बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
समाचार टिप्पणी कांग्रेसको दाउ: अख्तियारको फोहोरबाट सत्ताको मोहोर
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, कात्तिक १०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिका ‘माहिर’ खेलाडी मानिन्छन् । कुनै पनि राजनीतिक घटनाक्रमलाई आफ्नो फाइदा र बेफाइदामा तौलन जान्ने नेताका रूपमा उनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भेट्न गाह्रो छ । तर एमाले अध्यक्ष केपी ओली भने देउवाभन्दा पनि चतुर मानिन्छन् । अहिले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगलाई कसरी आआफ्नो हितमा प्रयोग गर्ने भन्ने विषयमा ठूला तीनै दलका शीर्ष नेताले हिसाब गर्न थालिसकेका छन् । यस महाभियोगका विषयमा एमालेले करिब करिब स्पष्ट अडान लिइसकेको छ भने माओवादी केन्द्र पनि चुरोबाट धेरै टाढा छैन । तर नेपाली कांग्रेस भने अख्तियारको फोहोरबाट सत्ताको मोहोर निकाल्ने धुनमा देखिँदै छ । त्यतिमात्र होइन अख्तियारमा कांग्रेसी मुहार नल्याए पनि कमसेकम विगतमा जस्तो कांग्रेसप्रति पूर्वाग्रही व्यक्ति नआओेस् भन्ने चाहन्छ । 
कांग्रेस सभापति देउवा यस विषयमा के सोच्दैछन् भन्ने भेउ उनले गर्ने सार्वजनिक भाषणमा पाइँदैन । यस्ता विषयमा विगत केही वर्षदेखि देउवाको बोली उनका निकटतम नेताबाट निस्कने गरेको छ । अहिले देउवाको बोली बोल्ने नेतामा बालकृष्ण खाँड सबैभन्दा सशक्त देखिन्छन् । देउवाका निकट अर्का नेता प्रकाशशरण महत अलि कुरा चपाएर बोल्ने हुनाले खाँडको बोलीले नै उनको नेता देउवाको मनको कुरा खोलेको हुन्छ । 
कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षा मन्त्री बालकृष्ण खाँडले सोमबार केन्द्रीय समितिको बैठकमा एउटा प्रश्न सोधे – “अहिले लोकमानलाई हटाएर त्यस पदमा कसलाई ल्याउने ? संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नै छैन, अब लोकमान सिंह कार्कीको स्थानमा आउने व्यक्ति को हो त ?”
उनको यस प्रश्नले केन्द्रीय समितिको बैठकको ध्यानाकर्षण गर्यो । लोकमानसिंह कार्कीलाई के कारबाही गर्ने वा कहिले गर्ने भन्ने विषयमा प्रश्न उठ्यो । अहिले कारबाही गर्नुहुँदैन भन्ने थोरै केन्द्रीय सदस्यको न्याउरोे अनुहार अलि उज्यालियो । 
खाँडले उदाहरण दिए – ‘सूर्यनाथ उपाध्यायलाई कांग्रेसले नै आफ्नो ठानेर ल्याउँदा त छानी छानी कांग्रेसकै नेतालाई कारबाही गरे भने अब कसरी लोकमानलाई बिदा गरेर राजनीतिक प्रतिशोध नलिने प्रमुख आयुक्त आउँछ भनेर ढुक्क हुन सक्छौं ?’
देउवा र खाँणको भनाइलाई बल पुुग्नेगरी मंगलबारको केन्द्रीय समितिको बैठकमा खुमबहादुर खड्काले अहिले कम्युनिस्टको भड्काउमा लागेर कुनै पनि हालतमा लोकमानसिंह कार्कीलाई कारबाही गर्न नहुने धारणा राखे ।
“हिजो कांग्रेसका नेतालाई अख्तियारले व्यक्तिगत रिसइबीका आधारमा कारबाही गर्दा मौन बसेका कम्युनिस्ट नेताहरू अहिले आफूलाई कारबाही गर्ने तयारी गरेपछि लोकमान फाल्नुपर्छ भनेर अघिसरेका हुन्,” खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
सभापति देउवा नजिक मानिएका नेताहरू पनि एमाले र माओवादी केन्द्रका नेताबीच महाभियोगबाहेक अन्य विषयमा पनि सहमति भएको हो वा होइन भन्ने बारेमा अझै शंकालु नै छन् । 
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरणमा कुनै समस्या नआउने र लोकमान सिंह कार्कीको ठाउँमा को आउँछ भन्ने बारेमा आन्तरिक सहमति कायम नभएसम्म महाभियोगका सम्बन्धमा तत्काल निर्णय नगर्ने कांग्रेस स्रोत बताउँछ ।
कांग्रेस नेताहरु रामचन्द्र पौडेल र महेश आचार्यको जोडबलमा ल्याइएका सूर्यनाथ उपाध्यायले नै छानी छानी कांग्रेसका नेताहरुलाई कारबाही गरेको हुनाले अब आउने व्यक्ति को हो भन्नेबारेमा अहिले नै आन्तरिक सहमति हुनुपर्ने देउवाको धारणा रहेको छ । नभए विभिन्न बहानामा छलफल लम्याउने रणनीति उनले अपनाएको देखिन्छ । 
यसैबीच शेरबहादुर देउवा भारत भ्रमणमा जाने समाचार बाहिर आएको छ ।
भारतीय सुरक्षा सल्लाहकार अजित डोभलको छोराको कुनै कार्यक्रममा उनले सहभागी हुने स्वीकृती दिएको पनि थाहा भएको छ । अब देउवा भारत भ्रमणबाट फर्केर नआउन्जेल कांग्रेसका तर्फबाट आधिकारिक निर्णय नआउने धेरैको अनुमान छ ।
संविधानमा भएको व्यवस्थाअनुसार कार्कीलाई हटाएपछि अर्को नियुक्ति गर्न नमिल्ने हुँदा अहिले त्यो तर्क गर्नु आवश्यक नरहेको केही विश्लेषकको टिप्पणी आए पनि कानुनविद् ओमप्रकाश अर्यालले संविधानमै स्पष्टरूपमा एक प्रमुख आयुक्त र बाँकी आयुक्त रहनेछन् भन्ने उल्लेख भएकाले प्रमुख आयुक्त नियुक्तिमा कुनै समस्या नपर्ने बताउँछन् ।
अहिले सार्वजनिकरूपमा जति टीकाटिप्पणी भए पनि र कांग्रेसका युवा नेताहरू जति ठूलो स्वरमा कराए पनि नेपाली कांग्रेसले महाभियोगको विषयमा सरकार हस्तान्तरण र नयाँ आउने प्रमुख आयुक्तको नाममा सहमति नहुन्जेलसम्म केही निर्णय लिने अवस्था देखिँदैन ।
 
 
 
 
 
 
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, कात्तिक १०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्