन् । बिहानदेखि साँझसम्म उनीकहाँ ठूलै भिड लाग्छ । जस्तो बिरामी गए पनि निधारमा खरानी रंगको टीका र कम्मरमा बुटी लगाइदिने रै'छिन् । अचम्म त के भने, मेरै अस्पतालमा भर्ना  भएका बिरामी पनि सुरक्षा गार्डको आँखा छलेर सुटुक्क उनीकहाँ जाँदा रै'छन । साँझ राउन्डमा जाँदा धेरैको निधारमा उनै जान्नेको टीका देखिन्थ्यो । 
मैले भने, "तपाईहरू झारफुकका लागि बाहिर जानुभएको रहेछ । अस्पतालका कर्मचारी कसैलाई थाहा नै नदिई यसरी जानु हुदैन । हेर्नुहोस्, तपाईहरूको झारफुकप्रतिको विश्वासलाई हामी विरोध गर्दैनौ तर अस्पतालमा भर्ना भएको अवस्थामा विनाजानकारी कतै नहिँड्नुहोला ।" मैले कौतुहलवश सोधेँ, "जान्नेले के भन्नुभयो त ?" 
निमोनिया भएको बिरामीकी आमाले भनिन् “नाग लागेको छ रे”। मलाई हाँसो लाग्यो तर हाँसिन । उनीहरुको जान्नेप्रतिको विश्वासलाई खितित्त हाँसेर उडाउन चाहिन । मैले सोचेँ, अशिक्षा र अन्धविश्वासले गाँजिएको समाजको दोष हो यो, उनीहरूको होइन । 
स्वास्थ्यसम्बन्धी केही अध्ययनै नगरेका, रोगको कखग थाहा नभएकालाई जान्ने भनिन्छ। झारफुक गर्नेको भरपर्दा धेरै बिरामीको अकाल मृत्यु भएकोछ । झाडापखाला लागेका बिरामीलाई "पानी र जीवनजल नखानु यसले झन् पखाला बढ्छ" भन्दा रै'छन् । निमोनियाका बिरामीलाई नाग लागेको भन्दा रै'छन् । अनि मानसिक रोगीलाई "भूतप्रेत लाग्यो, देवी चढ्यो पूजा गर्नुपर्छ ठीक हुन्छ" भन्दा रै'छन् । प्रेसर बढेर बेहोश हुँदा "पिचासले ढालेको म पिचास भगाउँछु" भनेर ढ्याङ्गरो ठोक्दा रै'छन् । 
धेरै ठाउँमा, खासगरी गाउँघरतिर रोगले सिकिस्त पारेपछि मात्र अस्पताल जाने चलन छ ।
एक जना पेट दुखेको बिरामीलाई झारफुक गर्नेले ३ दिनसम्म घरमा फुकेर राखेछ । चौथो दिनमा समेत बीसको उन्नाइस नभएपछि बिरामीलाई अस्पताल पुर्‍याइयो । अस्पतालमा परीक्षण गरेपछि एपेन्डिक्स फुटेर पेटमा पिप जमेको पाइयो । तुरुन्त अप्रेसन नगरे यस्तो बिरामीको ज्यान जान सक्छ । ग्यास्ट्रिकलाई गाउँघरमा गानोगोला पनि भनिदो रै'छ। पहिले झारफुक गर्ने, निको नभए गानोगोला मिच्ने भनेर पेट रगड्ने गर्दा रै'छन ।
पेट दुखेर आएका एक जना दुब्लोपातलो बिरामीलाई मैले इमर्जेन्सीमा जाँच गरेको थिए । उनको पेट फुलेको र जता थिचे पनि दुख्ने थियो । उनलाई पनि गानोगोला भनेर पेट मिचिएको रहेछ ।
मैले तुरुन्तै बुझिहाले, पेट बेस्सरी माड्दा आन्द्रा ढाडको हड्ढीमा रगडियो र आन्द्रामा प्वाल पर्‍यो । यस्तो अवस्थामा पनि तुरुन्तै अप्रेसन नगरे बिरामीको ज्यान जानसक्छ । 
यी त भए देखिएका घटना । यस्ता घटना समाजमा कति लुकेका होलान् ?, कतिले अकालमा ज्यान गुमाएका होलान् ? कतिपय बिरामी झारफुकमा विश्वास गर्न बाध्य पनि छन् । घरदेखि स्वास्थ्य केन्द्र पुग्नै १–२ दिन लाग्छ । स्वास्थ्य केन्द्र तथा अस्पताल पुग्न धेरै समय र खर्च लाग्छ । खासगरी पहाडी र हिमाली भेगका जनता आधुनिक स्वास्थ्य सेवाबाट धेरै टाढा छन् । विकट ठाउँमा छरिएका सबै गाउँमा स्वास्थ्य केन्द्र र डाक्टर उपलब्ध गराउन पक्कै पनि असम्भव छ ।
तर, सरकारले चाहेमा विकट ठाउँका बस्तीलाई एकीकृत गरी अलि सुगम ठाउँमा बासस्थानको व्यवस्था गर्न सक्छ । यसबाट धेरैभन्दा धेरै जनताले नजिकको स्वास्थ्य सेवा र बाटोघाटोको प्रयोग गर्न सक्नेछन् ।
झारफुक गर्नेलाई एकै पटकमा विस्थापित गर्न असम्भव छ । बरु, उनीहरूलाई आधारभूत स्वास्थ्य तालिम दिन सकिएमा बिरामीमा खतराका लक्षण देख्नसाथ डाक्टरकहाँ पठाउन सक्छन् । यसो गर्दा बिरामीलाई फाइदा पनि  हुन्छ । अनि झारफुक गर्नेहरूले रोगको बारेमा  बुझ्न पनि पाउँछन् । उनीहरूले तालिम पाएर रोगको यथार्थ बुझे भने सायद धेरैले झारफुक गर्न छोड्छन । किनभने रोगको गम्भीरता नबुझी उपचार गर्दा र बुझेपछि गर्दा सोचमा धेरै फरक आउन सक्छ । "मैले त यस्ता खतरनाक रोग पनि फुकेर बसेको रै'छु, अब यो झारफुके पेसा छोड्छु" भन्न सक्छन् । 
एक दिन मैले अस्पताल नजिकै बस्ने माथि चर्चा गरिएकी ती जान्ने महिलालाई भेट्ने अवसर पाएँ । घाँटी दुखेर जचाँउन आएकी थिइन् । एक सातादेखि घाँटी दुखेर सताएको रैछ । जाँचेपछि घाँटीको संक्रमण (फ्यारिनजाइटिस) जस्तो लागेर औषधि खाने सल्लाह दिएँ । एक सातापछि फेरि आउन भने । त्यत्तिकैमा उनीसँग कुरा गर्न मन लाग्यो ।
"तपाईँ त धेरै प्रख्यात हुनुहुन्छ । मैले तपाईँका बारेमा धेरै सुनेको छु । तपाईँ झारफुकमा धेरै व्यस्त हुनुहुँदो रै'छ ।" उनले भनिन्, "हजुर डाक्टरसाव, व्यस्त हुन्छु, विश्वास गरेर बिरामी आउँछन् ।" मैले थपेँ, "अनि सबैलाई निको हुन्छ त "? "हुन्छ डाक्टरसाव, एकदुईबाहेक सबैलाई निको पार्छु", उनले भनिन् ।
मनमनै भने सायद त्यही एकदुईमध्ये तपाईँ एक होला । एक सातापछि उनीसँग भेट भयो । घाँटी पूरै निको भएको रहेछ । घाँटी निको भएकोमा उनले धन्यवाद दिइन् । "धन्यवाद भनिरहनु पर्दैन दिदी, तपाईँलाई निको भयो म धेरै खुसी छु।" मैले भने । मैले ती झारफुक गर्ने दिदीलाई घाँटीको इन्फेक्सन कसरी हुन्छ ? कुन कीटाणुले संक्रमण गर्छ, रोग कसरी सर्छ, उपचार कसरी हुन्छ भनेर सबै सम्झाएँ । उनी अल्लि गम्भीर भइन् । सायद, उनी रोगको गम्भीरता बुझेपछि झस्किन् । खुसीको कुरा आजकाल उनले बिरामीको समस्या बढेमा तुरुन्त अस्पताल रिफर गर्न थालेकी छन् । 
डाक्टरले केही अपवादबाहेक सबै रोगका कारण पत्ता लगाएर उपचार गर्छन् । रोगका बारेमा गहिरो  अध्ययन र अनुसन्धान गर्ने भएकोले डाक्टरहरू बिरामीको उपचारका लागि आधिकारिक व्यक्ति ठहरिन्छन् । रोगको निदान गर्न बिरामीसँग वार्तालाप गर्ने, छामेर परीक्षण गर्ने, आवश्यक ल्याब जाँच गराउने डाक्टरहरूको नियमित विधि हो ।
तथ्यमा आधारित उपचार अर्थात् (इभिडेन्स बेस्ड मेडिसिन) विधि डाक्टरले अँगालेका हुन्छन् ।
विभिन्न अनुसन्धानबाट प्रमाणित भएका विशिष्ट उपचार शैली चिकित्सकले अपनाएका हुन्छन् । त्यसले गर्दा रोगहरू अधिकतमरूपमा नियन्त्रित हुन्छन्। दिनहुँ नयाँनयाँ उपचार शैलीको अनुसन्धान भइरहेको हुन्छ । एउटै रोगको पनि फरकफरक उपचार शैली हुन सक्छ । डाक्टरले सबैभन्दा उपयुक्त विधि अपनाउने गर्छन् ।
कुन डाक्टर राम्रो वा को नराम्रो भन्न गाह्रो हुन्छ । कुनै डाक्टरले धेरै बिरामीलाई उपचार गर्‍यो भन्दैमा उसैलाई राम्रो भनिहाल्न सकिँदैन । किनभने सबैको सफल उपचार हुन्छ भन्ने पनि छैन । कसैसँग रोग पत्ता लगाउने कौशल बढी छ भने त्यो डाक्टरलाई पनि राम्रो भनिहाल्न सकिँदैन ।
किनभने, पत्ता लगाएका रोग सबैको उपचार नहुन पनि सक्छ ।
कसैले बिरामीसँग धेरै मीठो बोल्ला, इमानदार पनि होला तर रोगको सही उपचार गर्ने क्षमता नभए ती गुणले मात्र डाक्टरलाई राम्रो बनाउन सक्दैन । डाक्टरलाई माथि उल्लेखित सबै गुणको समग्रमा नहेरी राम्रो वा नराम्रो भन्न गाह्रो हुन्छ । राम्रो डाक्टर बन्न उसमा विषयको ज्ञान, इमान्दारी, क्षमता, गाम्भीर्य, दया, मायाका साथै बिरामीका सबै पीडा सुन्न सक्ने धैर्यवान कान हुनुपर्छ । हामीहरू यी सबै गुण आफूमा निहित गर्न प्रयास गरिरहेका हुन्छौँ । तर, कहिले काँही हामी चिप्लिन्छौँ । कहिले पढाइको ज्ञान छुट्छ, कहिले इमान्दारी हुँदैन, कहिले क्षमता त कहिले गाम्भीर्य हुँदैन, कहिले दया, मायाको भाव टुट्छ भने कहिले बिरामीको केही कुरा सुनेपछि हाम्रो कान बन्द हुन्छ ।
मानिस सर्वगुण सम्पन्न हुँदैन । त्यसोभन्दैमा हामी डाक्टरहरूलाई कमजोरी देखाउने छुट हुँदैन ।
किनभने हाम्रो पेसा बढी संवेदनशील छ । हामी मृत्युसँग दिनहुँ जुहारी खेलेका हुन्छौँ । मिडियामा बेलाबेलामा डाक्टरहरूको गाम्भीर्य घटेको कुरा आउने गर्छ । यसमा आंशिक सत्यता पनि छ । अब हामीले आफ्नो गाम्भीर्यलाई बढाउनै पर्छ । हामीले यस्तो प्रयास गरिरहँदा कहिले काँही हामी निराश हुन बाध्य हुन्छौँ । राम्रो उपचारको प्रयास गर्दागर्दै कसैको मृत्यु भएमा डाक्टरहरूप्रति नै हमला हुन्छ ।
ठूलो मानसिक दबाबमा काम गर्नुपर्ने वातावरण बढ्दै गएको छ । डाक्टरहरू पनि मान्छे हुन्, मानवीय गल्ती हुनसक्छ तर घटनाको अनुसन्धान निचोडमा नपुगी डाक्टरलाई तुरुन्तै दोषी ठहर्‍याउनु राम्रो होइन । जति प्रहार भए पनि डाक्टरहरूले आफ्नो कर्तव्य इमानदारीसाथ पूरा गर्नेछन् । किनभने, बिरामीको उपचार गर्नु नै डाक्टरको मूल धर्म हो । डाक्टर र बिरामीबीचको सम्बन्धजस्तै डाक्टर र डाक्टर बीचको सम्बन्ध पनि मधुर बन्न आवश्यक छ । डाक्टर–डाक्टरबीच सूचनाको तालमेल नमिल्दा र व्यावसायिक धर्मप्रतिको प्रतिबद्धता घट्दा बिरामीले व्यर्थमा दुःख पाएका घटना धेरै छन् ।
उदाहरण १ :
बिरामी : "डाक्साब नमस्ते ! मलाई टाउको दुखेको १ वर्ष भयो, सीटी स्क्यान, एमआरआई सबै गरिसकेँ, औषधि १ वर्षदेखि खाएको छु,  औषधि छोड्नेबित्तिकै दुख्छ ।"
डाक्टर:   "ए तपाईँलाई 'माइग्रेन हेडेक' भएको हुनुपर्छ । पहिलो डाक्टरले दिएको औषाधि काम लाग्दैन । अब यो खानुस्" 
( औषधि लगभग उस्तै ।)
उदाहरण २ :  
बिरामी : डाक्साब नमस्ते ! मलाई प्रेसर भएको ६ महिना भयो । पहिलेको डाक्टरले यो औषाधि दिनु भएको छ । यो औषाधि ठिक छ कि छैन ?" 
डाक्टर : छैन, त्यो बन्द गर्नुस । यो खानुस् । (अर्कै कम्पनीको दिँदै)
उदाहरण ३ :
बिरामी  : पेट दुखेको छ डाक्साब हिजोदेखि ।
डाक्टर : (सबै रिर्पाट आएपछि) तपाईँलाई एपेन्डसाइटिस भएको हुनसक्छ तर अहिले ठ्याक्कै भन्न गाह्रो छ । आज रातभर अस्पतालमा बस्नुस्, दुखाइ बढेमा वा दुखाइ दाहिनेतर्फ सरेमा अप्रेसन गर्नुपर्छ । बिरामी पेट दुखाई कम भएन भन्दै अर्को अस्पताल जान्छ ।
उदाहरण ४
डाक्टर २ : तपाईको एपेन्डिक्स धेरै पाकिसकेछ, किन हिजो नै नआउनु भएको ?
बिरामी : हिजो त्यो अर्का  अस्पतालको डाक्टरले रातभरी राख्नुभयो ।
डाक्टर २ : कस्तो डाक्टर रै'छ ! धन्नै, तपाईको ज्यान गएको, धन्न ठाँउमा आउनु भएछ ।
यी माथिका दुःखद उदाहरणले के देखाएका छन् भने डाक्टर–डाक्टरबीचको सम्बन्ध बिग्रेको छ । राम्रै औषधि भएपनि औषधि फेरिदिने, अघिल्लो डाक्टरलाई गाली गरिहाल्ने र कहिलेकाहीँ बिरामीलाई त्यहाँ किन गएको भनेर प्रतिप्रश्न गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति अहिलेको दरमा बढेमा डाक्टर–डाक्टरबीचको सम्बन्ध छिट्टै नै धरापमा पर्नेछ । औषधि फेर्न नै पर्ने रैछ भने पनि बिरामीलाई राम्रोसँग सम्झाएर फेर्दा हुन्थ्यो । हामीमा आमूल परिवर्तनको खाँचो छ । आफू र आफ्नो पेसाको मर्यादा बचाउन अब हामी सबै डाक्टरले फेरि हिप्पोक्रयाटिक ओथ सम्झिन आवश्यक छ ।
आफ्नो पेसालाई इमानदारीपूर्वक पूरा गरेका कुनै पनि डाक्टरहरूप्रति यी माथिका उदाहरण भने लागु हुदैँन । 
स्टेज चारमा भएको क्यान्सरका बिरामी आफ्नो दुखाइ कम गर्न अस्पताल आउने गर्थे । धेरै दुख्दा कहिलेकाहीँ रातैभर पनि बस्थे । पेनकिलरको डोज जति बढाए पनि उनको दुखाइ खासै कम हुँदैनथ्यो । धेरै दिनपछि उनलाई बढी नै गाह्रो परेछ । सास फेर्न पनि गाह्रो हुने, दुखा खप्नै नसकिने, टाउको दुखिरहने भएछ । अक्सिजन र पेनकिलर दिइयो । त्यही बेला उनले सोधे - "डाक्टर बाबु, तपाईँलाई भगवानप्रति विश्वास छ ?" मैले कुरा मोडेर उनको रोगको बारेमा बताउन लागे । "हेर्नुस बुबा, तपाईँको क्यान्सर शरीरभर फैलिसकेको छ, त्यो तपाईँलाई क्यान्सरको डाक्टरले पनि भन्नुभएको रै'छ ।
यसरी फैलिएको क्यान्सरलाई निर्मूल पार्न सकिँदैन । क्यान्सरलाई दबाउन केमोथेरापी र आवश्यकताअनुसार रेडियोथेरापी दिने हो, त्यो पनि तपाईँले पाइसक्नु भएको छ । अब बाँकी रह्यो तपाईँको दुखाइ, यसलाई पेन किलर दिएर कम गर्ने हो । सास फेर्न गाह्रो हुँदा अक्सिजन दिने हो ।" "बाबु यो कुरा सबै मैले बुझिसकेको छु । बाबुले उत्तर दिनुभएन । तपाईको भगवानप्रति विश्वास छ ?" तुरुन्तै जवाफ फर्काउन सकिन । एकै छिनको मौनपछि मैले भने “अँ छ” उनी मुसुक्क हाँसे । सायद, उनको भगवानप्रतिको विश्वास मेरो उत्तरले झन् बलियो बन्यो । दुई दिनपछि खबर पाएँ उनी बितेछन् ।
मैले त्यति बेला उनको विश्वासलाई थप बलियो बनाउन भगवानमा विश्वास गर्छु भनेको थिएँ । यथार्थमा म भगवानमा विश्वास गर्दिन । राख्छु केबल आस्थामात्र । किनभने विश्वासमा विश्वासघात हुनसक्छ, आस्थामा हुँदैन ।
भगवानलाई कसैले भेट्न सकेको छैन । भगवान खोजेर भेटिने वस्तु होइन । भगवान त आफूभित्र हुन्छ । आफूभित्र रहेको भगवानलाई बाहिर खोच्दा भेट्टाउने कुरै भएन । भगवानले मेरो रोग निको पारिदिन्छन् भन्नु आफूभित्रको शक्तिले निको पार्छ भन्नु हो । आफूभित्रको शक्ति अर्थात् रोगसँग लड्ने क्षमता, धैर्य र आत्मविश्वास । व्यक्तिमा यी गुण घट्न थालेपछि औषधिले पनि काम गर्न छोड्छ र बिरामीको मृत्यु हुन्छ । 
हामी बाँचेका छौँ र हामीलाई थाहा छ एक दिन मर्छौँ । मृत्यु सत्य हो । एउटा कीटाणु अरू केही होइन फगत केही रासायनिक क्रियाको सेट हो । रासायनिक क्रिया बन्द हुन्छ, कीटाणु मर्छ । त्यस्तै मानिसको शरीर पनि विभिन्न रसायनको थुप्रो हो । रसायनमा केही गडबढी भएमा रोग उत्पन्न हुन्छ । शरीर संवेदनशील छ । यही संवेदनशीलतालाई ध्यानमा राखेर आफ्नो रोगको बारेमा जानकार रहन र आधिकारिक व्यक्तिबाट उपचार गराउन सबैले ध्यान दिनुपर्छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC