विचार
केही समयअघि पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भारतले भाग नलिने घोषणा गर्यो र यसलाई समर्थन गर्दै भुटान, माल्दिभ्स र बंगलादेशले पनि वक्तव्य निकाले । नेपालले अध्यक्षता गरिरहेको बखत यस्तो वक्तव्य यी देशहरूले नेपालसँग छलफल गरेर वा जानकारी दिएर गरेका हुन् वा त्यसै पठाएका हुन्, थाहा भएन । तर, यो नेपालको हकमा गम्भीर विषय हो । अध्यक्षता गरिरहेको मुलुकसँग एक शब्द पनि नसोधी यस्तो वक्तव्य आउनु नेपालले आफ्नो कूटनीतिक हैसियतमा पुनरावलोकन गर्नुपर्ने बेला भइसकेको जनाउ हो यो ।
सबैतिर कठिनाइको सामना गरिरहेकोे नेपालकोे भूराजनीतिक महत्व स्थापित हुन पूर्णतया असफल भएका बेला कूटनीतिमा बिरलै हुने घटना ब्रिक्स बैठकको समयमा भारतको गोवामा भएको छ । भनिएअनुसार चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भलाकुसारी भइरहेका बेला अचानक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहीँ आए र कुराकानीमा सहभागी भए । यो दुर्लभझैं लाग्ने घटना संयोगमात्र भएको बताइए पनि नियोजितजस्तै भान हुन्छ । हुनत, अन्य क्षेत्रमा जस्तै कूटनीतिक क्षेत्रमा पनि ठूला ठूला परिवर्तनहरू भइरहेका छन, परम्परा तोडिँदै पनि छन् । भारतीय प्रधानमन्त्री मोदीका कतिपय क्रियाकलाप कूटनीतिमा कोरिएका सीमाभन्दा दायाँबायाँ र बाहिर पुगेका पनि देखिएका छन् । अकस्मात् पाकिस्तानजस्तो प्रतिद्वन्द्वी मुलुकका प्रधानमन्त्रीको जन्म दिनमा उनलाई शुभकामना दिन जानु, अमेरिका र रुससँग झन्डैझन्डै समान तहको सम्बन्ध राख्न सक्नु, पाकिस्तानको सीमाभित्र घुसेर हान्नुजस्ता उनका कामहरू प्रचलित कूटनीतिक ढर्राभन्दा बाहिरका हुन् । हुनत, भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएका बेला चीनका राष्ट्रपति एकाएक आइपुगेका भए यति बेलासम्म भारतीय सञ्चारमाध्यमले आकाशै खसेको जस्तो गरिसक्ने थिए होला । पूर्वप्रधानमन्त्री केपी ओलीले भनेझैं भएकै हो भने पनि यो घटना ‘हनुमानलाई शक्ति’ बोध गराउने अवसर हो हाम्रा लागि ।
नियोजित वा मोदी आकस्मिकता जेसुकै होस्, नेपाललाई आफ्नो हैसियत चिन्न र तदनुकूलको काम गर्न यस घटनाले बौराएको छ । दाहाल आफैँले इतिहासकै सबैभन्दा कठिन जिम्मेवारीमा गएको भनेर प्रधानमन्त्री हुनेबित्तिकै भनेकै हुन् । हुन पनि यसपटक उनले हारे उनीसँग नेपाली राजनीतिमा धेरै कुरा नरहन सक्छ । उनी र उनको पार्टी घरको न घाटको हुने अवस्थामा नेपाली राजनीतिमा अडिएको छ । यस्तो समयमा उनी एक्लैले यसरी समयले पुनः उद्घाटित गरिदिएको सत्यलाई धान्न सक्दैनन् । तर, देशका लागि यो साह्रै नै ठूलो झकझकाहट हो । आप्mनै जिउबाट आइरहेको बास्नालाई नचिन्ने कस्तुरीझैं आफैंभित्र हराइरहेका हामीलाई हाम्रो तागतको यसले सम्झना गराइरहेको छ ।
राजनीतिक समीकरण जसरी चलोस्, सबै राजनीतिक दलहरूले यसलाई मुलुकको सर्वोत्तम हितमा उपयोग गर्नुपर्छ र आप्mनो महत्ता कायम गर्नुपर्छ । यस्ता अवसर सधैं यसरी नै बिरलै आँउछन् ।
आफूले अध्यक्षता गरिरहेको समयमा सार्क बैठक नहुनेजस्तो परिस्थिति निर्माण भएको, चीनका राष्ट्रपतिबाट हुने भनिएको बहुचर्चित भ्रमण हुने नहुने अन्योल भइरहँदा यस्तो सुखद् संयोगले नेपाली गरिमा र औचित्य आफैंलाई परख गर्ने र तदनुकूल व्यवहार गर्ने उत्तम अवसर हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३ १४:२७
प्रतिक्रिया दिनुहोस्