site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विपश्यनाः जीवन जिउने कला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
डा. रूप ज्योति
 
उपाध्यक्ष, ज्योति ग्रुप
 
– सुजन ओली
६९ वर्षे डा. रूप ज्योतिको अनुहार कुनै युवाको भन्दा कम छैन । चम्किलो अनुहार, फुर्तिलो शरीरका कारण उनी सधैं तन्नेरी देखिन्छन् । व्यावसायिक जीवनको धपेडी र रस्साकस्सीबीच पनि उनी सधैं यति ‘फिट’ कसरी देखिन्छन् ?
 
हामीले यही प्रश्न ग¥यौं उनलाई । 
 
उनी मुसुक्क हाँसे र भने, “विपश्यना । म स्वस्थ र फुर्तिलो विपश्यनाकै कारण भएको हुँ ।”
ज्योति ग्रुपका उपाध्यक्ष र विपश्यना (ध्यान) नेपालका प्रमुख ज्योति आफूमात्रै होइन, अरुलाई पनि विपश्यना सिकाउँछन् । बुद्धको ध्यान विधिमार्फत उनले धेरै मानिसलाई जीवन जिउने कला पनि सिकाइरहेका छन् । उनी नेपालका धनाढ्य व्यापारी हुन् तर पनि सहरी मानिसलाई जीवन र अध्यात्मको बारेमा बुझाउँदै हिँडेका छन् । व्यापारी र विपश्वीको स्वभाव कुनै पनि हालतमा एउटै हुन सक्दैन । तर, उनले त्यसलाई गतल सावित गरेर देखाएका छन् ।
 
“जब मानिसले विपश्यना सिक्छ, ऊ कहीँकतै अप्ठ्यारोमा पर्दैैन । हरेक पाइलामा ऊ सफल हुँदै जान्छ किनकि उसलाई कहिल्यै खराब गर्न मन लाग्दैन,” ज्योति भन्छन्, “जो असल बाटोमा हिँड्छ, उसलाई आजसम्म कहिल्यै दुःख परेको छैन ।”
 
यही कुरालाई आत्मसात गर्दै उनी देशका विभिन्न स्थानमा विपश्यना केन्द्र खोलेर मानिसलाई जीवन जिउने कला सिकाइरहेका छन् ।
कर्मचारी, प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायत क्षेत्रमा यसको ठूलो प्रभाव छ । जुन ठाउँमा बढी भ्रष्टाचार, अनियमितता हुन्छ, त्यही क्षेत्रका मानिसलाई ‘फोकस’ गरेर विपश्यना गराइरहेको उनी बताउँछन् ।
 
जिन्दगीलाई नाटक मान्ने हो भने यो जीवनमा उनले ‘डबल रोल’ निभाइरहेका छन् । प्रथम दृष्टिमै विपरीत लाग्ने जीवनशैली ! यी दुवै जीवनशैलीमा एकजना मान्छे कसरी अटाउँछ भन्ने प्रश्नको जवाफ उनी आफैं हुन् ।
आँखा चिम्लिएर चुपचाप आफैंले फेरिरहेको सासलाई महसुस गर्नु, शरीरमा भइरहेका क्रियाकलापलाई नियाल्नु र मनमा आइरहेका विचारलाई हेर्नु ! यत्ति नै हो विपश्यनामा गर्ने अभ्यास । हाम्रो मनमा आउने लोभ, रिस, ईष्र्या, अहम सबैको सम्बन्ध शरीरसँग छ । यी अरुका कारण होइन, आफ्नै कारणले सिर्जित हुन्छन् । विपश्यनाले यिनै विकारलाई बेवास्ता गर्न सिकाउँछ ।
०३० को दशकमा उनका बुबा मणिहर्ष नेपाल आए र केही वर्षपछि परिवार र व्यवसाय पनि यतै सारे । उनीमात्रै आएनन्, विपश्यना पनि ल्याए । विपश्यनाका लागि भारत गएका उनले आफ्ना गुरुलाई नेपाल आउन निम्तो दिए ।
 
हजुरबुबाको व्यापार घाटामा गयो । परिवार ऋणमा डुब्यो । हजुरबुबाको मृत्युपछि रूप ज्योतिका बुबा मणिहर्ष कलकत्ताको व्यापारीकहाँ काम गर्न पुगे । त्यहाँ उनले धेरै संघर्ष गरे । व्यापारमा फेरि उदाए ।
कलकत्तामा रूप ज्योति स्कुल र क्याम्पस पढ्ने बेलातिरको कुरा हो । २५ सय वर्षअघि बुद्धले गरेको ध्यान विधिलाई गुरू गोयन्काले पुनरूत्थान गरेको समय थियो त्यो । गोयन्का पनि व्यापारी थिए, रूपका बुवा मणिहर्ष पनि व्यापारी ।
 
“बेलाबेला बुवाले गुरुलाई बोलाउनुहुन्थ्यो, एकै ठाउँमा तीन–चार सय जनाको शिविर चल्थ्यो,” ज्योतिले सम्झिए ।
पहिलो शिविर आनन्दकुटी विद्यालयमा भएको थियो । टेन्टमा शिविर लागेको थियो, पानी प¥यो र पनि शिविर चलिरह्यो । विपश्यनाप्रति मानिसहरुको यस्तो लगाव देखेर गोयन्का वर्षमा एकचोटि नेपाल आउन थाले । ज्योति भने शिविरमा आउने मान्छे देखेर अचम्म पर्थे ।
 
ज्योति त्यो बेला तन्नेरी नै थिए, जीवनका मोडहरु बाँकी नै थिए । यति छिटो ‘होस’को यात्रामा उनलाई रुचि किन जाग्थ्यो र ?
एमबीए सकेर सन् १९८५ मा हार्वडमा पीएचडी सिध्याएको एक वर्षपछि उनी काठमाडौँ आए । त्यो बेला प्रधानपञ्चको चुनाव घोषणा भयो । ०४३ सालको त्यो चुनावमा उनले काठमाडौं मेयरको उम्मेदवारका रूपमा भाग लिए ।
 
यतिबेलासम्म बूढानीलकण्ठमा विपश्यना सेन्टर खुलिसकेको थियो । चुनावपछिको फुर्सदका बेला उनले विपश्यनाको कोर्स गरे । उनलाई विपश्यना खुब राम्रो लाग्यो । गुरुले भनेको बाँच्ने कला त उनले सुनेका थिए तर होसै थिएन यो कस्तो कला हो ।
 
अभ्यासले देखाउने आनन्द र शान्तिको मार्ग उनलाई मञ्जुर भयो । साथीहरूले पनि ‘बुवाको ठाउँमा तिमीले विपश्यनामा काम गर्नुपर्छ’ भन्न थाले । उनी आफैं पनि विपश्यनाप्रति गम्भीर भइरहेका थिए । उनलाई सुरूमा विपश्यनाप्रति खासै चासो थिएन तर बिस्तारै उनलाई यसको लत लाग्यो ।
 
उनका गुरुले ‘आर्ट अफ लिभिङ’ भन्थे । तर, ज्योतिलाई लाग्यो– यो ‘आर्ट अफ डाइङ’ पनि हो । यही विचारले उनलाई विपश्यना कोर्सका साधक बनायो ।
अहिले उनलाई लाग्छ, उनको जन्म विपश्यनाकै लागि भएको हो । “मेरो डेस्टिनी त्यही विपश्यना नै हो,” उनी भन्छन्, “मानिस पूर्वजन्मको कर्मले निर्धारण गरेको भाग्य लिएर आउँछ । म यसकै लागि जन्मिएको हुँ ।”
 
विपश्यनाको अभ्यास गर्दागर्दै गुरुले एकदिन ‘टिचर’ बन्न भने । व्यापारीजस्तो मान्छे कसरी ‘टिचर’ बन्न सक्नु ? उनी आफैंप्रति शंकालु बने । तर, गुरुले भनेपछि नमान्ने कुरै भएन ।
२०६२ मंसिरमा ज्योतिलाई अर्थ–राज्यमन्त्री बन्ने ‘अफर’ आयो– राजाबाट ।
उनी आफ्ना गुरु गोयन्का कहाँ गए ।
“यो कस्तो पद हो ?” गुरुले सोधे ।
“मनोनीत पद हो,” ज्योतिले भने ।
 
“निर्वाचित राजनीति त गर भन्दिनँ मैले, नोमिनेटेड हो भने ठीकै छ,” मन्त्री हुने अनुमति पाए रुपज्योतिले । राजाको आग्रह स्वीकार गर्न दरबार गए ।
“म विपश्यनाको आचार्य हो, आफूले जानेको मात्रै गर्छु । भोलिपर्सि मौसूफको इन्ट्रेस्टमा मैले गर्नै नहुने काम या विपश्यनाको विपरीत हुने काम गर्दिनँ, दबाब आउनुभएन सरकार,” उनले राजासँग सर्त राखे ।
“तिमीलाई त्यही भएर बोलाएको हो, ढुक्क भएर काम गर,” राजा ज्ञानेन्द्रले भने । 
त्यसपछि उनी अर्थ–राज्यमन्त्री भए ।
 
राग, द्वेषबाट आउने लाभले पुण्य मिल्दैन भन्ने उनले सिकेका थिए । 
उनले आफैंसँग वाचा गरे– मन्त्री भएपछि मैले त्यहाँबाट आउने तलब उपभोग गर्नेछैन । काम गरेको तलब नलिने भन्ने भएन, एउटा हातले लिन्छु र अर्को हातले विपश्यना सेन्टरलाई दिन्छु ।
मन्त्री भएको केही समयपछि गुरूको फोन आयो, “तिमी मन्त्री पदमा नबस !”
 
उनले भने, “तपाईकै अनुमतिले पो भएको हुँ, पहिलै छोड्नुपर्छ भन्ने थाहा भएको भए बन्दिनथें, बीचमा कसरी छोड्नू ?”
गुरुले धेरै वर्षपछि मान्छेहरूले के सोच्लान् भन्ने डरले त्यसो भनेका रहेछन् ।
“पछि मान्छेहरु तिमी नोमिनेटेड थियौ या इलेक्टेड भन्ने ख्याल गर्दैनन्, रूप ज्योति आचार्य र मन्त्री दुवै भएको थियो भन्ने उदाहरण दिन्छन्, यो राम्रो होइन,” गुरुले सम्झाए ।
गुरुलाई थाहा थियो– नेपालका लागि ज्योतिले काम गर्नु छ ।
 
“मन्त्री हुँदासम्म तिमी आचार्य नबन !” उपाय निस्कियो । उनले पनि बुझे कुरा । राज्मन्त्री भएपछि करमा सुधार गरे । करका दर घटाए । “विदेशबाट आएको सामानमा कर घटाउँदा पनि मैले आफ्नो व्यापारलाई नाफा हुने गरी केही काम गरिनँ, त्यो बेला मोटरसाइकलमा हुने कर घटाइनँ,” उनले भने ।
विपश्यना उनको मार्गनिर्देशक थियो । त्यसैले आफ्नो फाइदाको काम गर्न रोक्यो । जब अप्ठ्यारो प¥यो, उनले आफूलाई सम्झाउन पनि सके, “मैले नराम्रो काम गरेको छैन, त्यसैले दुष्परिणाम आउँदैन ।”
उनले मन्त्री हुँदा आन्तरिक राजस्व विभाग, भन्सार विभागलगायतमा राम्रा र अनुभवी कर्मचारी खोजेर महानिर्देशक नियुक्त गरे । सचिवमा पनि त्यसरी नै बढुवा गरे ।
उनलाई हरबखत आफैंभित्रको सजग साधक अख्तियारभन्दा कडा प्रश्न सोध्थ्यो । “त्यसैले सरकारमा बसुन्जेल आफ्नो फाइदाका लागि केही गरिनँ,” उनले भने ।
त्यो त जिन्दगीको एउटा सानो पाटो थियो उनको । अर्कोतिर उनी व्यापारी थिए । मान्छे एकैचोटि बुद्ध त कहाँ बन्छ र ! त्यसमाथि व्यापार गर्नुपर्ने मान्छे । लोभ, लालच, ईष्र्याजस्ता विकारबाट मुक्ति पाउन वर्षौंको साधना चाहिन्छ ।
 
व्यापार गर्दा आफ्नो हितका लागि मान्छेले अलिकति सीमा मिच्न सक्छ । अरुले थाहा नपाउने गरी कहिलेकाहीँ उनले पनि आफ्नो फाइदाको लागि काम गरे । मोहमा परे । 
“त्यसरी नराम्रो काम गरेको प्रतिफल मैले दुई–चार वर्षमै पाएँ र घाटा बेहोरेँ,” उनले  स्वीकार गरे ।
केही वर्षयता उनलाई लाग्न थालेको छ– मनुष्य जीवन पाउनु धेरै गाह्रो कुरा हो, यो चोला पाएपछि धर्मको सम्पर्कमा आउन पाउनु पनि गाह्रो हुन्छ र धर्मको मार्गमा आइसकेपछि त्यसको अभ्यास झनै गाह्रो हुन्छ । त्यसैले मनुष्य जीवनको सदुपयोग गर्नुपर्छ ।
 
मरेपछि लानु के छ र ? धेरैले यसैलाई सत्य मान्छन् । तर, उनलाई मृत्युपछि पनि जीवनबाट लिएर जाने केही छ जस्तो लाग्छ । “जीवनमा राम्रो काम गरेको मान्छेले मरेपछि अर्को जन्मको लागि पुण्यकर्म लिएर जान्छ,” उनी भन्छन् ।
 
मुलुकका विभिन्न ठाउँमा विपश्यना केन्द्र स्थापना गर्न उनले राम्रो जग्गा खरिद गरे । थोरै पैसा पर्ने जग्गा किन्न सक्थे, उनको मनले मानेन रे ! त्यसको प्रतिफल उनले आफ्नो व्यापारमा पाए रे !
“विपश्यना सेन्टर खोल्ने पुण्य कामका लागि लोभ नगरेको भएर मेले आफ्नो व्यक्तिगत बिजनेस गर्ने जग्गाहरू राम्रो भेटाएँ । त्यही हो पुण्य,” उनले भने ।
व्यापार गर्दा पनि उनले विपश्यनाका शीलहरू पालना गर्ने कोसिस गर्छन् । होटल खोल्ने एउटा प्रपोजल आएको थियो । उनलाई मन पनि थियो । तर, रक्सी बेच्न नपाइने सर्त पार्टनरहरूलाई राखे । रक्सी र चुरोट नबेच्ने होटल ? प्रस्तावकहरू छेउ लागे । विपश्यनामा रक्सी वर्जित गरिएको छ । यसले शील तोड्छ, संवेदनाहरूलाई नै प्रभावमा पार्छ र मान्छेलाई नराम्रो काम गराउँछ । त्यसैले उनले कहिल्यै रक्सीको व्यापार गरेनन् ।
 
बिरामीको सेवा गर्दा डक्टरहरुले पाउने पुण्यको लोभ लाग्यो । नेपालमा राम्रो अन्तर्राष्ट्रियस्तरको अस्पताल नै थिएन । उनी त्यस्तै अस्पताल खोल्ने काम तल्लिन भए । “राम्रो काम गर्दा पनि परिणामको आश नगर्नू,” गुरुले सधैं भन्थे । उनले व्यापार गर्दा होस् या जिन्दगी चलाउँदा, यो सधैं मनन गरे ।
जीवनमा धेरै मान्छे राम्रो–नराम्रो छुट्ट्याउनै सक्दैनन् । मान्छेले आफ्नै कारणले लोभ, मोह, रिस उठ्छ भन्ने पनि थाहा पाउँदैनन् । विपश्यना गरेपछि राम्रो काम र नराम्रो काम के हो भनेर आफैं थाहा हुन्छ, नराम्रो काम गर्दा मनले घण्टी बजाइहाल्छ रे !
अरूप्रतिका गुनासाहरु लिएर हिँड्दा–हिँड्दै मान्छे आफूलाई नचिनिकन मर्छन् । उनलाई लाग्छ– विपश्यना गरेपछि मान्छेले आफूलाई देख्न थाल्छ, अरुलाई होइन ।
 
केहो विपश्यना ?
विपश्यना आत्मनिरीक्षणद्वारा आत्मशुद्धीकरण गर्ने साधना हो । आफ्नो शरीर र आत्माबीच पल–पल हुने परिवर्तनशील घटनाको चित्तविशोधन अभ्यासबाट सुखशान्ति प्राप्त गर्न सहयोग मिल्छ । शान्ति र सामाञ्जस्यको अनुभव प्राप्त गर्न सकिन्छ ।
ज्योति भन्छन्, “हाम्रा विचार, विकार भावना, संवेदना प्रत्यक्ष अनुभवबाट मिल्छ । यसबाट कस्तो विचार बन्छ, कस्तो बाध्यता हुन्छ र यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने ज्ञान प्राप्त हुन्छ । हामी सजग, सचेत, संयमित एवं शान्तिपूर्ण बन्न सक्छौं ।”
 
परम्परा
विपश्यना गौतम बुद्धको समयमा सूत्रपात भएको हो । यो परम्परालाई वर्तमान आचार्य सत्यनारायण गोयन्काले प्रयोगमा ल्याएका हुन् । उनी भारतीय मूलका हुन् । तर, उनको जन्म बर्मामा भएको हो । विपश्यना शिविरको माग बढेको देखेर १९८२ देखि गोयन्काले सहायक आचार्य नियुक्त गर्न थालेका हुन् ।
विपश्यना १० दिनसम्म आवासीय शिविरमा सिकाइन्छ । प्रशिक्षार्थीहरू अनुशासन संहिता पालना गर्न बाध्यकारी हुन्छन् ।
शिविरमा प्रशिक्षणका तीन खुड्किला हुन्छन् ।
 
पहिलो खुड्किला— साधकले पाँच तत्व पालन गर्नुपर्छ । जीव हिंसा, चोरी, झुटजस्ता विकारबाट आफूलाई मुक्त बनाउनुपर्छ ।
दोस्रो खुड्किला– नाकबाट आउने, जाने सासतिर ध्यान केन्द्रित गरेर साधनाको अभ्यास गर्ने । 
तेस्रो खुड्किला– चौथो दिनसम्म मन धेरै शान्त भइसकेको हुन्छ । एकाग्र भएपछि मात्रै विपश्यनाको अभ्यास गर्न लायक हुन्छ । शिविरार्थीले १० दिनमा मंगल–मैत्रीको अभ्यास सिक्छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC