site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सपनाहरु बुन्दै गर्दा
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सामाजिक सञ्जालमा नजर घुमाउने हो भने ‘पब’ गएकोदेखि कक्षाकोठामा 'बोर' भएकोसम्मको स्टाटस फेसबुकमा देख्न सकिन्छ । अनि फेसबुक र ट्वीटरमा ‘ह्यापी आवर’ मा राखिएका फोटाबाट कसैको सु:खको वा दुःखको मापन हुने गर्छ । ग्रीनकार्ड पाएर अमेरिकाको रैथाने भएर बस्ने मौका पाउँदा पनि केहीमा खुसी र केहीमा विस्मातका कथा मिडियामा छचल्किरहँदा कतार, ओमान गएर ४०-४५ डिग्रीको घाममा महिनाको १०-१५ हजारमा सन्तुष्ट हुनुपर्ने बाध्यता पनि देखिएकै छ । बेरोजगारी बढ्दो छ र त्रिभुवन विमानस्थलको 'प्रस्थान' तिर आँखा डुलाउँदा खाडी जाने श्रमिक दाजुभाइको लामो लाम देख्दा मनै कुँडिन्छ । थोत्रा झोला अनि लाखौं ऋण काँधमा बोकेर जब माइला दाइ बिदा हुन्छन् तब गहभर आँसु पारेर बूढा आमाबाबुले हात हल्लाएको दृश्य देख्दा कसको पो मन थामिएला र ?
 
पढेलेखेकालाई अमेरिका, युरोप केही अवसर र केही फेसन भएको छ भने धेरै नपढेकालाई खाडी गएर सस्तो कामदार बन्नु केही देखासिकी र बढी नियति बनेको छ । धान फल्ने खेत बाँझै राखेर, भर्खरै बैँसमा पाइला टेक्दै गरेकी पत्नी र दाउराको धुँवामा चुल्होमा आगो फुक्दाफुक्दा दम लागेकी आमालाई छोडेर जाने रहर कसको पो हुन्छ र ? गाउँघर अहिले रित्तै छ । 'जीउँदाको जन्ती र मर्दाको मलामी' भन्ने उखान त छ तर न बिहामा जन्ती बटुल्न सक्ने अवस्था छ न मर्दा मलामी भेला पार्नै सकिन्छ । समाज कसरी बिटुलिँदै गएको छ भने घरैपिच्छे एक जना विदेश बाहिर जानै पर्ने अघोषित नियमजस्तो बनेको छ । मोबाइल, क्यामरा र ल्यापटपजस्ता भौतिक सामग्रीले हामीलाई यसरी गाँजेको छ मानौं परदेशबाट फर्किँदा हाम्रा झोला यस्ता वस्तुबाट भरिभराउ भएनन् भने हाम्रो प्रतिष्ठा नै संकटमा पर्छ । आफू खाडीमा दिनको दस घन्टा घोटिने अनि घर फर्कदा पत्नी आर्कैकी भइसकेकी उदाहरण पनि कैयौ छन् । अचानोको पीर खुकुरीलाई के थाहा ? आकाशै खस्दा पनि माइला दाइले आँसु पिएर बस्नै पर्‍यो । हाम्रो समाज बडो तीव्र गतिमा बदलिइरहेको छ बृहत्तर भलाइका लागि हो कि सम्भाव्य दुर्घटनाका लागि के थाहा ? शिक्षा र स्वास्थ्यको लागि मोफसलबाट काठमाडौं ओइरिने क्रम बढ्दो छ । यही क्रमसँगै सहरमा अवस्थित युवामा भने विकसित देश हानिदै छन् । विदेश पुगेपछि यहाँ हुँदा ‘अमलेट’ बनाउन गाह्रध हुने मान्छेलाई त्यहाँ काम, माम र हातमा सर्टिफिकेटको जोहो गर्नुपर्दाको सङ्घर्ष कसले कसलाई सुनाउनु र ? मनको वह कसैलाई नकह !
 
कहाँ जाने र केका लागि सङ्घर्ष गर्ने भन्ने विकल्प छान्ने अधिकार व्यक्तिमा निहित छ र कोही गलत पनि छैनन् । कसैले आफ्नो भविष्य सधैं सङ्क्रमणकालमा रहेको देशमा नभई कुनै विकसित देशमा देख्छ भने उसका ती व्यक्तिगत निर्णय हुन् । विदेशमा बसेको कुनै नागरिकबाट राज्यले आफ्नो र देशको शिर पनि केही मात्रामा उँचो पारोस् भन्नेसम्म अपेक्षा चाहिँ गर्नसक्छ । अन्यथा, त्यो पनि सकिँदैन भने कमसेकम झुकाउने काम चाहिँ नगरोस् । उदाहरण हेर्न टाढा जानु पर्दैन । हाम्रो दक्षिणको छिमेकी राष्ट्रका भारतीय मूलका विदेशी अहिले विश्वका प्रत्येक कुनामा छन् । भारतीयहरू केमा छैनन् ? ठूला युनिभर्सिटीमा, रेस्टुराँ व्यवसायमा, खेलमा, राजनीतिमा? कुन क्षेत्रमा छैनन् र कहाँ छैनन् ? नेपालीबाट त्यही आश गर्न सकिएला, नसकिएला तर केही प्रभावशाली पद र क्षेत्रमा नेपाली पनि खुड्किला चढ्दैछन् र त्यसले दस्र्घकालीनरूपमा नेपाललाई फाइदै पुर्‍याउला भन्ने आशा राखौ । आखिरमा राष्ट्रको पनि कर्तव्य होला विदेशिँदै गरेका नागरिकलाई रोक्ने वातावरण बनाउन । उज्ज्वल भविष्य र पूर्वाधारका आश्वाशन दिएर विदेशिँदै गरेका पाइलाहरू थामिन सक्ने वातावरण बनाउनु त राज्यको पनि कर्तव्य होला नि !
गर्नेलाई नेपाल पनि स्वर्गै छ । जसले यहाँ भविष्य देखेको छ,जसलाई यही माटोमा केही गर्छु भन्ने विश्वास छ अथवा एउटा सामान्य जीन्दगी दुई छाक टारेर छोराछोरीको मुखमा माड लाउन पाउनुमा सुख ठानेको छ उसले नेपालमा पनि भविष्य देख्न सक्छ । के तिनलाई सुखी नमान्ने र ? तिनीहरू पनि त सुखी नै हुन् । राष्ट्रमा राजनीतिका थरीथरी बाजा बजिरहँदा ठेलावाला,रिक्सावाला पनि गहिरो निन्द्रा सुतेकै छन् । कसैलाई म्याडिसन स्क्वायरभन्दा गाउँको चौतारो मनपर्ला, ज्याक ड्यानियल्सको ह्विस्कीभन्दा सुन्तलीको भट्टीको तीनपाने मनपर्ला, ती पनि खराब स्वाद रुचाउने मान्छे त पक्कै होइनन् होला । खाडीको मरूभूमिमा ऊँटको गोठालो बनेर कोही रियाल गन्दै छ भने कतिपयले इलामको पाखामा अलैँची फलाएर नेपाली नोट पनि गन्दै छन् ।
 
मन बडो गजबको छ । मनले चाहेअनुसार दलिललाई जन्म दिन्छ । आत्माले चाहेको कुरा, एउटा जीवन नै किन व्यतित नहोस्, मान्छेले पूरा गर्छ । मुलुकको राजनीति एवं परिस्थिति जटिल मोडहरूबाट गुज्रिरहँदा कसैले कसैलाई सुझाव दिनसक्ने अवस्था छैन । अकल्पनीय घटनाक्रम दुवै राम्रो र नराम्रो अर्थमा हुनसक्ने सम्भावना प्रशस्तै छन् । जटिल मोडमा मुलुक रहिरहँदा विदेशिने वातावरण बन्नु स्वाभाविक हो तथापि देशमै बसेर केही गर्छु भन्नेको सङ्ख्या पनि कम छैन । जसरी नेपाल बस्ने प्रत्येक नागरिक देशकै माया लागेरमात्र बसेका होइनन् होला । त्यसैगरी, बाहिर विदेशिएकाले पनि देशको माया मारेर विदेशिएका पक्कै होइनन् । यी त समुद्रमा छाल आउँदा किनारमा रहेका ढुङ्गाजस्ता मात्रै हुन्, हुत्तिएर अलि पर पुग्यामात्र हुन् । नदीमा पानी बढेपछि यी पक्कै पनि समुद्रमै समाहित हुने नै छन् । समय र परिस्थितिको खेल हो, चीन, कोरिया कहाँ पुगे हामी पुरानै आवरणमा छौं । हाम्रो भोटो फाटेकै छ । अनि हाम्रा सपना सपनामै सीमित छन् । विकसित देश भएको भए हामी पनि आप्रवासी समस्याका लेख पढ्न पाउँथ्यौं होला तर अहिले विदेशिएकाका कथा नै सही ।
नेपाली भूमिमा होस् कि विदेशी भूमिमा जहाँ गएर पनि सङ्घर्ष त असम्भावी छ। हामीले  खोजेको त काम गरेर खान पाउने वातावरण, कामको मूल्याङ्कन र गुणस्तरीय जीवन न हो । विकास एउटा क्रमिक प्रक्रिया हो र हरदम अगाडि बढिरहने मानवीय स्वभाव हो । मान्छेलाई हिँड्दाहिँड्दै थकाइ लाग्यो होला र न पाङ्ग्रा र साइकलको विकास भयो होला । थोमस एडिसनलाई अँध्यारोले गिज्यायो होला र न बत्तीको आविष्कार भयो । मानव सभ्यताको विकाससँगै यसका आवश्यकता र सपनाको आकारप्रकारमा पनि बदलाव आउँदै जान्छ । आँधी रोकेर नरोकिँएजस्तै गरी परिवर्तन एउटा प्राकृतिक कुरा हो र विश्व नै एउटा गाँउ बनिरहेको परिवेशमा मान्छे विकास, सुविधा र सम्पन्नतातिर आकर्षित हुन कुनै आश्चर्य होइन । कोरिया जाने युवाको लाम यत्तिकै लागेको होइन होला, त्यसमा पनि कति बाध्यता होला, कति रहर होला । स्वदेशमा कसैले अवसर देख्दैन, आफूले आँखा गढ्ने गरी पढेर आर्जन गरेको सर्टिफिकेटको अर्थ नै देख्दैन भने अवश्य पनि उसले विकल्प हेर्छ । त्यस्तै खाल्डोबाट उक्लिएर कसैलाई संसार हेर्ने र घुम्ने इच्छा छ भने त्यसलाई फरक ढङ्गले हेरिनु हुँदैन । संभव हुनेले स्वदेशमै वृत्ति विकास गर्लान् अनि नहुनेले विदेशमा । सबैले प्रगति भने अवश्य गर्लान् ।
जीन्दगीलाई खण्डमाभन्दा समष्टिमा हेर्नसक्नु जरुरी छ । पैसा धेरै थोक भए पनि सबै थोक  होइन । जीवनको उत्तरार्धमा पुगेपछि मान्छेले आफ्नो समय फुलेका कपालमा कालो लाएरमात्र बिताउँदैन । बरु, जीन्दगीलाई फर्केर पनि हेर्छ । त्यतिखेर उसलाई आफूले जीन्दगीभर कमाएको धनभन्दा आफना नातिनातिनाको कलिलो हात छुँदाको क्षण सार्थक लाग्छ । कहाँ जाने र के गर्ने भन्ने रनभुल्लमा परेकाले पनि आफ्नो प्रश्नको उत्तर कोही अन्जान व्यक्तिको कहानी र भोगाइमा भन्दा आफ्नै मनको गहिरो कुनामा भेट्नेछन् । भोगाइको गहिराइमा र दृष्टिकोणको चौडाइमा नियाल्दा सायद तिनले जीवन देख्नेछन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC