विचार
हामी साधारणतया दम भन्नाले सास फेर्न हुने कठिनाइलाई बुझ्छौं । यसका विभिन्न कारण हुन्छन् । यसको प्रमुख कारणमा श्वास फेर्ने नली, फोक्सो, मुटु, मिर्गौला, रगतको समस्या आदि पर्ने भए पनि दम भन्ने शब्दले श्वास नलीको समस्याका कारण उत्पन्न हुने श्वास प्रश्वासको कठिनाइलाई जनाउँछ । सीओपीडी (COPD) र याज्मा (Asthma) दमका प्रमुख कारण हुन् ।
सीओपीडीः धुमपान गर्ने, धेरै धुँवा भएको ठाँउमा बस्ने मानिसमा सीओपीडीको समस्या बढी देखिन्छ । प्रायः ४० वर्ष नाघिसकेका मानिसमा यो रोग देखिन्छ र श्वासप्रश्वासको समस्या क्रमशः बढ्दै जान्छ । रोग लागेको थाहा पाएपछि पनि धुमपान गर्ने एवं धेरै धुँवा भएको स्थानमा बस्नेहरुमा यो समस्या छिटै बढेर जान्छ र श्वासप्रश्वासको संक्रमणले यसलाई थप जटिल अवस्थामा पुर्याउँछ ।
याज्माः यस लेखमा विशेष जानकारी दिन खोजिएको विषय भने याज्मा हो । याज्मा प्रायः कम उमेरका मानिसमा देखिन्छ र साना उमेरका नानीहरुमा पनि यो रोग देखिन सक्छ । विश्वमा सातदेखि दस प्रतिशत मानिस याज्माबाट प्रभावित भएको अनुमान छ । यसको अर्थ हरेक एकसय जनामा सातदेखि दस जना यस समस्याबाट प्रभावित छन् ।
याज्माको कारणः यसको वास्तविक कारण थाहा नभए पनि वंशाणुगत र वातावरणले पार्ने प्रभावलाई प्रमुख कारक मानिएको छ । याज्मा भएका मानिसमा सामान्य मानिसमा भन्दा श्वासको नली धुँवा, धुलो, परागकण, गन्धलगायतका इरिट्यान्ट्सप्रति अत्यन्त संवेदनशील हुन्छ जसले गर्दा श्वासनली सुन्निएर साँगुरो हुन्छ र श्वास प्रश्वास सम्बन्धी समस्या उत्पन्न हुन्छ ।
याज्माका लक्षणहरुः श्वास प्रश्वासमा कठिनाइ, छातीबाट सिठ्ठीको जस्तो आवाज निस्कनु, खोकी लाग्नु र छाती भारी हुनु यसका प्रमुख लक्षण हुन् । साथमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाछिउँ आइरहने, जीउमा डाबर देखिने आदि समस्या पनि देखिन सक्छ । यी लक्षण सबै एकसाथ देखा नपर्न पनि सक्छन् । हरेक दिन वा यामअनुसार समस्यामा उतार चढाव आउन सक्छ ।
याज्माका प्रकारहरुः
• एलर्जिक याज्माः याज्माको सबैभन्दा प्रमुख कारण एलर्जी हो । वातावरणमा भएका विभिन्न तत्त्वप्रति श्वास नली अत्यधिक संवेदनशील हुन्छ । प्रायः वातावरणमा त्यस्ता एलर्जिन बढी हुने समय वा मौसममा याज्माको समस्या बढ्छ । परागकण,जनाबरको चाँया, घरको धुलो आदिसआग बढी एलर्जी हुन्छ ।
• अकुपेसनल याज्माः यो काम गर्ने ठाँउमा हुने एलर्जिन / इरिट्यान्ट्सले गर्दा हुने श्वास प्रश्वासको समस्या हो । काम गर्ने ठाँउमा मात्र श्वासप्रश्वासमा कठिनाइ हुन्छ र छुट्टीको दिन वा काममा नगएको दिनमा प्रायः श्वासको समस्यामा स्वतः सुधार आँउछ । किसान, पेन्टर, प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने मानिसमा यो समस्या बढी देखिन्छ । काम गर्दा मास्क प्रयोग गर्ने इरिट्यान्टसँग सम्पर्क कम गर्ने, औषधिको नियमित सेवन गर्ने गर्नाले श्वासको समस्या सहज हुन्छ । सुधार नभएमा पेसा परिवर्तन गर्नुपर्ने समेत हुनसक्छ ।
• एक्सरसाइज इन्ड्यसुड याज्माः यसले व्यायाम वा शारीरिक परिश्रमको दौरान वा त्यसपछि हुने श्वास प्रश्वासको असामान्य अवस्थालाई जनाउँछ। यो व्यायाम सुरु गरेको पाँचदेखि दस मिनेटमा वा व्यायामपश्चात पनि आउन सक्छ तर अरु बेलामा त्यति समस्या हुँदैन ।
बिस्तारै व्यायाम सुरु गर्ने (warm up) र बिस्तारै व्यायाम अन्त्य गर्ने (cool down) गर्ने गरेमा श्वासमा समस्या कम देखिन्छ । रुघाखोकी लागेको बेलामा, चिसो वातावरणमा, प्रदूषण भएको बेलामा व्यायाम नगरेको राम्रो । अथवा, त्यस्तो बेलामा मास्क लगाएर हल्का व्यायाम गर्नुपर्छ ।
व्यायामको १० देखि १५ मिनेट पहिला नै औषधि लिएर व्यायाम गरे श्वासमा समस्या आउँदैन ।
कफ भेरियन्ट याज्माः यसमा खोकीमात्र एक प्रमुख लक्षण हुन्छ । प्रायः रातको समयमा र दिनमा पनि खोकी लाग्न सक्छ । चिसो, एलर्जिन/इरिट्यान्ट आदिले खोकीलाई बढाउँछ ।
एस्पिरिन इन्ड्युस्ड याज्माः यसमा नाक बन्द हुने, एस्पिरिन वा दुखाइको औषधि – एनएसएआईडीको प्रयोगले पनि एलर्जी र श्वास प्रश्वासको समस्या हुन्छ । यो समस्या प्रायः ३० देखि ४० वर्षको उमेरमा हुन्छ । यसको प्रमुख उपचार भनेको माथि उल्लेख गरिएका औषधिहरु सेवन नगर्नु नै हो ।
नियन्त्रणका उपायहरुः
• मुख्यतया वातावरणमा पाइने इलर्जिन वा इरिट्यान्टले याज्माको समस्यालाई बढाउने हुनाले आफूलाई कुन कुराले गाह्रो बनाउँछ त्यसवाट जोगिनुपर्छ ।
• धुमपानले श्वासप्रश्वासको समस्या निम्त्याउन मद्दत गर्छ र त्यसलाई बढाउँछ पनि । दम भएका वा नभएका मानिसहरुलेपनि चुरोट पिउनु हुँदैन र अरुले पिएर फालेको धुँवाबाट पनि जोगिनुपर्छ ।
• घरको वातावरण सफा र धुलोरहित राख्नुपर्छ । गलैंचाहरु भ्याकुम क्लिनर लगाएर सफा गर्नु उपयुक्त हुन्छ । सकेसम्म एलर्जी भएका मानिसले कोठा आफैँले सफा नगर्ने र गर्नैपर्ने भएमा राम्रो गुणस्तरको मास्क लगाएरमात्र सफा गर्ने । त्यसैगरी घरमा कुकुर बिरालो सुँगा परेवाजस्ता जनावर र पन्छी नपाल्ने । पाल्नै पर्ने भएमा घरबाहिर राख्ने गरी पाल्ने।
• घरमा साङ्ला छन् भने तिनलाई पूर्णरुपमा नियन्त्रण गर्ने ।
• रुघाले दमको समस्यालाई बढाउँछ । त्यसैले रुघा लागेका मानिसबाट टाढा रहने । घर बाहिर निस्कँदा मास्क प्रयोग गर्ने । समय समयमा साबुन पानीले हात धोइरहने ।
• मोटो मानिसमा सामान्य तौल भएका मानिसहरुभन्दा याज्माको समस्या हुने संभावना बढी हुन्छ । याज्मा भएको मोटो मानिसमा यसलाई नियन्त्रणमा राख्न पनि कठिन हुन्छ । त्यसैले तौल नियन्त्रणमा राख्नुपर्छ ।
• याज्मा भएका मानिसहरुमा अम्लपित्त (ग्याष्ट्रिक) को समस्या तीन गुणा बढी हुन्छ । त्यसैले चिकित्सकको सुझावअनुसार त्यसको उपचार गर्नुपर्छ ।
उपचारः
• याज्मा नियन्त्रणका लागि मुख्यतः खाने र तान्ने दुई प्रकारका औषधि प्रयोग गरिन्छ । तान्ने औषधि पनि ग्यासजस्तो र क्याप्सुलभित्र पाउडरको रुपमा पाइन्छ । यी औषधिहरुको मुख्य काम याज्मालाई नियन्त्रणमा राख्ने र कहिले काँही श्वास प्रश्वासमा धेरै कठिनाइ भएमा त्यसलाई सजिलो बनाउने हुन्छ । औषधि तान्न वा खान नसक्ने अवस्थामा नशाबाट र बाफको रुपमा (नेबुलाइजर प्रयोग गरी) औषधि दिन सकिन्छ ।
• याज्मा भएका मानिसहरुले निमोनिया र फ्लुविरुद्धको खोप लगाउनु पर्छ।
याज्माका बारेमा व्याप्त गलत धारणाः
• तान्ने औषधि एकपटक लिन थालेपछि लत लाग्छ वा बन्द गर्न सकिँदैन! जसरी मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गरेर नियन्त्रणमा राखिन्छ त्यसैगरी याज्माको औषधि पनि नियमित लिनुपर्छ र अवस्थाअनुसार त्यसलाई कम वा बढी गर्न सकिन्छ ।
• सजिलो भएपछि औषधि आफैं बन्द गरे हुन्छ !
चिकित्सकको सुझावबिना आफैँ औषधि बन्द गर्नु हुँदैन । याज्मालाई नियन्त्रणमा राखिएन भने वा नियमित उचित औषधि सेवन नगरिएको अवस्थामा यसले भयावह रुप लिन सक्छ । अस्पताल भर्ना गर्नुपर्ने, श्वास प्रश्वासको कृत्रिम उपकरण (भेन्टिलेटरमा राख्नुपर्ने) र समयमा उपचार नपाएमा ज्यानैसमेत जानसक्ने खतरा रहन्छ ।
पल्मोनोलोजिस्ट (फोक्सोरोग विशेषज्ञ), ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौं ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७३ १०:२३
प्रतिक्रिया दिनुहोस्